श्रीराम गौतम
चन्द्रकोट गुल्मी
२०८०/०९/२१
चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा संचालित गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०सम्पन्न भएको छ। उदय माध्यमिक विद्यालय शान्तिपुरमा भएको समापन समारोहमा गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षता, लुम्बिनी प्रदेश सभामुख माननीय तुलाराम घर्ति मगरज्यूको प्रमुख आतिथ्यता, संविधान सभा सदस्य सिर्जना तरामु तथा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीको विशिष्ट आतिथ्यता, जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तेजेन्द्र सलामी, गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू, शिक्षा अधिकृत, प्राविधिक सहायक लगायतका कर्मचारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी लगायतको उपस्थिति भएको थियो।
पुष २० र २१ गरी २ दिनसम्म सञ्चालित प्रतियोगितामा जम्मा १९ स्वर्ण , ४ रजत र २ कास्य सहित २५ पदकका साथ ज्ञानोदय माध्यमिक विद्यालय मजुवा प्रथम भइ रनिङ शिल्ड विजेता भएको छ भने ८ स्वर्ण, ५ रजत र ६ कास्य सहित कुल १९ पदकका साथ शारदा माध्यमिक विद्यालय सराङ दोस्रो स्थान, ७ स्वर्ण , ५ रजत र ५ कास्य सहित कुल १७ पदकका साथ उदय माध्यमिक विद्यालय शान्तिपुर तेश्रो स्थान तथा ३ स्वर्ण, ४ रजत र ५ कास्य सहित कुल १२ पदकका साथ ग्वाघा माध्यमिक विद्यालय ग्वाघाले सान्त्वना स्थान हासिल गरेका छन्। प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, कराते लगायतका खेल समावेश गरिएको थियो। प्रतियोगितामा गाउँपालिकाभित्रका ११ विद्यालयका विद्यालयका करिब ५०० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।