काठमाडौं ।
मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ।
दाङको घोराही र आसपासको क्षेत्रमा आज बिहानै भारी वर्षा भएको छ। बबई लगायत अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले यसका तटीय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ।
त्यस्तै कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएकाले कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै सचेत गराइएको छ।
कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको छ।
गएरातिदेखि नै कास्की, स्याङजा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत,बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाण्डौ र आसपासका धेरै स्थानमा ठूलो वर्षा भएको छ।
यी जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च संभावना रहेको बाढी पूर्वानुमान महाशाखाको भनाइ छ ।