Author: रुरु संचार मिडिया प्रा.लि

  • रामकोट आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समितिको अध्यक्षमा आचार्य चयन

    रामकोट आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समितिको अध्यक्षमा आचार्य चयन

    चुरामणि तिमिल्सिना  रिडी जेष्ठ  १२

    रामकोट आधारभूत विद्यालय मा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल सुनारको अध्यक्षतामा सम्पन्न अभिभावक भेलामा प्रमुख अतिथिका रूपमा वडा नं. ७ का वडा अध्यक्ष अनन्तराम भण्डारी को उपस्थिति रहेको थियो।
    भेलाले हरिलाल आचार्यको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो। समितिको सदस्यहरूमा पदमपानी भण्डारी, नानुमाया पुलामी र निरुता नेपाली वडा प्रतिनिधि बिष्णु बिक चयन हुनुभएको छ।


    त्यसैगरी, अभिभावक भेलाले पवित्रा रामजालीको अध्यक्षतामा शिक्षक अभिभावक संघ समिति गठन गरेको छ। समितिका सदस्यहरूमा विष्णु गैरे, रुपा थापा, लक्ष्मी सुवेदी, मञ्जु भट्टराई, विष्णु भण्डारी, कल्पना थापा र हिरा थापा चयन हुनुभएको छ।
    भेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल आचार्यको संयोजकत्वमा खाजा समिति समेत गठन गरेको छ। समितिका सदस्यहरूमा इन्दिरा भण्डारी, जमुना गैरे र कविता आचार्य रहनुभएको छ।
    सात वर्षसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रही कार्यसम्पादन गर्नुभएका कमल सुनारले आफ्नो कार्यकालमा सहयोग गर्ने विद्यालय परिवार, अभिभावक तथा सम्पूर्ण सहयोगी दाताप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्नुभएको थियो।

    उहाँले आगामी दिनमा पदमा रहे पनि नरहे पनि विद्यालयको चौतर्फी विकासका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।
    नवनिर्वाचित कार्यसमितिलाई सोमबार नै शपथ ग्रहण गराई कार्यभार समेत हस्तान्तरण गरिएको थियो। विद्यालयकी प्रधानाध्यापक बसन्ती न्यौपानेले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सहजीकरण यज्ञमूर्ति भण्डारी र अनिता भण्डारीले गर्नुभएको थियो।

  • गुल्मीको चन्द्रकोट दमूकामा आँखा शिविर सम्पन्न

    गुल्मीको चन्द्रकोट दमूकामा आँखा शिविर सम्पन्न

    गुल्मी    जेष्ठ ११ चुरामणि तिमिल्सिना

    नेपाल रेडक्रस सोसाइटी रूपाकोट उपशाखाको सहजीकरण तथा व्यवस्थापनमा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा गुल्मी तथा शान्तिपुर आँखा उपचार केन्द्र गुल्मीको आयोजनामा चन्द्रकोट गाउँपालिका–७ दमुकास्थित श्री रामकोट आधारभूत विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
    मिति २०८३ साल जेठ १० गते आइतबार सञ्चालन गरिएको शिविरमा २०५ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ११७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको आयोजकले जनाएको छ। त्यसैगरी १९३ जनालाई औषधि तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। शिविरमा ४ जनामा मोतियाबिन्दुको समस्या देखिएको र थप ४ जनामा जटिल आँखासम्बन्धी समस्या भेटिएकाले उनीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि भैरहवा आँखा अस्पताल रिफर गरिएको जानकारी दिइएको छ।
    शिविर सफल बनाउन सहयोग पुर्‍याउने चन्द्रकोट गाउँपालिका कार्यालय, वडा नं. ७ को कार्यालय रूपाकोट, शान्तिपुर आँखा उपचार केन्द्रका अध्यक्ष, सचिव, सदस्य, कार्यालय प्रमुख, चालक तथा सम्पूर्ण कर्मचारीप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै सामाजिक व्यक्तित्व दिल्लीराज भण्डारी, सुरेश भण्डारी, भोजराज भण्डारी, युवराज भण्डारी, जङ्गबहादुर थापा, रामु भण्डारी, तुराङ उपशाखाका सभापति मुमलाल श्रेष्ठ, कार्यक्रम समन्वयमा सहजीकरण गर्ने यज्ञमुर्ति भण्डारी तथा आवश्यक भौतिक सहयोग उपलब्ध गराउने श्री रामकोट आधारभूत विद्यालय परिवारलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ।

  • राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला शाखा पाल्पाको अधिवेशन समीक्षा बैठक सम्पन्न

    राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला शाखा पाल्पाको अधिवेशन समीक्षा बैठक सम्पन्न

    प्रतिमा  भट्टराई  रिडी  जेष्ठ  ९

    राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला शाखा पाल्पाको अधिवेशन समीक्षा बैठक सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष मञ्जु पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष भरत खड्गी, सामाजिक तथा धार्मिक व्यक्तित्वहरू तथा कार्यसमितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    समीक्षा बैठकमा प्रतिष्ठानको लुम्बिनी प्रदेश दोस्रो अधिवेशनलाई सफल बनाउन प्रदेशबाट प्राप्त सुझाव तथा विषयवस्तुहरूलाई परिमार्जन गर्दै पाल्पाबाट सिंगो टोलीको सहभागिता सुनिश्चित गर्ने निर्णय गरिएको छ। साथै संस्थामा तीन जना नयाँ सदस्यहरूलाई मनोनयन गरिएको जानकारी दिइएको थियो।


    बैठकमा हालसम्म संस्थामा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई स्मरण गर्दै निवर्तमान पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो। कार्यक्रममा आफ्नो धारणा राख्दै निवर्तमान अध्यक्ष भरत खड्गीले विगतका वर्षहरूको तुलनामा यस वर्ष सम्पन्न अधिवेशन तथा साधारण सभाले पाल्पामा विशेष रौनकता थपेको उल्लेख गर्नुभयो। आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन केन्द्र, प्रदेश तथा स्थानीय तहसम्म सक्रिय रूपमा खटिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
    यस्तै, पालिका स्तरीय समिति गठनअन्तर्गत रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा समिति गठन कार्य सफलतापूर्वक सम्पन्न भएकोमा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। पाल्पा जिल्लाका सबै स्थानीय तहमा पुगेर जिल्लाको कला, भाषा र संस्कृतिको पहिचान स्थापित गर्न बृहत् भजन प्रतियोगिता सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ। उक्त कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सम्बन्धित निकायमा प्रस्ताव पेश गर्ने निर्णय पनि गरिएको छ।

    बैठकमा बोल्दै संस्थाकी आजीवन सदस्य तथा रिब्दीकोट पालिका स्तरीय समितिकी अध्यक्ष लक्ष्मी खनालले भाषा, कला र संस्कृतिको संरक्षणका लागि आफू सधैं सक्रिय रहने बताउनुभयो। यस्ता रचनात्मक गतिविधिमा व्यक्तिगत तथा संस्थागत सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त कार्यक्रममार्फत संस्था अगाडि बढ्नुपर्ने धारणा उहाँले राख्नुभयो।
    संस्थाका सचिव चुरामणि तिमिल्सिनाको सञ्चालनमा सम्पन्न बैठक समीक्षा तथा भावी योजनामुखी निर्णयसहित सम्पन्न भएको थियो।

  • रुरु क्षेत्र गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र

    रुरु क्षेत्र गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र

    रुरु क्षेत्र गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र
    उपभोक्ता सचेतना र कालोबजारी नियन्त्रणमा गाउँपालिकाको सक्रियता

    चुरामणि तिमिल्सिना  रिडी  जेष्ठ  ७

    रुरु क्षेत्र गाउँपालिकाले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ। बुधबार गाउँपालिकाको टोलीले वडा नं. ४ स्थित बजार क्षेत्रमा व्यापक अनुगमन गरेको हो।
    गाउँपालिका उपाध्यक्ष मिना देवी गौतमको नेतृत्वमा खटिएको टोलीले खाद्यान्न, किराना, होटल, औषधि पसल, मासु पसल, पुस्तक भण्डार, फेन्सी तथा दैनिक उपभोग्य सामग्री बिक्री गर्ने पसलहरूको अनुगमन गर्दै व्यवसायीलाई आवश्यक सल्लाह तथा सुझाव दिएको थियो।
    अनुगमनका क्रममा मूल्यसूची अनिवार्य रूपमा राख्नुपर्ने, बिल–बिजक नियमित प्रदान गर्नुपर्ने तथा लेबलयुक्त खाद्य सामग्री मात्र बिक्री वितरण गर्नुपर्ने विषयमा व्यवसायीलाई जानकारी गराइएको थियो।
    उपाध्यक्ष गौतमले विगतका वर्षहरूमा गरिएको निरन्तर अनुगमनले सकारात्मक नतिजा दिएको बताउनुभयो। उहाँका अनुसार पहिले बजारमा म्याद गुज्रेका सामग्री, सरसफाइको कमी तथा बिल–बिजक व्यवस्थापन कमजोर देखिने गरे पनि अहिले त्यस्तो अवस्था उल्लेखनीय रूपमा सुधारिएको छ।
    औषधि पसलतर्फ पनि बिक्रीयोग्य नरहेका औषधिहरू हटाइएको र व्यवस्थापनमा सुधार आएको अनुगमन टोलीले जनाएको छ। साथै बजारमा बिक्री हुने सागसब्जी ताजा देखिए पनि विषादीको प्रयोग बढी हुन सक्ने भएकाले उपभोक्तालाई सचेत रहन आग्रह गरिएको थियो।
    गाउँपालिकाले आगामी दिनमा ग्रामीण भेगका अन्य बजारहरूमा समेत नियमित अनुगमन गर्ने, उपभोक्तालाई सचेत बनाउने तथा कालोबजारी नियन्त्रणमा थप सक्रियता बढाउने जनाएको छ।

  • गुल्मीमा मोटरसाईकल दुर्घटना , दुई जनाको मृत्यु

    गुल्मीमा मोटरसाईकल दुर्घटना , दुई जनाको मृत्यु

    गुल्मीमा मोटरसाईकल दुर्घटना , दुई जनाको मृत्यु !
    जेठ ४ गुल्मी ।
    गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगर छल्दीस्थित कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
    रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल आफै अनियन्त्रित भई सडकदेखि करिब ३ मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङका ३४ वर्षीय लक्ष्मण थापा र पछाडि सवार ४५ वर्षीय गिरमान सिंह राना गम्भीर घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • रेन्वो स्कूलको को गौरव पुर्ण नतिजाले रुरुक्षेत्र उत्साहित

    रेन्वो स्कूलको को गौरव पुर्ण नतिजाले रुरुक्षेत्र उत्साहित

    चुरामणि तिमिल्सिना  रिडी जेष्ठ  २

    रेन्बो इङलिस बोडीङ स्कूले ले एसइई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेपछि सम्मान, बधाई तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले यस वर्ष शतप्रतिशत नतिजा ल्याउन सफल हुनुका साथै दुई जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेपछि विद्यालय परिसर उत्साहमय बनेको हो।उत्कृष्ट नतिजाको खुसीमा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूको सहभागितामा बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो। विद्यालयले हालसम्मकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको तथा गाउँपालिकाभरिमै अब्बल नतिजा हासिल गरेको भन्दै विशेष सम्मान कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल योजन खत्री ले जानकारी दिनुभयो।

    विद्यालयका विद्यार्थी खेमराज पन्त र आरुषा श्रेष्ठले ले ४ जीपीए प्राप्त गरी विद्यालयको गौरव बढाएका छन्। उनीहरूलाई विद्यालयको तर्फबाट जनही रु. ५० हजार नगद, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। साथै परिवारलाई समेत विशेष सम्मान गरिएको थियो।

    अन्य विद्यार्थीहरूलाई पनि सम्मानपत्र, खादा तथा मायाको चिनो प्रदान गर्दै पारिवारिक रूपमा सम्मान गरिएको थियो।यस्तै समारोहमा शिक्षक सम्मान समेत गरिएको थियो।
    कार्यक्रममा बोल्दै प्रिन्सिपल योजन खत्रीले विद्यार्थीहरूको उपलब्धि केवल विद्यालयको मात्र नभई समग्र गाउँपालिकाकै गौरव भएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयको इतिहासमै महत्वपूर्ण सफलता प्राप्त भएको भन्दै विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण शिक्षा प्रेमी महानुभावप्रति आभार व्यक्त गर्नुभयो।

    कार्यक्रमका प्रमुख अतिथि रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले उत्तीर्ण विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै विद्यालय परिवार, अभिभावक तथा सरोकारवालाको योगदानको खुलेर प्रशंसा गर्नुभयो। उहाँले यी विद्यार्थीहरू रुरु क्षेत्रकै गहनाका रूपमा स्थापित भएको बताउँदै गाउँपालिकाले शिक्षा क्षेत्रमा निरन्तर लगानी गर्न तयार रहेको उल्लेख गर्नुभयो। साथै प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई अग्रसर गराउन विद्यालयलाई आग्रह समेत गर्नुभयो।
    कार्यक्रममा उपाध्यक्ष मिना देवि गौतम वडान ४ का वडा अध्यक्ष मोती प्रसाद श्रेष्ठ पूर्व प्रशासक तथा पूर्व जनप्रतिनिधि पर्सुराम ज्ञवाली , अभिभावक पदम प्रसाद अर्याल छत्र बहादुर लगायतले विद्यालयको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै खुसी व्यक्त गर्नुभएको थियो।
    विद्यालयका शिक्षक ठाकुर प्रसाद गौतम ले स्वागत मन्तव्य राख्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो। यस वर्ष विद्यालयबाट २७ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इम बहादुर खत्री को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक यज्ञ प्रसाद प्रसाद ज्ञवाली ले गर्नुभएको थियो।

  • रिडीमा नागरिक सुनुवाइ : जनताका गुनासा सुन्दै समाधानमा जुट्ने प्रतिबद्धता

    रिडीमा नागरिक सुनुवाइ : जनताका गुनासा सुन्दै समाधानमा जुट्ने प्रतिबद्धता

    रिडीमा नागरिक सुनुवाइ : जनताका गुनासा सुन्दै समाधानमा जुट्ने प्रतिबद्धता

    चुरामणि तिमिल्सिना  रिडी बैशाख  २९

    रिडी बजार अन्तर्गत रुरुक्षेत्र गाउँपालिका वडा नं. १ मा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय रिडी को आयोजना तथा वडा नं. १ को व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको हो।कार्यक्रममा स्थानीयवासीले आफ्नो क्षेत्रका विभिन्न समस्या तथा सरोकारका विषय खुला रूपमा उठाएका थिए। प्रहरी प्रशासनले समुदायसँग प्रत्यक्ष संवाद गर्दै प्रहरीका गतिविधि, असल अभ्यास, मासिक उपलब्धि तथा शान्ति–सुरक्षासम्बन्धी कामकारबाहीबारे जानकारी गराएको थियो। साथै, प्रहरीका कमजोरी तथा सुधार गर्नुपर्ने पक्षबारे समेत सुझाव संकलन गरिएको जनाइएको छ।
    नागरिकहरूले बजार क्षेत्रमा देखिएका विद्युत समस्या, सडक छेउमा अव्यवस्थित रूपमा राखिने व्यापारिक सामग्री, रुख कटान, सरसफाइ, इन्टरनेटका अव्यवस्थित तार, बजार सौन्दर्यकरण तथा कालीगण्डकी नदी मा विद्युतीय माध्यमबाट माछा मार्ने कार्य रोक्नुपर्ने विषय उठाएका थिए।
    यसैगरी, बजार क्षेत्रमा बढ्दो ध्वनि प्रदूषण, ट्राफिक व्यवस्थापन तथा बाँदर आतंकका कारण स्थानीयवासीलाई समस्या भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो। स्थानीयले बाँदर आतंकका कारण बजार क्षेत्रमा आवतजावत गर्न समेत कठिन भएको गुनासो गरेका थिए।

    कार्यक्रममा बोल्दै ज्ञानबहादुर माझी ले प्रहरी कार्यालयसँग सम्बन्धित विषयमा नागरिकलाई स्पष्ट जानकारी गराउँदै उठाइएका समस्याको समाधानका लागि वडा कार्यालयसँग समन्वय गरेर काम अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    त्यस्तै, वडा अध्यक्ष नवराज बिक ले बजारको सौन्दर्यकरणका लागि इन्टरनेट सेवा प्रदायकसँग छलफल गरिने, स्वास्थ्य तथा सरसफाइका समस्या टोल विकास संस्था र प्रहरीसँग सहकार्य गरेर समाधान गरिने तथा पार्टी पौवा र धर्मशालालाई व्यवस्थित गरी अतिथि सत्कारका लागि प्रयोग गरिने बताउनुभयो।
    उहाँले कालीगण्डकी ए जलविद्युत आयोजना सँग नियमित जलप्रवाहका विषयमा छलफल गरिने तथा विद्युत व्यवस्थापन सुधारका लागि वितरण केन्द्र रिडी र जिल्ला विद्युत कार्यालय गुल्मीसँग सहकार्यलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।
    कार्यक्रमको अर्को विशेष पक्ष के रह्यो भने सार्वजनिक सुनुवाइमा सडक, खानेपानी र शिक्षाजस्ता विषयमा खासै गुनासा नआएको स्थानीयले बताएका थिए। बरु नागरिकहरूले कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भएको भन्दै यस्ता सुनुवाइ हरेक तीन महिनामा आयोजना गर्नुपर्ने सुझाव दिएका थिए।


    रिडी बजारमा पटक–पटक विद्युत अवरुद्ध हुँदा व्यवसाय तथा विद्युतीय उपकरणमा असर परेको भन्दै स्थानीयले विद्युत प्राधिकरणप्रति गुनासो गरेका थिए। त्यसको जवाफ दिँदै वितरण केन्द्र प्रमुख शिशिर ज्ञवाली ले जनताको सेवामा कार्यालय समयभन्दा बाहिर समेत निरन्तर खटिएको उल्लेख गर्दै समस्या समाधानका लागि विद्युत वितरण केन्द्र तम्घास सँग समन्वय भइरहेको र चाँडै सुधार हुने विश्वास व्यक्त गर्नुभयो।

  • रुरुक्षेत्र गाउँपालिका १ रिडी बजार हर्न निषेध र गति सिमित क्षेत्र

    रुरुक्षेत्र गाउँपालिका १ रिडी बजार हर्न निषेध र गति सिमित क्षेत्र

    रुरुक्षेत्र गाउँपालिका १ रिडी बजार हर्न निषेध र गति सिमित क्षेत्र

    चुरामणि तिमिल्सिना रिडी गुल्मी  बैशाख  १७

    रिडी जिल्ला प्रहरी कार्यालय गुल्मी , जिल्ला ट्राफिक कार्यालय गुल्मी, गुल्मी उद्योग बाणिज्य सँघ रिडी शाखा र वडा कार्यालयको पहलमा रिडी बजारमा अर्थात् फूलको मुखमै होडिड् बोर्ड राखिएको छ । बिहिबार सचेतना कार्यक्रम जगाउँदै यो कार्यक्रम गरिएको हो। बजार प्रवेश गर्ने क्रममा अत्याधिक मात्रामा हरन बजाउने साइड  मिच्ने  स्पिड लगायत अन्य समस्याहरू पटकपटक दोहोरिएकाले यो कार्यक्रम थालिने गरिएको उद्योग वाणिज्य संघ रिडी गुल्मीका अध्यक्ष ताराप्रसाद सुवेदीले जानकारी दिनुभयो यो।

    बजारलाई नमुना शान्त र हरन निषेध धित क्षेत्र गराउनका निम्ति वाणिज्य सङ्घको बैठकमा पटकपटक कुरा उठिसकेपछि कार्यान्वयनमा लगेको उहाँले बताउनुभयो यता प्रहरीले पनि यस्तो अभ्यास गर्दा बजार सुरक्षित दुर्घटना कम र अन्य महानुभावहरूलाई पनि शान्त वातावरण हुने भएकोले बजार क्षेत्रका लागि अत्यन्तै उपयोगी भएको बताएको छ

    । यस्तै वडा नम्बर १ का वडाध्यक्ष नवराज बिकज्यूले विभिन्न संघसंस्थाले यस्तै रचनात्मक क्रियाकलापहरू बजार क्षेत्रमा गरिरहेको सचेतना जगाउने काममा प्रहरी निरन्तर खटिरहेको तथा विभिन्न क्षेत्रमा प्रहरीको योगदानको विषयमा चर्चा गर्दै धन्यवाद। व्यक्त गर्नुभएको थियो। उहाँले उद्योगको वाणिज्य सङ्घ क्लब तथा संघ संस्थासँग वडाले मिलेर काम गर्दा समाजमा सन्देश प्रवाह राम्रो हुने र सकारात्मक प्रभाव पर्ने भएकोले आफू विभिन्न संघ संस्थासँग काम गर्न तयार भएको बताउनुभयो।

  • रुरु  प्राथमिक  स्वास्थ्य केन्द्र  बाट  थाइराइड जाँच सेवा सुरु, स्थानीयलाई सहज स्वास्थ्य सुविधा

    रुरु  प्राथमिक  स्वास्थ्य केन्द्र  बाट  थाइराइड जाँच सेवा सुरु, स्थानीयलाई सहज स्वास्थ्य सुविधा

    रुरु  प्राथमिक  स्वास्थ्य केन्द्र  बाट थाइराइड जाँच सेवा सुरु, स्थानीयलाई सहज स्वास्थ्य सुविधा
    चुरामणि तिमिल्सिना रिडी बैशाख १०

    रुरु क्षेत्र गाउँपालिका ले रुरु प्राथमिक स्वास्थ्य केन्द्र बाट औपचारिक समारोहका बीच थाइराइड जाँच सेवा कार्यक्रमको शुभारम्भ गरेको छ।
    समारोहमा सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष तथा उद्घाटन सत्रका प्रमुख अतिथि यदु ज्ञवाली ले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गाउँपालिकाले महत्वपूर्ण काम गर्दै आएको उल्लेख गर्दै यो सेवा थपिँदा सर्वसाधारणलाई ठूलो राहत पुग्ने बताउनुभयो। उहाँले अब ग्रामीण भेगका नागरिकले सामान्य जाँचका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्नुभयो।
    उहाँका अनुसार यो सेवा गुल्मी जिल्ला मात्र नभई पाल्पा जिल्ला, स्याङ्जा जिल्ला र अर्घाखाँची जिल्ला का नागरिकलाई समेत प्रत्यक्ष लाभ पुग्नेछ। उहाँले सबैलाई उक्त सेवा उपयोग गर्न आग्रह गर्नुभयो।
    स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति, उपकरण तथा सामग्रीसहित सेवा सुरु गरिएको हो। एकैपटकमा ४५ जनासम्मलाई सेवा दिन सक्ने आधुनिक उपकरण यस क्षेत्रमा पहिलो पटक जडान गरिएको हो। उक्त उपकरणले करिब ४५ मिनेटमै रिपोर्ट तयार गर्ने भएकाले सेवाग्राहीलाई सहज हुने विश्वास लिइएको छ।
    कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज बिक को अध्यक्षता रहेको थियो। उहाँले लामो प्रयासपछि सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको बताउँदै यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो।
    यसैगरी गाउँपालिकाका उपाध्यक्ष मीनादेवी गौतम ले यस्तो सेवा ग्रामीण भेगमै उपलब्ध हुनु सकारात्मक कदम भएको बताउँदै अन्य पालिकालाई पनि लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।
    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख इन्द्रदेव पौडेल ले उपकरणको विशेषता र फाइदाबारे जानकारी गराउनुभयो भने स्वास्थ्य केन्द्रका डाक्टर सुर्तासन ज्ञवाली ले स्वागत मन्तव्यसहित थाइराइडसम्बन्धी जानकारी दिनुभयो।
    उद्घाटन समारोहमा स्थानीय संघसंस्था, जनप्रतिनिधि, सुरक्षा निकाय, महिला समूह तथा शैक्षिक संस्थाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

  • पाल्पाको अर्गलीमा प्रथम वडाध्यक्ष कप प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न

    पाल्पाको अर्गलीमा प्रथम वडाध्यक्ष कप प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न

    पाल्पाको अर्गलीमा प्रथम वडाध्यक्ष कप प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न

    चुरामणि तिमिल्सिना   बैशाख  ८

    पाल्पाको अर्गलीमा प्रथम वडाध्यक्ष कप प्रतियोगिता २०८३ भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। आठवटा समूहको सहभागिता रहेको उक्त प्रतियोगितामा जीवन मेडिकल हल, सत्यवती–गुल्मीले प्रथम स्थान हासिल गर्दै रु १,११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
    त्यसैगरी, रामपुर पाल्पाको टोली द्वितीय हुँदै रु ६६,६६६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो। रम्बा गाउँपालिका, पाल्पाको टोलीले तृतीय स्थान हासिल गर्दै रु ४४,४४४ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। यस्तै, कालीगण्डकी गाउँपालिका, स्याङ्जाले सान्त्वना स्थान हासिल गर्दै रु २२,२२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
    तानसेन नगरपालिका–१४ खेलकुद विकास समितिका अध्यक्ष केदार प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १४ का वडा अध्यक्ष सोभाखर भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा उद्योगपति तथा प्रथम पुरस्कारदाता विष्णुप्रसाद पाण्डे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
    कार्यक्रममा पूर्व तथा वर्तमान जनप्रतिनिधि, शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधि, आमा समूह, महिला समूह, क्लब, सुरक्षा निकाय, पत्रकार, बुद्धिजीवी तथा सहकारी संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    समापन समारोहमा बोल्दै विशिष्ट अतिथि पाण्डेले आफू यसै भूमिमा जन्मी–हुर्किएको स्मरण गर्दै व्यवसायका सिलसिलामा पोखरामा रहे पनि आफ्नो मन यही क्षेत्रमा रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले प्रतिभा पहिचान, खेलकुद विकास तथा संस्कृति संरक्षणमा टेवा पुर्‍याउने उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    त्यसैगरी, प्रमुख अतिथि भट्टराईले वडाले पहिलोपटक यस्तो कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो।

    कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा सहयोगीहरूलाई ट्रफी, नगद र मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको व्यवस्थापन जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो भने सञ्चालन कृष्ण थापा र नारायण सारुले गर्नुभएको थियो।