आज निर्जला एकादशी यस्को महत्व के छ किन गर्ने वर्त

२०८०/०२/१७ वुधबार निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन)
एकादश्यां विशेषेण कर्तव्यं कार्यमद्वयम् ।
रात्रौ जागरणं कार्यं दिवा हरिकीर्तनम् ।।
#गीतासार…
गीतामा भगवान् श्री कृष्ण स्वयम भन्नुहुन्छ कि ….
पत्रं पुष्पं फलं तोयं यो में भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपह्रतमश्रामि प्रयतात्मनस्।। अर्थात्:– निस्वार्थ भावनाले भक्तिपूर्वक अर्पण गरिएको फल, पुष्प, जल आदिको म केही नसोची सहजै स्वीकार गर्दछु । यिनै भगवान् श्री कृष्णको नाम लिएर यस वर्षको निर्जला एकादशीको महिमा गान अघि बढाउन चाहे, जयश्रीकृष्ण
#निर्जला_एकादशीको_महत्त्व
यस एकादशी महत्त्वपूर्ण आयामहरू बोकेर आएको छ, यस दिनमा तुलसीका दानाहरूलाई जमिनमा छर्ने चलन हुन्छ, कतिले तुलसीको मोठको माटोमा नै तुलसीका दानाहरू अर्थात् मञ्जरीहरू छर्दछन् भनेँ कतिले चाहिँ जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्दछन् । यस दिन छरिएका तुलसीहरूको अङ्कुरण भएपछि ती बिरुवाहरूलाई पछि ठुली एकादशीमा रोप्ने गरिन्छ । हरिको जयजयकार मनाउँदै आज यस एकादशीको भव्य स्मरण गरिन्छ । वर्षभरिका एकादशीहरूमा आफ्नै प्रकारको विशेषता भएको निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात् जल बिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ । जल नै नलिने भएपछि खाना या फलाहारको त कुरै भएन, नितान्त रूपमा भोकै अनि पवित्र मनले यस एकादशीमा चित्त अनि शरीरका हरेक अवयवहरूमा सकारात्मक ऊर्जा र शक्ति सञ्चार गर्ने चलन रहन्छ । यस एकादशीलाई पाण्डव एकादशी अनि भीम एकादशी पनि भनिएको पाइन्छ, आउनुहोस् यस एकादशीको महाभारत र पाण्डवसँग जोडिएको एउटा किस्सा सविस्तार सुनौँ ।

#निर्जला_एकादशी_व्रत_कथा…

५ पाण्डव अनि द्रोपति गरि ६ जना नै हरेक एकादशीको व्रत बस्ने चलन थियो तर खानाका अत्यन्त सौखिन र खाने कुरामा सम्झौता गर्न नसक्ने भीमले भने व्रतका क्रममा कहिल्यै आफ्नो खानाप्रतिको आशक्ति तोड्न सकेनन् । भीम यस कुराले चिन्तित थिए र गएर गुरु व्याससङ यस समस्या सुनाए । अनि गुरु व्यासले भीमको कुरा सुनेपछि वर्षभरिका सम्पूर्ण एकादशीको फल एकैपटक पाउन निर्जला एकादशीको व्रत बस्न भीमलाई बताउनुहुन्छ । यसरी यस एकादशी भीमले रितपूर्वक पालन गर्दछन्, यसपछि यस एकादशीलाई भीम एकादशी अनि पाण्डव एकादशी पनि भनिन्छ ।

यस एकादशीमा के के गरिन्छ ? ज्येष्ठ शुक्ल एकादशीका रूपमा यस निर्जला एकादशीको व्रत पश्चात् द्वादशीका दिनमा बिहान उठेर चोखो भएर अनि दान पुण्य गरेर मात्र भोजन लिने चलन छ । भगवान् विष्णुको कीर्तन अनि भजनको यस एकादशीमा विशेष महत्त्व रहन्छ, एकादशी महत्मय, बिष्णुसहस्त्रानाम लगायतका ग्रन्थहरूको अध्ययन अनि व्याख्याको विशेष महत्त्व राख्ने यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पङ्खा लगायतका कुरा दान गर्ने चलन छ । निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दना गर्ने चलन रहन्छ, यसो गर्दा अचामनीवाट पवित्र पानी लिएर हत्केलामा राखी पवित्रताका साथ आरती र वन्दना गरिन्छ । एकादशीकै दिनमा आफ्ना बिचार र सोचमा विष्णुलाई राख्न सुझाव दिइन्छ, विष्णुको शालिग्राम स्वरूपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ ।एकादशीको रातमा जाग्राम बस्ने चलन पनि पाइन्छ । मार्कण्डेय पुराण अनि विष्णु पुराणमा भने यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पाप मोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने लेखिएको छ । जाँदाजाँदै महाभारतको प्रसङ्ग छाडेर जान्छौं, भिमले आफ्नो सम्पूर्ण भोजनका आशक्तिलाई काबुमा राखेर यस एकादशी व्रत लिन्छन् तर भोलिपल्ट बिहान भीम भोक र प्यासका कारण अर्धचेतनमा पाइन्छन् । त्यसपछि भीमलाई गङ्गाको पवित्र पानी र तुलसी पात दिएर उठाइन्छ । यस एकादशी आशक्ति अनि चाहना माथिको विजय प्राप्त गर्ने एकादशी पनि हो, यस वर्षको निर्जला एकादशीमा सबको कल्याण होस् । @सुयोग ढकाल ।
……………………सबै एकादशीको फल पाइने निर्जला एकादशी

एक बर्षमा हुने २४ वटा एकादशी मध्ये यस एकादशीको विशेष महत्व रहने गरेको छ । हुनत हिन्दू धर्ममा सबै एकादशीको व्रतले महत्वपूर्ण स्थान राख्दछ । तर निर्जला एकादशीको व्रतले विशेष महत्व राख्ने गर्दछ ।

हुनत, अधिकमास अथवा मलमास परेको वर्ष यो एकादशीको संख्या बढेर २६ हुन जान्छ । ति एकादशीलाई पद्मिनि विशुद्ध एकादशी र परमाशुद्ध एकादशी पनि भनिन्छ । तर ज्येष्ठ महिनाको शुक्ल पक्ष तिथीको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिन हिन्दू धर्मावलम्बीहरूले व्रत राखेर यसलाई मनाउने गर्दछन् । यस व्रतमा पानी समेत पिउँनु वर्जित छ । त्यसैले यसलाई निर्जला एकादशी भनिन्छ ।

यस्तो निर्जला एकादशीको कथा
एक पटक महर्षि व्यास पाण्डवहरूकोमा आए । त्यहा सर्वज्ञ वेदव्यासले पाण्डवहरूलाई चारै पुरुषार्थ – धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराए । त्यस क्रममा महाबली भीमले महर्षि व्यासलाई निवेदन गरे – हे पितामह ! तपाईँले त, प्रति पक्ष एक दिनको उपवासको कुरा भन्नुभयो । युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, माता कुन्ती र द्रौपदी सबै एकादशीको व्रत गर्दछन् र मलाई पनि व्रत राख्न भन्दछन् । परन्तु म नखाई रहन सक्दिन । म त एक दिन त के एक समय पनि भोजन विना रहन सक्दैन – मेरो पेटमा वृक नामक अग्नि छ, त्यसलाई शान्त राख्न मैले कैयौं मान्छेको बराबर अथवा कैयौं पटक भोजन गर्नु पर्दछ । यस्तोमा के म आफ्नो यस भोकका कारण म एकादशी जस्तो पुण्य व्रतबाट बाँच्न सकुँला ?

महाबली भीमको कुरा सुन्दै पितामहले समस्याको समाधान स्वरुप उनको मनोबल बढाउँदै भने –हे कुन्तीनन्दन, धर्मको यही त विशेषता छ कि यो सबैलाई धारण नै गर्दैन, सबैलाई योग्य साधन व्रत–नियमहरूको निकै सहज र लचिलो व्यवस्था पनि उपलब्ध गराउँछ । अतः तिमी ज्येष्ठ मासको शुक्ल पक्षको निर्जला नामको एक मात्र एकादशीको व्रत गर र तिमीलाई वर्षका समस्त एकादशिहरूको फल प्राप्त हुनेछ । निःसंदेह तिमी यस लोकमा सुख, यश र प्राप्तव्य प्राप्त गरी मोक्ष लाभ प्राप्त गर्नेछौ ।

महर्षिले भीमलाई भने ज्येष्ठ शुक्ल एकादशीको व्रतमा स्नान आचमनमा पानी पिउँनुमा दोष हुँदैन, यस व्रतबाट अन्य तेइस एकादशीहरूको पुण्यको लाभ पनि मिल्नेछ । तिमी जीवन पर्यन्त यस व्रतको पालन गर ।

यती आश्वासनमा त वृकोदर भीमसेन पनि यस एकादशीको विधिवत व्रत गर्नलाई सहमत भए । भीमले ठुलो साहसका साथ निर्जला एकादशी व्रत गरे, जसको परिणाम स्वरूप प्रातः हुँदै उनी सज्ञाहीन भए तब पाण्डवहरूले गङ्गाजल, तुलसी, चरणामृत प्रसाद, दिएर उनको मुर्छा दुर गरे ।

यस एकादशीले वर्षभरीका एकादशिहरूको पुण्य लाभ दिने गर्दछ । यस श्रेष्ठ निर्जला एकादशीलाई पाण्डव एकादशी या भीमसेनी एकादशी पनि भनिन्छ । यस दिन जो स्वयम् निर्जल रहेर ब्राह्मण वा आवश्यकता भएकाहरुलाई शुद्ध पानीले भरेको घडा साथ दान गर्दछ त्यसले यस लोकमा सम्पूर्ण सुख प्राप्त गरेर परलोकमा स्वर्गको आनन्द भोग्दछ ।

व्रतको विधान
यो व्रतलाई नर नारी दुबैले गर्नु पर्दछ । जलपानको निषेध भए पनि फलहारको साथमा दूध लिन सकिन्छ । यस दिन निर्जल व्रत गर्दै शेषशायी रूपमा भगवान विष्णुको अराधनाको विशेष महत्व छ । यस दिन ॐ नमो भगवते वासुदेवायः मन्त्रको जप गरेर गोदान, वस्त्र दान, छत्र, फल आदिको दान गर्नुपर्छ ।

एकादशीको रातमा जाग्राम बस्ने चलन छ । मार्कण्डेय पुराण र बिष्णु पुराणमा यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पापमोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने लेखिएको छ । साथै निर्जला एकादशीको व्रत पश्चात द्धादशीका दिनमा बिहान उठेर, चोखो भएर दानपुण्य गरेर मात्र भोजन लिने चलन छ ।

यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पंखा लगायतका कुरा दान गर्ने चलन छ । निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दनम गर्ने चलन रहन्छ, यसो गर्दा अचामनीवाट पवित्र पानी लिएर हत्केलामा राखि पवित्रताका साथ आरती र वन्दना गरिन्छ । एकदशीकै दिनमा आफ्ना बिचार र सोचमा बिष्णुलाई राख्न सुझाव दिइन्छ, बिष्णुको शालिग्राम स्वरुपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्नु पर्दछ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *