किन मनाइन्छ गुरुपुर्णिमा?

श्रीराम गौतम
असार १८
आज वि.सं. २०८० असार १८ गते सोमबार हरेक बर्ष असार शुक्ल पुर्णिमाको दिन मनाइने गुरुपुर्णिमा यस बर्ष आजको दिनमा रहेको छ । आजको यो पवित्र दिनमा रहेर सदिऔं देखि नै आफ्नो जिवनमा भएका ज्ञात अज्ञात गुरुहरुको स्मरण तथा आशिर्वाद ग्रहण गरि गुरुपुर्णिमा मनाउने चलन चलिरहेको छ । गुरु शब्दको अर्थ, महत्त्व र यसले बोक्ने मान्यता सामान्य शब्दमा बर्णन गर्न त्यति सहज छैन । गुरु शब्दको शाब्दिक अर्थ केलाउदा गु भनेको अन्धकार र रु भनेको उज्यालो प्रकाश भन्ने हुन्छ अर्थात जिवनको अन्धकार रुपि चेतनालाइ ज्ञान, स्वधर्म र संस्कार द्वारा प्रकाशमय पार्ने ब्याक्ती नै गुरु हो । आजभोली खेलकुद, सङ्गीत, चित्रकला, कलालगायत अन्य व्यावसायिक क्षेत्रमा पनि मार्गदर्शकलाई गुरु सम्झेर सम्मान गरिन्छ । ‘गुरु व्रह्मा, गुरु विष्णु, गुरु देव महेश्वर गुरु साक्षात् परम्व्रह्मा तस्मै श्री गुरु वे नमः’ भनेर शास्त्रमा गुरुको महिमा वर्णन गरिएको छ । सन्ध्या आरतीको मन्त्र दान गर्ने गुरुआमा र चूडाकर्ममा गायत्री मन्त्र दान गर्ने गुरुलाई तागाधारीहरूले महत्वका साथ यो दिन गुरु पूजन वा गुरु स्मृति गर्छन ।

गुरुकुल परम्पराका आश्रम वा विद्याश्रममा यो दिन धार्मिक उत्सव हुने गरेको छ । वेदका प्रणेता व्यासको जन्म यसै दिन भएकाले व्यास जयन्तीका रूपमा पनि यो दिन मनाइन्छ । पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षमा एकपटक यसै दिन सर्वसाधारणका लागि खुला हुन्छ ।
बिशेष गरि आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ ।
गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन् । उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ ।
द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । त्यसैले पनि आजको  दिनलाई गुरु व्यास पूजाको रुपमा पनि मनाउने चलन छ । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ ।
आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ । हिन्दू मान्यताअनुसार संगीतलगायत ६४ कला सिकाउने, गायत्री-दीक्षामन्त्र-वेदमन्त्र दिने आचार्य, उमेर-बुद्धि-बल-अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन् । विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो । त्रेता युगमा मर्यादापुरूषोत्तम रामसहित उनका भाइ र द्वापरमा भगवान् श्री कृष्णले पनि गुरुकुलमै अध्ययन गरेका शास्त्रमा उल्लेख छ ।
पहिले गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए । गुरुको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन रहि आएको छ । गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले त्यसै दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरिआएका छन् ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 836

Leave a Reply

Your email address will not be published. Required fields are marked *