माधव ज्ञवाली, गुल्मी । नेवाः देय् दबू गुल्मीले गाउँपालिका स्तरमा भेला सुरु गरेको छ। नेवार समुदायको संस्कृतिलाई जगेर्ना गर्दै थप उचाइमा पुर्याउन नेवाः देय् दबू गुल्मीले पालिका स्तरमा भेला सुरु गरेको हो, जसअन्तर्गत शनिबार रुरुक्षेत्र गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न भएको छ।
भेलाले खगेन्द्र श्रेष्ठ अध्यक्ष रहने गरि वरिष्ठ उपाध्यक्षमा जीवन कसजु, उपाध्यक्षमा मुक्ति श्रेष्ठ र अमृता श्रेष्ठ, सचिबमा कृष्ण प्रसाद श्रेष्ठ र सुमन श्रेष्ठ र कोषाध्यक्षमा भीम प्रसाद श्रेष्ठलाई मनोनीत गरेको छ, अन्य सदस्य सहित १५ सदस्यीय रुरुक्षेत्र गाउँपालिका स्तरीय कमिटी गठन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले नेपालमा नेवार जातिको मल्लकाल देखि नै गौरवशाली इतिहास रहेकोले देशलाई नेवार समुदायले धेरै कुरा दिएको उल्लेख गरेका छन् ।
पछिल्लो समय औपचारिक कार्यक्रममा मात्र नेवारी भेषभुषाले स्थान पाउने गरेको बताउँदै उनले रुरुक्षेत्रमा कतिपय जात्राहरु लोप भएका र कतिपय लोपोन्मुख हुँदै गएकोले नंया पुस्ताले ती परम्पराको पुनर्स्थापनमा ध्यान दिनुपर्ने र पुरामा पुस्तालाई प्रशिक्षण दिनुपर्ने बताएका छन् ।
कार्यक्रमका विशेष अतिथि एवं रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले नेवार समुदायले मनाउँदै आइरहेको गाइजात्रा, घोडेजात्रा, लाखेनाच लगायतका संस्कृति केवल नेवार समुदायको मात्र नसोची सानैदेखि ती परम्परा प्रति आफ्नो छुट्टै माया र लगाव रहेको बताए।
आफू निर्वाचित हुनुपुर्व पनि नेवार समुदाय सङ्ग संबंधित संस्कृतिको जगेर्ना गर्न सक्दो सहयोग गरिरहेको र अब निर्वाचित भइसकेपछि पनि गाउँपालिकाको तर्फबाट नेवारी संस्कृतिलाई प्रवर्द्धन र संरक्षण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेवाः देय् दबू लुम्बिनी प्रदेश सदस्य हरिकुमार श्रेष्ठले नेवार समुदायमा आफू आफू बिच नै समस्या रहेको उल्लेख गरेका छन् । पछिल्लो समय नेवारी संस्कृतिको संरक्षणमा भन्दा ब्यक्तिगत स्वार्थमा अल्झिँदा नेवारी समुदाय पछि पर्दै गइरहेकोले आगामी दिनमा यसप्रति सबैको ध्यान दिनुपर्ने उनले बताएका छन् ।
नेवाः देय् दबू पुर्व केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला सल्लाहकार सुवर्ण कक्षपतिले नयाँ पुस्तामा नेवारी संस्कृत प्रति झुकाव नदेखिनु दुःखद् रहेको बताउँदै नेवारी भाषा लगायत नेवारी संस्कृतिको बारे उनिहरुलाई प्रशिक्षण दिएर अघि सार्नुपर्ने बताए।
कार्यक्रमका सभाध्यक्ष एवं नेवाः देय् दबू गुल्मी जिल्ला अध्यक्ष तिर्थलाल श्रेष्ठले अब गाउंपालिका स्तरमा गठित कमिटिले नेवार जातिको हकहित एवं संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्न खटेर काम गर्नुपर्ने बताउंदै छिटोभन्दा छिटो जिल्लाभर नै भेला सम्पन्न गर्नेगरी अघि बढिएको बताए।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समय देशमै सबैभन्दा धेरै चाडपर्व र संस्कृति रहेको नेवार जाती पछि पर्दै गइरहेकोमा दुख पोखेका थिए । नयाँ पुस्तालाई नेवारी भाषाको बारेमा कुनै ज्ञान नै नरहेको र पुराना पुस्ताले पनि प्रयोगमा नल्याउँदा भुल्दै गइरहेको बताउँदै उनिहरुले आगामी दिनहरुमा नेवारी भाषालाई नयाँ पुस्तालाई पनि सिकाउनुपर्नेमा जोड दिएका छन् । धेरै लामो समयदेखि मनाउँदै आइरहेका विभिन्न जात्राहरुको जगेर्ना गर्दै लोप भएका र लोपोन्मुख जात्रा एवं विभिन्न संस्कृतिको पुनस्र्थापन गर्नुपर्ने उनिहरुको भनाइ छ। कार्यक्रमको सहजीकरण रामप्रसाद श्रेष्ठले गरेका थिए।