पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो । कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको धक्का भारतको राजधानी दिल्लीसम्म महसुस भएको भारतीय मिडियाले जनाएका छन् । अल इन्डिया रेडियोले राष्ट्रिय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै भारतको उत्तराखण्डको जोशीमठबाट २१२ किलोमिटर टाढा पृथ्वीको सतहबाट १० किलोमिटर भित्रबाट आएको भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस गरेको लेखेका छ ।
पश्चिम नेपालमा लामो समय ठूलो भूकम्प नगएका कारण भूकम्पको ठुलो जोखिम रहेको विज्ञहरुले बताउँदै आएका छन् । यसअघि गत २२ गते डोटी केन्द्रविन्दु भएर लगातार तीनवटा भूकम्प गएका थिए । त्यसमध्ये एक ६.६ म्याग्निच्युडको रहेको छ । भूकम्पमा मानवीय क्षति समेत भएको थियो ।