शिक्षकलाई तलब खुवाउन नसकेपछि रेसुंगा बहुमुखी क्याम्पसमा आर्थिक संकटकाल घोषणा

गुल्मी समाचारदाता। गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले अचम्मको निर्णय गरेको छ । मन्त्रीदेखि सांसद र ठूला नेताहरू भएको जिल्लाको सबैभन्दा पुरानो रेसुंगा बहुमुखी क्याम्पसले आर्थिक संकटकाल घोषणा गरेको छ । विसं २०३९ सालमा स्थापना भएको रेसुंगा क्याम्पस सबैभन्दा पुरानो शैक्षिक धरोहर हो । जसले व्यवस्थापनमा आर्थिक समस्या देखाएर आर्थिक संकटकाल घोषणा गरेको छ ।

सोमबार बसेको रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकले आर्थिक अभावको कारण क्याम्पस सञ्चालन गर्न समस्या भएपछि आर्थिक संकटकाल घोषणा गरेको हो । क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूको आठ महिनाको पारिश्रमिक उपलब्ध गराउन नसकेपछि आर्थिक संकटकाल घोषणा गरिएको रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

सञ्चालक समितिको बैठकले आठ महिनाको पारिश्रमिक क्याम्पसले दिन नसक्ने भएकाले सहयोग गर्न प्रध्यापक तथा कर्मचारीलाई आग्रह गर्ने, विभाग र संकाय प्रमुखहरूको अतिरिक्त सुविधा स्थगित गर्ने र उपदान तथा उपचार खर्च संकटकाल अवधिभर स्थगित गर्ने निर्णय गरेको अध्यक्ष भलामीले जानकारी दिए ।संचित विदा बस्न नपाउने, बिदा बसे पनि सुविधा नपाउने, त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सञ्चालन हुने परीक्षाको सुविधा सहयोग माग्ने निर्णय बैठकले गरेको छ ।

प्रमुखलाई प्रशासनिक काम उपप्रमुखहरूलाई राजीनामा दिन आग्रह

रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समिति बैठकले क्याम्पसको सबै प्रशासनिक काम क्याम्पस प्रमुखले गर्ने र सहायक क्याम्पस प्रमुखहरूलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ। सेवाको उमेरहद परिमार्जन गर्ने र अध्ययनमा बेतलबी बस्नेहरूको उमेरहद घटाउने निर्णय पनि सञ्चालक समितिले गरेको छ । आर्थिक संकटकालपछि सुविधा कटौती र सहयोग माग्ने विषयमा गरिएका निर्णयहरू कार्यान्यवन गर्न क्याम्पस एवं कर्मचारीहरूसँग समन्वय गर्न सञ्चालक समिति उपाध्यक्ष धर्म विश्वकर्माको संयोजकत्वमा तीनसदस्यीय समितिसमेत गठन गरिएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 835

Leave a Reply

Your email address will not be published. Required fields are marked *