मेरो गाउँ भाग्गे दमाई नामक कविता कोर्दै छु दमाई शब्द ले केही प्रियजन प्रती नकारात्मक भाव पर्न सक्छ त्यसले हजुर सङ माफी पनि माग्दै कोर्ने प्रयास गरे 🙏🙏🙏🙏🙏🙏 कविता भाग्य ले ठगेको भाग्गे दमाई
ऊ जन्मिनु भन्दा पहिला नै
उसको भाग्य लेखिइसकेको थियो
ऊ जन्मेपछि
उसको नाम पनि लेखियो
भाग्यले ठगेको भाग्गे दमाई .
उसलाई
न आफ्नो नामको अर्थ थाह थियो
न आफ्नो कामको स्वार्थ थाह थियो
न कहिल्यै सोध्यो उसले भाग्यलाई
ऊ किन अछुत भयो ?
बरु ऊ आफ्नो कर्म गरिरह्यो
टालो र धागोसँग जीवन साटिरह्यो
मान्छेहरु भन्थे
भाग्यमा लेखिएको टर्दैन
भाग्गेले टार्ने कोसिस पनि गरेन
आफू पनि मान्छे हो भन्ने
पटक्कै ज्ञान पाएन
लुगा सिलाउदा सिलाउदै आमाले
बिष्टको मतानमा भाग्गेलाई जन्माएपछि
एउटा खेतालो थपियो भन्दै
खुसियाली छाएथ्यो गाउँमा
तर काहिल्यै छाएन खुसियाली
भाग्गेको दुखिया भाग्यमा
स्कुल गएन/जान पाएन
अक्षर चिनेन/चिन्न पाएन
राम्रो लगाएन/लगाउन पाएन
मीठो खाएन/खान पाएन
उसले धेरै कुरा पाएन
सबभन्दा ठूलो कुरा त
किन पाएन भन्ने कुरा उसले थाहै पाएन
वाल्यकाल यसरी नै बित्यो
जब भाग्गे जवान भयो
उसले देख्यो भाग्यवादको कुरुप अनुहार
बिभक्त बलेसी
बिटुलो बाटो
अध्याँरो पँधेरो
विषाक्त हावा
बिरानो समाज
अमानवीय मानव
ऊसँग आफ्नो भन्नु
आफू बाहेक कोहि नभएको पायो
ऊ आफैलाई बिरानो देखेर
पहिलोपल्ट बेस्सरी तर्सियो
भाग्गेले भाग्य खोज्ने एकल निर्णय गर्यो
र बन्दुक बोक्यो काँधमा
उसले ठान्यो
बन्दुकको नालबाट उसको भाग्य जन्मन्छ
बिद्रोहको बिगुल फुक्दै उसले
दरबार दाग्यो
दरबारिया ताक्यो
शासन लुट्यो
शासक कुट्यो
तर भाग्गेको भागमा
तिघ्रामा गाडिएको बमको छर्रा
देब्रे पातामा लागेको गोलीको दाग
र दुई वर्षे काल कोठरी कैद बाहेक
अरु केही परेन
अरुको भाग्यामा पद, प्रतिष्ठा र पैसा पारेर
आफ्नो चाहिँ भाग्यमा परेको
राहतको एक बोरा चामल पिठ्युँमा बोकेर
भाग्गे दमाई पुरानै झुप्रोमा आइपुग्यो
धेरैको भाग्य चम्काएको भाग्गे दमाई
आफ्नो भाग्य चम्काउन
देश छोड्ने अन्तिम निर्णय गर्यो
पाखो बारी र घरबारी
साहुलाई तमसुक गरिदिएर भाग्गे दमाई
ठूलो जहाज चढेर उड्यो
क्षितिज भन्दा धेरै टाढाका देशमा
जहाजमा उड्दा उड्दै उसले सपना देख्यो
चिटिक्कको घर, वरिपरि फूलबारी
एउटी सुशील गृहिणी, दुई सुन्दर सन्तान
गरिखानलाई दस पाथी बिउको दोयम खेत
एक हल गोरु र दूध दिने भैंसी
आज दस वर्ष भयो
भाग्गे दमाई क्षितिज पारि बेपत्ता भएको
भाग्य र सपना दुबै हराएर
भाग्गे पनि बिरानो देशमै हरायो ।।
रचना कविता
लेखक लालमणी कोईराला कारिकोट
हाल दोहा कतार