प्रतिमा भट्टराई रिडी जेष्ठ ९
राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला शाखा पाल्पाको अधिवेशन समीक्षा बैठक सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष मञ्जु पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष भरत खड्गी, सामाजिक तथा धार्मिक व्यक्तित्वहरू तथा कार्यसमितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समीक्षा बैठकमा प्रतिष्ठानको लुम्बिनी प्रदेश दोस्रो अधिवेशनलाई सफल बनाउन प्रदेशबाट प्राप्त सुझाव तथा विषयवस्तुहरूलाई परिमार्जन गर्दै पाल्पाबाट सिंगो टोलीको सहभागिता सुनिश्चित गर्ने निर्णय गरिएको छ। साथै संस्थामा तीन जना नयाँ सदस्यहरूलाई मनोनयन गरिएको जानकारी दिइएको थियो।

बैठकमा हालसम्म संस्थामा योगदान पुर्याएका व्यक्तित्वहरूलाई स्मरण गर्दै निवर्तमान पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो। कार्यक्रममा आफ्नो धारणा राख्दै निवर्तमान अध्यक्ष भरत खड्गीले विगतका वर्षहरूको तुलनामा यस वर्ष सम्पन्न अधिवेशन तथा साधारण सभाले पाल्पामा विशेष रौनकता थपेको उल्लेख गर्नुभयो। आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन केन्द्र, प्रदेश तथा स्थानीय तहसम्म सक्रिय रूपमा खटिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
यस्तै, पालिका स्तरीय समिति गठनअन्तर्गत रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा समिति गठन कार्य सफलतापूर्वक सम्पन्न भएकोमा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। पाल्पा जिल्लाका सबै स्थानीय तहमा पुगेर जिल्लाको कला, भाषा र संस्कृतिको पहिचान स्थापित गर्न बृहत् भजन प्रतियोगिता सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ। उक्त कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सम्बन्धित निकायमा प्रस्ताव पेश गर्ने निर्णय पनि गरिएको छ।
बैठकमा बोल्दै संस्थाकी आजीवन सदस्य तथा रिब्दीकोट पालिका स्तरीय समितिकी अध्यक्ष लक्ष्मी खनालले भाषा, कला र संस्कृतिको संरक्षणका लागि आफू सधैं सक्रिय रहने बताउनुभयो। यस्ता रचनात्मक गतिविधिमा व्यक्तिगत तथा संस्थागत सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त कार्यक्रममार्फत संस्था अगाडि बढ्नुपर्ने धारणा उहाँले राख्नुभयो।
संस्थाका सचिव चुरामणि तिमिल्सिनाको सञ्चालनमा सम्पन्न बैठक समीक्षा तथा भावी योजनामुखी निर्णयसहित सम्पन्न भएको थियो।



