जेष्ठ १५ पालिकाबाट
चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा १६ औ गणतन्त्र दिवस २०८० को अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ। झण्डोत्वलन सहित सुरू भएको कार्यक्रममा साँस्कृतिक तथा परम्परागत बाजागाजा तथा गणतन्त्र दिवस झल्काउने प्लेकार्ड सहित जनप्रतिनिधि, विभिन्न राजनितिक दल, बैङ्क तथा वित्तिय संस्था, विद्यालय एवम् क्याम्पस, विद्यार्थीहरू, नागरिक समाज, संघ संस्था, आमा समूहहरू, यूवा क्लव लगायत समाहित हुँदै सचेतनामूलक प्रभातफेरी गरिएको थियो भने दोश्रो चरणमा विविध कार्यक्रम संचालन भएको थियो।
गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा संचालित कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीको प्रमुख आतित्थ्यता रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालको स्वागत मनतव्य सहित सुरू भएको उक्त कार्यक्रममा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला तथा आधारभूत तह स्तरीय निबन्ध लेखन प्रतियोगिता संचालन भएको थियो।
कार्यक्रममा वक्तृत्वकला तर्फ श्री ज्ञानोदय नमुना मावि तुराङ्गका समिक्षा सापकोटा प्रथम, श्री उदय मावि शान्तिपुरका प्रिस्मा गौतम द्वितीय तथा श्री शारदा मावि दिव्रुङ्ग सराङ्गका शान्ति गौतम तृतिय हुनुभएको थियो भने निबन्ध लेखन प्रतियोगितामा ज्ञानोदय नमुना मावि तुराङ्गका विशाल गौतम प्रथम, श्री ग्वाघा मावि ग्वाघाका रोशनी पुन द्वितीय तथा श्री उदय मावि शान्तिपुरका सुदिप खत्री तृतिय भएका थिए। दुवै प्रतियोगितामा विजेतालाई क्रमशः नगद रू १०,०००/-, ६,०००/- र ४,०००/- र प्रमाणपत्र प्रदान गरिएको थियो। यसैगरी गणतन्त्र दिवसकै अवसरमा कर्मचारी-शिक्षक- स्वास्थ्यकर्मी विचको मैत्रीपूर्ण भलिवल प्रतियोगिता संचालन भएकोमा शिक्षकको समूह विजेता बन्न सफल भएकोमा विजयी समूहलाई शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि द्रोण बहादुर खत्रीले स्थानीय सरकारको अपेक्षित भुमिका र सेवा प्रवाहलाई चुस्त बनाउदै लैजाने कुरामा जोड दिनु भएको थियो भने कार्यक्रमका अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले गणतन्त्रको सुदृढीकरण गर्दै जराधार सम्म यसका प्रतिफलहरूको अनुभूति दिलाउन विकास निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउदै जन जिविकालाई अझ सहज बनाउदै लगिने र यसका लागि गाउँपालिका सदैव तत्पर रहेको बताउनुभयो।