आज भानु जयन्ती, भानुभक्त बारे संक्षिप्त जनकारी ।
मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् । त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्मकुण्डलीसहित त्यही प्रमाण प्रमाणित गरिदिए । बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर गरे । साथै भानुभक्तबारे अनुसन्धान धेरैले गरेका छन।
भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए ।
भानुलाई चिनाउदा मोतीराम पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न धेरै संघर्ष गरे । कतिसम्म भने भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने कला झिके।
नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो। चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे ।
भानुभक्तले ३७ वर्षो उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके ।
नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।
भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् । त्यस दिन नर्सिङ्गा, टयाम्को र दमाहाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपालीगोरखालीका लागि भानुजयन्ती दसैभन्दा ठूलो चाड मानिन्छ ।
भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज,सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।
भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ ।
भानुभक्तले रामायणका बालकाण्ड र अरू काण्ड, प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षानामक कृतिहरू नेपाली भाषासाहित्यको मन्दिरमा चढाए । साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर बनायो, अनि त्यही रामायणले नेपाली भाषालाई नै लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।
भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको ‘रामगीता’को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई ‘रामगीता’ टिपाए । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ सालमा भानुभक्तको स्वर्गारोहण भयो।