इजरायलमा आतंकवादी हमला, नौ जना नेपाली घाइते दुई जनाको अवस्था गम्भीर ।
असोज २१
प्यालेस्टाइनले इजरायलमा गरेको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । १४ जना नेपालीले काम गरिरहेको एक फार्ममा भएको आक्रमणमा परेर नौ जना घाइते भएका र दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायलमा रहेको नेपाली दूतावासले आक्रमण भएको क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग सम्पर्कमा रहेको जनाएको छ ।
नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग समन्वय गरिरहेको बताएको छ । दूतावासले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र सुरक्षा उपायहरू पालना गर्न भनेको छ ।
नेपाल सरकारले इजरायलमा हिजो भएको आतंकवादी हमलाको घोर भत्सर्ना गरेको छ । इजरायलका नागरिक र सरकारका साथै यस निर्मम हमलाका पीडितहरू साथै उनीहरूका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गरिएको मन्त्रालयले जनाएको छ ।
हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको संख्या ४० जना पुगेको इजरायली अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ । इजरायलमा सात सय ५० जना भन्दा धेरै घाइते भएका छन् । यस्तै इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा एक सय ९८ जना मारिएका र एक हजार जना भन्दा धेरै घाइते भएका इजरायली सेनाको दाबी छ ।




यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उहाँले बताउनुभयो । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ । गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादशैँ सुरु हुँदैछ । कात्तिक पहिलो साता बडादशैँको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।









