वृद्धाश्रम बनेको गाउँ मानविहिन नबनोस्, विश्वमानचित्रबाटै नओझेलियोस् देश

वृद्दाआश्रम बनेको गाउँ मानवविहिन नबनोस्, विश्व मानचित्रबाटै नओझेलियोस् देश

बहिनी उत्साहित छ, विदेश जाने भोक उसको बढ्दै गएको छ ।
म सानो प्रश्न गर्छु” नानी, तिमी पनि आफ्नो गन्तव्य विदेश नै रोज्यौ ? तिमी त पढाइमा अब्बल मान्छे, जति पनि रोजगारीका अवसर यही पाइएलान् नि होइन र?” मेरो प्रश्न सकिदा नसकिदै बहिनीको प्रतिउत्तर आइहाल्छ, ” दिदी कस्तो कुरा गर्नुहुन्छ तपाईं? के छ नेपालमा, जागिर पाउन कति मुस्किल,कति किताब कण्ठ गरेर लोकसेवा लड्यो अन्त्यमा त्यो तलब? न एउटा राम्रो फोन बोक्न पाउनु, न सुविधासम्पन्न आवास, न छोराछोरीलाई राम्रो शिक्षा दीक्षा नै दिन सक्नु ? तपाइँले जत्ती यो कुरा कसले बुझ्न सक्छ, मास्टर गरेर समय अनुसारका शैक्षिक प्रमाणपत्र थुपारेर के हात पार्नु भो? अनि व्यापार व्यवसाय गरौं भने यत्रो लगानी लागाएर पढियो, फेरि थप लगानी अनि यो मन्दी ? खोइ आजसम्मको कमाइले तपाईंले एउटा राम्रो फोन? घर, भाइहरुको पढाइ ; के राम्रो छ दिदी के ?
गतिलो झापट लगाई बहिनीले ।
राम्रै स्थापित भएकी दिदीकी छोरी बाहिरिन लाग्दा मन थाम्न सकिन र सोधें, ” नानी तिमी सरकारी जागिरे, ज्वाँईको पनि राम्रो नोकरी छ, छोरी राम्रो स्कुलमा पढेकी छ । समाजमा तिमीहरुको नाम छ, दाम छ । तिमी जस्ता विदेश गए यहाँ को बस्छ? हामी त बिल्कुल एक्लै पो हुने भयौँ त ?”
” आन्टि म सरकारी जागिरमा प्रवेश गरेको दस वर्ष भयो । मैले के पाएँ? नर्सिङको जागिर कति पेलान छ, यस्तो खटिएर काम गर्नु, न त स्तर उन्नति न त स्किल डिभलोप्मेन्ट। कमसे कम उमेरमै ठाउँ पुगे त केही गरुँला नि, यत्तिको काम गरेपछी पक्कै पनि म अगाडि बढ्न, पद नाम र स्किल त कमाउँला नि,म कहिलेसम्म यसरी कुजिएर बसुँ भन्नू त ?छोरी उत्तर दिन्छे ।

म के भनुँ, दिमाग घुमिरहेको थियो तर उत्तर केही थिएन ।

यसो सोचेँ, समय अनुसार परिवर्तन हुनुपर्छ भन्थे सायद यही होला परिवर्तन । के राम्रो फोन, सुविधासम्म्पन आवास, छोराछोरीको पढाइ, यसैका लागि हो त नयाँ पुस्ता बिदेशिन लालाहित? कस्तो हो वैयक्तिक विकास ? कसले गरे हुन्छ यसको शुरुवात ? के विदेशिनु र विदेशी भुमीमै सम्भावना देख्नु समस्याको समाधान हो ?

दशैँको बेला घरतिर गएको, पहिला-पहिला जस्तो रौनक कतै छैन । ओहो त्यो बेला लाहुरेहरु अत्तर छर्केर बाटो नै मगमगी बास्ना आउने गरि, ठुलो बाकसमा ताल्चा बजाउदै लस्कर लागेर आउथें। घर, आगन, स्कुल चोक-चोकमा सरसफाइ हुन्थ्यो । गाउँभरी युवाको लहर । पिङ, चङ्गा, लिपपोत, खसीमार, मन्दिरको बाजागाजा, रेडियोको मंगल धुन! अहिले गाउँ त छ,तर सुनसान ।धुन त बज्छ, सुन्ने कानहरु?युवाहरु एकदम न्यून सङ्ख्यामा मात्र छन्, चहलपहल पनि कति कम ।
प्राय घरहरुमा बृद्धअवस्थाका केही जोडी मात्र देखिन्छन्। सोध्यो भने जवाफ उहीँ छ, ” छोरा अमेरिका, छोरी अस्टेलिया” । हजुराआमाको नाति-पनाति खेलाउने सपना मात्रै ।हजुरबुवाको नवपुस्तालाइ कथा कहानी सुनाउने कल्पना मात्रै । बिरामी परे पैसा आउँछ, फोनमा नाति नातिनीले “हेल्लो ग्र्यानी”भने उनीहरु मख्ख । आफ्ना सन्तान आउने आसमा सास झुन्डाएका उनीहरु देहत्याग गरे भने पनि समयमा लास समेत उठ्दैन। दशैँमा छोरी ज्वाइँ आउलान् र टीका लगाइदिउला भन्ने सोच पनि छैन उनीहरुमा । कहिले नाति नातिनी जन्माउने हुन् र तेल लगाउन जाउँला भनेर कुर्ने दिन पो आएछन् ।
पहिले बृद्ध बुवाआमा एक्लै हुन्थे..आजभोलि त प्रौढ दाइ भाउजू, जेठाजु जेठानी दिदी । निकट भविस्यमा हाम्रो पनि त्यस्तै होला । रोकेर कतिन्जेल रोक्न सकिन्छ, पखेँटा लागेका बचेरालाइ । रोक्नु पनि कसरी?? कुन प्रलोभन देखाउनु? हामी सानो हुदा भुपी शेरचन, लक्ष्मीप्रसाद देवकोटाका कृति पढेर भावुक हुन्थ्यौँ । देशको माया उम्लेर कणकणमा छाउथ्यो । ” म मरे पनि मेरो देश बाचिरहोस् ” भन्दै गुनगुनाउदै हिंडिन्थ्यो । अहिले त नौँ कक्षा पुग्दानपुग्दै ,” कुन देश राम्रो होला” भनेर गुगल हेर्न थाल्छन् । भन्लान् के विदेश जानेको मनमा नेपालप्रति माया हुदैन ? म भन्छु, अहँ हुदैन, बिल्कुल हुँदैन । उनीहरुका आफन्तलाइ पनि उनीहरुको माया हुँदैन । हुने भए सन्जालमा ” पि. आर. पाएकोमा छोरा बुहारीलाई बधाई अनि ग्रीन कार्ड पाएको मा बहिनीज्वाइलाइ बधाई” भनेर किन प्रचार बाजि गरिन्छ?

धेरै विपन्नताले ग्रसित मेरो मुलुकमा कैयौंको रोजीरोटीको लागि विदेशिनु बाध्यता हो । तर ती चारो खोज्न गएका आफ्नो घर सम्झेर अवश्य फर्कनेछ्न् । उनीहरुको लागि रोजगार अवसर दिलाउन नसक्नु नेतृत्व पङ्तीको कमजोरी हो । तर पढाइ, सिप, अर्थ सबै हुदाहुदै केही गरौं , म बाट शुरु गरे पनि होला नि भन्न नसकेर पैतृक सम्पत्ति बेचेर अझ म भन्छु देशको माटाे बेचेर, बैंकबाट, आफन्तबाट ऋण खोजेर, पढाइको बहाना बनाएर विदेशिने नयाँ पुस्तासङ्ग खेद छ मेरो ।

मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? जबसम्म यो सोंचको विकास हुदैन, युवा यसरी नै भिडको पछाडि विमानस्थल छिरिरहन्छ । मेरो देशको मुटु चिरिरहन्छ । माथी राजनितिक लडाइँ छ, युवा बाह्य बसाइ सराइमा व्यस्त !दुख बढ्दै गएको छ । अहिले सम्म बृद्धआश्रम बनेको मेरो गाउँ निकट भविस्यमा मानविहिन नबनोस्, मेरो देश विश्व मानचित्रबाटै नओझेलियोस्, मन पिरोलिरहन्छ, दुई चार शब्द लेखेर विचार प्रकट गर्दैमा देश विकास हुदो रहेनछ । युवापुस्ताको चाह बमोजिम मेरो देश बनोस् .. म सगरमाथा हेरेर चित्त बुझाउँछु ।।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 868

Leave a Reply

Your email address will not be published. Required fields are marked *