पाल्पाको अर्गलीमा प्रथम वडाध्यक्ष कप प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न
चुरामणि तिमिल्सिना बैशाख ८
पाल्पाको अर्गलीमा प्रथम वडाध्यक्ष कप प्रतियोगिता २०८३ भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। आठवटा समूहको सहभागिता रहेको उक्त प्रतियोगितामा जीवन मेडिकल हल, सत्यवती–गुल्मीले प्रथम स्थान हासिल गर्दै रु १,११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यसैगरी, रामपुर पाल्पाको टोली द्वितीय हुँदै रु ६६,६६६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो। रम्बा गाउँपालिका, पाल्पाको टोलीले तृतीय स्थान हासिल गर्दै रु ४४,४४४ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। यस्तै, कालीगण्डकी गाउँपालिका, स्याङ्जाले सान्त्वना स्थान हासिल गर्दै रु २२,२२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
तानसेन नगरपालिका–१४ खेलकुद विकास समितिका अध्यक्ष केदार प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १४ का वडा अध्यक्ष सोभाखर भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा उद्योगपति तथा प्रथम पुरस्कारदाता विष्णुप्रसाद पाण्डे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा पूर्व तथा वर्तमान जनप्रतिनिधि, शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधि, आमा समूह, महिला समूह, क्लब, सुरक्षा निकाय, पत्रकार, बुद्धिजीवी तथा सहकारी संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समापन समारोहमा बोल्दै विशिष्ट अतिथि पाण्डेले आफू यसै भूमिमा जन्मी–हुर्किएको स्मरण गर्दै व्यवसायका सिलसिलामा पोखरामा रहे पनि आफ्नो मन यही क्षेत्रमा रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले प्रतिभा पहिचान, खेलकुद विकास तथा संस्कृति संरक्षणमा टेवा पुर्याउने उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा सहयोगीहरूलाई ट्रफी, नगद र मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको व्यवस्थापन जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो भने सञ्चालन कृष्ण थापा र नारायण सारुले गर्नुभएको थियो।



