काठमाडौं– पछिल्लो समय नेपालमा पनि टर्किस नाटकहरु लोकप्रिय बन्दै गइरहेका छन् । नेपाली युवापुस्ताको एउटा जमातमा टर्किस ड्रामाको खुबै फ्यान फलोइङ छ ।
यस्तै ‘एर्तुग्रुल’ नामक टर्किस ड्रामाले केही वर्षअघि पाकिस्तानी टेलिभिजन क्षेत्रमा पनि ठूलो चर्चा कमाएको थियो । उस्मानी साम्राज्यका संस्थापक ओसमान गाजीका बाबु भनी विश्वास गरिने एर्तुग्रुल गाजीको जीवनीमा आधारित यो ऐतिहासिक टर्किस ड्रामा उर्दू भाषामा पाकिस्तानी टेलिभिजनमा रिलिज भएपछि यसको चर्चा अझ चुलिन पुग्यो ।
यो टर्किस ड्रामा फेरि चर्चाको शिखरमा छ । तर अहिले यो चर्चामा आउनुको कारण भने केही अपत्यारिलो छ । एर्तुग्रुलमा एर्तुग्रुल गाजीकी श्रीमती हालिमे हातुनको भूमिका निभाएकी अभिनेत्री एर्जा बिल्गचले भित्री वस्त्रको विज्ञापन खेलेपछि एर्तुग्रुलका पाकिस्तानी फ्यानहरु आक्रोशित भएका हुन् ।
उनले फेसन ब्राण्ड भिक्टोरिया सिक्रेटको भित्री वस्त्रको विज्ञापन खेलेकी थिइन् । यसबारे उनले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेपछि सामाजिक सञ्जालका पाकिस्तानी प्रयोगकर्तामाझ उनले खेलेको विज्ञापनलाई लिएर खैलाबैला नै मच्चियो ।
‘हे ईश्वर ! एर्तुग्रुल भाइको नाक काट्यौ’ एकजना पाकिस्तानी सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले ‘समुदायको इज्जत तिम्रै हातमा थियो, हालिमे’ लेखेका छन् ।
अर्का प्रयोगकर्ताको टिप्पणी छ, ‘हालिमे यो के गर्दैछौ ? एर्तुग्रुल सरदारले तिमीसँग यसैका लागि बिहे गरेका थिए ? तिम्रा छोरा ओसमान बेले अविश्वासीहरुसँग बहादुरीपूर्वक लडेका थिए र तिमी यहाँ यो गरिरहेकी छौ ? ईश्वरले माफ गरुन्, ईश्वरले माफ गरुन् ।’