पिपलधारामा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो
रमेश पन्थी गुल्मी,
पिपलधारामा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा सहित शुक्रबार राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइएको हो । श्री पिपलधारा नमुना कृषि तथा पशु विकास महिला सहकारी संस्था ली.धुर्कोट २पिपलधारा गुल्मीको आयोजना , सामाजिक जागरण तथा विकास अभियान (साडेक नेपाल,गुल्मीको साझेदारीतथा कारितास,नेपालको आर्थिक सहयोगमा शुक्रबार धान रोपाइ गरिएको छ । ।
परम्परागत ढङ्गबाट कृषि कार्य हुँदै आएकोमा पछिल्ला केही वर्षयता आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग, नयाँ प्रविधिबाट खेतीपाती गर्ने कार्य र कृषकहरूलाई उन्नत जातको विउविजनको व्यवस्थापनले कृषिजन्य उत्पादनमा वृद्धि भएको पाइन्छ । तर जलवायु परिवर्तनका कारण मनसुन भित्रिन ढिलाइ हुँदा धान रोप्ने बेला पर्याप्त पानी नपर्ने र उत्पादन भित्र्याउने समयमा बढी पानी पर्ने गरेका कारण किसानहरु वर्षेनी मर्कामा पर्ने गरेका छन् । अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सुख्खा जातको धानको विउ वितरण, रसायनिक मल कम गर्न भुईँघास तथा डालेघाँसको विउ वितरण गर्ने र युवापुस्तालाई कृषि पेसामा आकर्षित गर्ने लगायतका कार्य भइरहेको छ ।
कृषि पेसालाई व्यावसायिक पेसाका रूपमा अवलम्बन गर्ने कृषकहरूलाई संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको समन्वय र सहकार्यमा अनुदानमा कृषि यन्त्र उपकरण, विउविजन र तालिम प्रदान गर्ने गरिएको छ । तर उक्त अनुदान प्रायःजसो पहुँचवालाहरुले मात्रै पाउने गरेको स्वयं किसानहरु बताउँछन् । कृषकहरूको माग अनुसार राज्यका सरोकारवाला निकायले कृषि औजार, विउविजन, मलखाद तथा प्राविधिक सहयोग गर्न सकेमा उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
कृषि पेसामा युवाहरूलाई समेत आकर्षित गर्ने नीति सरकारले लिएको छ । यद्यपि अनुदानका लागि मात्रै कृषि पेसामा लाग्ने तर उपलब्धि हासिल गर्न नसक्ने व्यक्तिहरूलाई निरुत्साहन गर्नुपर्ने र व्यावसायिक कृषि पेसामा संलग्न परिश्रमी कृषकहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ । उत्पादनमा वृद्धि गर्न वास्तविक किसानहरूलाई प्रोत्साहित गर्न र उत्पादकत्वको बजारीकरणको जिम्मा राज्यले लिनुपर्ने अपरिहार्यता रहेको छ । राज्यका विभिन्न निकायले लागु गरेका योजनाहरूको सफल कार्यान्वयन गर्न नसक्दा कृषि क्षेत्र पनि पछाडि धकेलिएको छ । कृषि क्षेत्रमा आत्मनिर्भर भई समृद्धिको यात्रालाई अगाडि बढाउन सकेमा बेरोजगारी घट्ने सम्भावना रहेको छ