प्युठान।
माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले आफ्नो कार्यतालिका सार्वजनिक गर्नु भएको छ।तत्कालीन स्थानीय निर्वाचनका क्रममा जनतासामु बाँडेका सपना तथा दिईएका आस्वासनलाई पूरा गर्ने गरि आफुले कार्यतालिका सार्वजनिक गरेको उपाध्यक्ष कालाथोकीको भनाई छ।उहाँले फागुन १ गते देखि नै कार्यतालिका बमोजिम आफ्नो दैनिक गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता सहित आज आफ्नै सचिवालय मार्फत कार्यतालिका सार्वजनिक गर्नु भएको हो।
जस अनुसार उपाध्यक्ष कालाथोकीले प्रत्येक हप्ताको सोमबार र विहीबार योजनाहरुको अनुगमन गर्नु हुने भएको छ।गाउँपालिका द्वारा सञ्चालित विकास निर्माणमा उपभोक्ता मार्फत सञ्चालन भई सम्पन्न हुने विभिन्न योजनाहरुको नियमित अनुगमनका साथै जन श्रमदानमा समेत सहभागी हुने उपाध्यक्ष कालाथोकीको प्रतिवद्धता छ।यस्तै प्रत्येक शुक्रबार न्यायपालिकामा मुद्दाहरुबारे छलफल गर्ने,प्रत्येक वार्डको बैठकमा प्रत्येक महिनाको कम्तिमा एक पटक सहभागी हुने,प्रत्येक हप्ता एक दिन पैदल कार्यालय प्रस्थान गर्ने लगाएतका कार्यहरु उहाँले कार्यतालिकामा समावेश गर्नु भएको छ।साथै सार्वजनिक बिदाको दिन अथवा अन्य जुनसुकै समय आफ्नो निवासमा आउजाउ गर्न सरकारी गाडीको प्रयोग नगर्ने कुरा समेत कार्यतालिकामा परेको छ।साथै प्रत्येक महिनाको २५ गते गाउँपालिका अवस्थित बालवालिका,महिला,अपाङ्ग ,युवा,जेष्ठ नागरिक लगाएतका सरोकारवाला निकाय वा सम्वनधित व्यक्तिसँग आवश्यक छलफल गर्ने,हप्ताको दुई दिन गाउँपालिका स्थित विभिन्न सार्वजनिक संघ-संस्थाहरुको अनुगमन गर्ने,प्रत्येक महिना वजार अनुगमन गर्ने,तथा महिनाको अन्तिम दिन विभिन्न सञ्चार माध्यमहरुबाट मासिक कार्यप्रगति सार्वजनिक गर्ने उपाध्यक्ष कालाथोकी द्वारा जारी कार्यतालिकामा उल्लेख छ।यसै विच प्रत्येक तीन महिनामा स्थानीय राजनितीक दल,वुद्धिजीवि,उद्यमी/व्यवसायी लगाएतका विभिन्न सरोकारवालाहरुसँग छलफल गरी आवश्यक परामर्श लिई आफ्नो भुमिकालाई थप मजवुत बनाउने उपाध्यक्ष कालाथोको प्रतिवद्धता छ।