बुटवल ।
दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड अवरूद्ध भएको छ।
यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
प्रहरीका अनुसार सिद्धबाबा देखिनै आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि सवारीसाधनको आवतजावत बन्द भएको हो।
माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुङ्गा र लेदोसहितको पानीको छहरो झरेको छ। सिद्धार्थ राजमार्गकै पानी मिल,हिउँदे खोला, कालिमाटी, चर्चरे, चौबिस माईल, गौंडेपुल लगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो बर्षा केहिबेर रोकिए पनि रातिदेखि फेरि ठूलो वर्षा भइरहेको छ। पानी परिरहेकोले पहिरो गएको स्थानमा जान नसकेको प्रहरीले जनाएको छ ।