Category: समाचार

  • गुल्मी र स्याङ्जामा हार्मोनियम प्रशिक्षणप्रति बढ्दो आकर्षण, लोकभजन र मौलिक संस्कृतिको संरक्षणमा रुरु सञ्चार कलाघर सक्रिय

    गुल्मी र स्याङ्जामा हार्मोनियम प्रशिक्षणप्रति बढ्दो आकर्षण, लोकभजन र मौलिक संस्कृतिको संरक्षणमा रुरु सञ्चार कलाघर सक्रिय

    गुल्मी र स्याङ्जामा हार्मोनियम प्रशिक्षणप्रति बढ्दो आकर्षण, लोकभजन र मौलिक संस्कृतिको संरक्षणमा रुरु सञ्चार कलाघर सक्रिय

    साउन २०
    रिडी, बिष्णु पाण्डे  कला, संस्कृति, मौलिक परम्परा, रीतिरिवाज तथा लोकभजन संगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले रुरु धार्मिक सेवा सञ्चार प्रा.लि. तथा रुरु सञ्चार कलाघर, रुरु क्षेत्रधाम रिडी को आयोजनामा गुल्मी र स्याङ्जाका विभिन्न स्थानमा हार्मोनियम प्रशिक्षण तालिम सञ्चालन भइरहेको छ।
    तालिमको सुरुवात गुल्मीको सत्यवती गाउँपालिका–६ खैरेनी र उल्लिखोलाबाट गरिएको थियो।

    पछिल्लो समय तालिमप्रति स्थानीयको उत्साह र माग उल्लेख्य रूपमा बढ्दै गएपछि विभिन्न स्थानमा तालिम विस्तार गरिएको सञ्चालक, निर्देशक तथा प्रशिक्षक चुरामणि तिमिल्सिना ले जानकारी दिनुभयो।
    उहाँका अनुसार प्रारम्भमा एक कक्षामा ६ जना प्रशिक्षार्थीबाट सुरु गरिएको तालिममा अहिले करिब २० जनासम्मको सहभागिता हुन थालेको छ। हाल रुरु क्षेत्र गाउँपालिका–१ रिडीस्थित ज्येष्ठ नागरिक मिलन केन्द्रमा सञ्चालन भइरहेको तालिममा १५ जना प्रशिक्षार्थी सहभागी छन्। त्यसैगरी, गुल्मीको सत्यवती गाउँपालिका–१ अस्लेवामा १० जना तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ पालीचौरस्थित सिद्धेश्वर शिवालय मन्दिरमा सञ्चालन भइरहेको ३५ दिने हार्मोनियम प्रशिक्षण तालिममा १८ जना प्रशिक्षार्थी सहभागी भएर सिकिरहेका छन्।

    अध्यक्ष तिमिल्सिनाका अनुसार रिडी, अस्लेवा र कालीगण्डकीमा बिहान, दिउँसो र साँझ गरी एकैसाथ तालिम सञ्चालन भइरहेको छ। तालिममार्फत गाउँघरमा लोपोन्मुख अवस्थामा रहेका लोक चुड्का भजन, रोइला भाका, काठे भाका, लोकदोहोरी लगायतका मौलिक भाकाको संरक्षण गर्दै शास्त्रीय संगीतका माध्यमबाट प्रशिक्षण प्रदान गरिँदै आएको छ।
    रिडी र अस्लेवामा राष्ट्रिय भजन गायक मनोज प्रसाई ले प्रशिक्षण दिइरहनुभएको छ भने स्याङ्जाको कालीगण्डकीमा राष्ट्रिय भजन गायक विपिन तिवारी ले सहजीकरण गरिरहनुभएको छ।
    तालिममा ११ वर्षदेखि करिब ५५ वर्षसम्मका विभिन्न उमेर समूहका प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ। अध्यक्ष तिमिल्सिनाले तालिमको माग अत्यधिक भए पनि समय अभावका कारण सबै स्थानमा एकैपटक सञ्चालन गर्न नसकिएको बताउँदै आगामी दिनमा सहभागी सङ्ख्याका आधारमा थप स्थानमा पनि यस्ता तालिम सञ्चालन गरिने जानकारी दिनुभयो।

    प्रशिक्षार्थी सुदीप काफ्ले र नितेश पाण्डे ले तालिम सुरु गरेको पाँच दिनमै हार्मोनियम बजाएर भजन गाउन सक्नु आफ्नो लागि गर्वको विषय भएको बताए। उनीहरूले आधारभूत तालिमले मात्र पर्याप्त नभएको उल्लेख गर्दै आगामी दिनमा थप उन्नत कक्षासमेत लिन आफूहरू इच्छुक रहेको प्रतिक्रिया दिएका छन्।

  • सत्यवती–६ मा ४० दिने हार्मोनियम तालिम सम्पन्न : ग्रामीण प्रतिभा उजागर गर्दै २० प्रशिक्षार्थी दीक्षित

    सत्यवती–६ मा ४० दिने हार्मोनियम तालिम सम्पन्न : ग्रामीण प्रतिभा उजागर गर्दै २० प्रशिक्षार्थी दीक्षित

    सत्यवती–६ मा ४० दिने हार्मोनियम तालिम सम्पन्न : ग्रामीण प्रतिभा उजागर गर्दै २० प्रशिक्षार्थी दीक्षित

    प्रतिमा भट्टराई रिडी  असार  २८

    गुल्मीको सत्यवती गाउँपालिका–६ खैरेनी र उल्लिखोलामा सञ्चालित ४० दिने हार्मोनियम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। रुरु धार्मिक सेवा सञ्चार प्रा.लि. तथा रुरु सञ्चार कलाघरको आयोजनामा सञ्चालन गरिएको उक्त तालिममा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। कार्यक्रममा युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिता देखिएको थियो।
    तालिमको प्रमुख प्रशिक्षकका रूपमा राष्ट्रिय भजन गायक विपिन तिवारीले सम्पूर्ण ४० दिन प्रशिक्षण दिनुभएको थियो। गाउँघरमा लुकेर रहेका प्रतिभाको पहिचान गर्ने, धर्म–संस्कृतिको संरक्षण गर्ने, संगीतमार्फत तनाव व्यवस्थापनमा सहयोग पुर्‍याउने तथा बुढेसकाललाई सिर्जनात्मक र आनन्दमय बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

    दुई स्थानमा छुट्टाछुट्टै आयोजित समापन समारोहका प्रमुख अतिथिद्वय सत्यवती गाउँपालिका–६ का कार्यवाहक वडा अध्यक्ष छविलाल भट्टराई र वडा सदस्य युवराज न्यौपाने रहनुभएको थियो।
    प्रशिक्षार्थीका तर्फबाट रामप्रसाद ढकाल र सिद्धिनाथ श्रेष्ठले आफ्नो भनाइ राख्दै गाउँमै पहिलो पटक यस्ता तालिम सञ्चालन भएकाले घरनजिकै संगीत सिक्ने अवसर प्राप्त हुनु अत्यन्तै खुसीको विषय भएको बताए। उमेर बढ्दै जाँदा हार्मोनियम आफ्नो साथी बनेको र सिकेको सीपलाई समाजमा उपयोग गर्ने प्रतिबद्धता पनि उहाँहरूले व्यक्त गर्नुभयो।

    यस्तै प्रशिक्षार्थी लक्ष्मी शर्मा भण्डारीले हार्मोनियम र भजन संगीतले आफूलाई एक्लोपनमा पनि परिवारसँगै भएको अनुभूति गराएको बताउनुभयो। पूजा, विद्यालय वा दैनिक कामकाजका क्रममा भजनका धुनहरू मनमा गुञ्जिरहने र अहिले ती प्रस्तुत गर्न सक्ने अवस्थामा पुग्दा निकै खुसी लागेको उहाँको भनाइ थियो।
    समापन समारोहमा बोल्दै प्रमुख अतिथिद्वय भट्टराई र न्यौपानेले ग्रामीण क्षेत्रमा समेत यस्ता सांगीतिक तालिम सञ्चालन गरेकोमा आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो। सिकेको सीपलाई समाजमा व्यवहारमा उतार्न सके मात्र तालिमको वास्तविक औचित्य पुष्टि हुने उहाँहरूको भनाइ थियो। साथै बालबालिका, महिला, युवा तथा ज्येष्ठ नागरिकलाई संगीतसँग जोडेर समाजलाई सकारात्मक दिशातर्फ लैजान यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो।

    विशिष्ट अतिथि तथा प्रमुख प्रशिक्षक विपिन तिवारीले ४० दिनको अवधिमा प्रशिक्षार्थीहरूले उल्लेखनीय प्रगति गरेको भन्दै सबैलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।


    कार्यक्रमको अध्यक्षता रुरु धार्मिक सेवा सञ्चार प्रा.लि.का अध्यक्ष तथा रुरु सञ्चार कलाघरका सञ्चालक चुरामणि तिमिल्सिनाले गर्नुभएको थियो। अध्यक्ष तिमिल्सिनाले छोटो समयमै प्रशिक्षार्थीहरूले हार्मोनियममा राम्रो दक्षता हासिल गरेको देख्दा गर्व लागेको बताउँदै आगामी दिनमा पनि विभिन्न पालिका, विद्यालय तथा महिला समूहसँग सहकार्य गरी यस्ता सिर्जनात्मक तालिमलाई थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। विभिन्न स्थानबाट यस्ता तालिम सञ्चालनका लागि माग बढ्दै गएको उहाँले जानकारी दिनुभयो।

    कार्यक्रमको अवसरमा सम्पूर्ण प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो।कार्यक्रमको संचालन कृष्ण प्रसाद ढकाल र मुकुन्द ज्ञवालीले गर्नु भएको थियो।

  • रुरुक्षेत्र गाउँपालिकामा कविता लेखन–वाचन तथा शैक्षिक प्रदर्शनी सम्पन्न, प्रतिभा सम्मानित

    रुरुक्षेत्र गाउँपालिकामा कविता लेखन–वाचन तथा शैक्षिक प्रदर्शनी सम्पन्न, प्रतिभा सम्मानित

    रुरुक्षेत्र गाउँपालिकामा कविता लेखन–वाचन तथा शैक्षिक प्रदर्शनी सम्पन्न, प्रतिभा सम्मानित
    चुरामणि तिमिल्सिना असार १६
    रुरुक्षेत्र गाउँपालिका, गुल्मीको आयोजनामा खुल्ला तथा गाउँपालिकाभित्रका विद्यालयस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता तथा विद्यालयस्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।
    खुल्ला कविता लेखन तथा वाचन प्रतियोगितामा ७ जनाको सहभागिता रहेको थियो। प्रतियोगितामा सत्यवती गाउँपालिका–५, गुल्मीका भिमलाल भण्डारी प्रथम, रुरुक्षेत्र गाउँपालिका–४ का कृष्णप्रसाद ज्ञवाली द्वितीय, बेदप्रसाद पन्थ तृतीय तथा रुरुक्षेत्र–२ का माधव ज्ञवाली सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
    विद्यालयस्तरीय कविता प्रतियोगितामा १३ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालय, रुरुक्षेत्र–३ की पृन्सा श्रेष्ठ प्रथम भइन्। त्यसैगरी संस्कृत तथा साधारण माध्यमिक विद्यालय, रुरुक्षेत्र–१ का नरहरी घिमिरे द्वितीय, ज्ञवा बलेटक्सार माध्यमिक विद्यालय, रुरुक्षेत्र–४ की प्रियङ्का ज्ञवाली तृतीय तथा जनबोध माध्यमिक विद्यालय, रुरुक्षेत्र–४/५ की सन्ध्या आचार्यले सान्त्वना स्थान हासिल गरिन्।

    यसै अवसरमा रुरुक्षेत्र गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, घिउँवेसीको आयोजनामा गाउँपालिकाभित्रका विद्यालयहरूको शैक्षिक प्रदर्शनी कार्यक्रम पनि सम्पन्न गरिएको थियो। १० विद्यालय सहभागी रहेको प्रदर्शनीमा सामाजिक अध्ययनतर्फ जनबोध माध्यमिक विद्यालय प्रथम, रेन्बो इङ्गलिस बोर्डिङ स्कुल बलेटक्सार द्वितीय तथा ज्ञवा बलेटक्सार माध्यमिक विद्यालय र रिडी माध्यमिक विद्यालयले संयुक्त रूपमा तृतीय स्थान हासिल गरेका छन्।
    विज्ञान तथा प्रविधितर्फ राष्ट्रिय माध्यमिक विद्यालय, रुरुक्षेत्र–३ प्रथम, जनज्योति माध्यमिक विद्यालय, रिमुवा तथा संस्कृत तथा साधारण माध्यमिक विद्यालय, रिडी संयुक्त रूपमा द्वितीय र ग्वादी माध्यमिक विद्यालय तृतीय भएको छ।
    त्यसैगरी गणित विषयतर्फ राष्ट्रिय माध्यमिक विद्यालय, रुरुक्षेत्र–३ प्रथम, जनबोध माध्यमिक विद्यालय र रेन्बो इङ्गलिस बोर्डिङ स्कुल, बलेटक्सार संयुक्त रूपमा द्वितीय तथा जनज्योति माध्यमिक विद्यालय, रिमुवाले तृतीय स्थान हासिल गरेका छन्।
    गाउँपालिका उपाध्यक्ष मिना देवी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा समितिका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता विकास गर्नुका साथै सिर्जनात्मक सोच, अनुसन्धान र विभिन्न विषयप्रतिको रुचि अभिवृद्धि हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
    कार्यक्रममा विभिन्न विधाका विजेता विद्यार्थी तथा प्रतियोगीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण सामाजिक विकास शाखाका प्रमुख दामोदर ज्ञवालीले गर्नुभएको थियो।

  • सत्यवतीमा अलैची खेती विस्तार : २० हजार बिरुवा रोपियो, किसानको आय बढाउने लक्ष्य

    सत्यवतीमा अलैची खेती विस्तार : २० हजार बिरुवा रोपियो, किसानको आय बढाउने लक्ष्य

    सत्यवतीमा अलैची खेती विस्तार : २० हजार बिरुवा रोपियो, किसानको आय बढाउने लक्ष्य
    चुरामणि तिमिल्सिना   रिडी   असार  १३

    गुल्मीको सत्यवती गाउँपालिका ले किसानको आयआर्जन वृद्धि, बाँझो जमिनको सदुपयोग तथा व्यावसायिक कृषिको विस्तार गर्ने उद्देश्यसहित अलैची खेती प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको छ।
    गाउँपालिकाको आर्थिक लगानीमा वडा नं. ३ र ८ का विभिन्न स्थानमा हालसम्म करिब २० हजार अलैचीका बिरुवा रोपिएका छन्। यस अभियानलाई थप विस्तार गर्दै चालु आर्थिक वर्षभित्र थप १० हजार बिरुवा वितरण गर्ने लक्ष्यसमेत लिइएको गाउँपालिकाले जनाएको छ।
    गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे का अनुसार अलैची उच्च मूल्यमा बिक्री हुने नगदे बाली भएकाले स्थानीय कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको हो। उहाँका अनुसार हाल बजारमा अलैचीको मूल्य प्रतिकिलो करिब २,५०० देखि ३,००० रुपैयाँसम्म रहेको छ।
    अध्यक्ष पाण्डेले एकपटक अलैची रोपेपछि २५ देखि ३० वर्षसम्म निरन्तर उत्पादन लिन सकिने भएकाले यो किसानका लागि दीर्घकालीन आम्दानीको भरपर्दो आधार बन्न सक्ने बताउनुभयो।

    गाउँपालिकामा रामशाही र गोलशाही जातका अलैचीका बिरुवा रोपिएका छन् भने सामूहिक तथा व्यक्तिगत दुवै प्रकारका खेती विस्तार भइरहेको छ।
    गाउँपालिकाले किसानलाई आवश्यक प्राविधिक सहयोग, नियमित अनुगमन तथा कृषि परामर्श उपलब्ध गराउँदै आएको जनाएको छ। यसले किसानमा व्यावसायिक खेतीप्रति उत्साह थपिएको छ भने खाली जमिन उत्पादनशील बन्दै गएको स्थानीयको भनाइ छ।
    सत्यवती गाउँपालिकाले नगदे बालीको उत्पादन विस्तारमार्फत ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने, कृषिलाई सम्मानजनक पेशाका रूपमा विकास गर्ने तथा किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ यस्ता कृषि प्रवर्द्धन कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

  • गुल्मीको रूरूक्षेत्र गाउँपालिकाद्वारा विद्यालयमा ट्याङ्करमार्फत खानेपानी आपूर्ति

    गुल्मीको रूरूक्षेत्र गाउँपालिकाद्वारा विद्यालयमा ट्याङ्करमार्फत खानेपानी आपूर्ति

    गुल्मीको रूरूक्षेत्र गाउँपालिकाद्वारा विद्यालयमा ट्याङ्करमार्फत खानेपानी आपूर्ति
    चुरामणि तिमिल्सिना असार  १२

    रूरूक्षेत्र गाउँपालिकाले खानेपानीको अभाव झेलिरहेको विद्यालयमा ट्याङ्करमार्फत खानेपानी उपलब्ध गराएको छ।
    गाउँपालिका–२ स्थित ग्वादी माध्यमिक विद्यालयमा लामो समयदेखि खानेपानीको समस्या रहेपछि गाउँपालिकाले तत्काल समन्वय गरी ट्याङ्करमार्फत पानी पुर्‍याएको हो।
    दैनिक बढ्दो गर्मीका कारण विद्यालयमा खानेपानीको अभावले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई समस्या भइरहेको जानकारी प्राप्त भएपछि गाउँपालिकाले आवश्यक पहल गरेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो।
    अध्यक्ष ज्ञवालीका अनुसार विद्यालयमा पानी पुगेपछि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू खुसी भएका छन्। गाउँपालिकाले शिक्षा तथा आधारभूत सेवामा कुनै कमी हुन नदिन आवश्यक परेका बेला यस्ता सहयोगलाई निरन्तरता दिने जनाएको छ।

  • सत्यवती गाउँपालिकाको १९औँ गाउँसभाको पहिलो बैठक सम्पन्न

    सत्यवती गाउँपालिकाको १९औँ गाउँसभाको पहिलो बैठक सम्पन्न

    चुरामणि तिमिल्सिना  असार  ११

    सत्यवती गाउँपालिकाको १९औँ गाउँसभाको पहिलो बैठक सम्पन्न

    गुल्मी जिल्लाको सत्यवती गाउँपालिका को १९औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ। गाउँसभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे को अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण प्रतिवेदन तथा विधेयकहरू सभामा प्रस्तुत तथा छलफलका लागि पेश गरेको छ।

    बैठकले विधायन समिति, सुशासन समिति तथा न्यायिक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ।

    साथै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम स्वीकृत गर्दै विनियोजन विधेयक, आर्थिक विधेयक तथा बजेटमाथि छलफल प्रक्रिया अघि बढाएको छ। नीति तथा कार्यक्रममाथि सभाका सदस्यहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको जवाफ सम्बन्धित विषयगत समितिका संयोजकहरूले दिएका थिए।

    नीति तथा कार्यक्रम प्रस्तुतिपश्चात आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६२ करोड ६० लाख रुपैयाँ बराबरको बजेट सभामा पेश गरिएको गाउँपालिका उपाध्यक्ष निरमाया तरामु ले जानकारी दिनुभयो। प्रस्तुत बजेटमा कृषिको व्यावसायीकरण, दूध उत्पादनमा आत्मनिर्भरता, दिगो भौतिक पूर्वाधार विकास तथा शिक्षामा गुणस्तरीय सिकाइ उपलब्धि हासिल गर्ने लक्ष्यलाई प्राथमिकता दिइएको छ।

    सभालाई सम्बोधन गर्दै अध्यक्ष टिकाराम पाण्डेले गाउँपालिकालाई अझ सुशासनमुखी बनाउने, जनअपेक्षाअनुसार बजेट कार्यान्वयन गर्ने तथा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, प्राविधिक शिक्षा, खानेपानी र सडक निर्माणजस्ता क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइने बताउनुभयो। उहाँले विगतका वर्षहरूमा पालिकाले हासिल गरेका उपलब्धिहरू बजेट तथा योजनाअनुसार काम सम्पन्न गर्न सफल भएको उल्लेख गर्दै प्रदेश तथा सङ्घीय सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

    अध्यक्ष पाण्डेले बेरुजु न्यूनीकरण, अधुरा योजनाहरूको शीघ्र सम्पन्नता, गुणस्तरीय शिक्षा प्रवर्द्धन, उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान, कृषि क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन तथा पर्यटन प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन गरिने विषय पनि सभामा प्रस्तुत गर्नुभयो।गाउँसभाको कार्यक्रमको सहजीकरण गाउँसभाका सचिव हरिप्रसाद पौडेल ले गर्नुभएको थियो।

  • सत्यवतीको नीति तथा कार्यक्रम सार्वजनिक : ‘एक गाउँ–एक उत्पादन’देखि ज्येष्ठ नागरिक, कृषि र खानेपानीलाई प्राथमिकता

    सत्यवतीको नीति तथा कार्यक्रम सार्वजनिक : ‘एक गाउँ–एक उत्पादन’देखि ज्येष्ठ नागरिक, कृषि र खानेपानीलाई प्राथमिकता

    चुरामणि तिमिल्सिना   असार  १०

    सत्यवतीको नीति तथा कार्यक्रम सार्वजनिक : ‘एक गाउँ–एक उत्पादन’देखि ज्येष्ठ नागरिक, कृषि र खानेपानीलाई प्राथमिकता

    गुल्मीको सत्यवती गाउँपालिकाको १९औँ गाउँसभाको पहिलो बैठक गाउँपालिकाको सभाहलमा जारी रहेको छ। गाउँसभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ।
    नीति तथा कार्यक्रममा गाउँपालिकाका सबै वडामा उत्पादन वृद्धि गर्ने उद्देश्यले ‘एक गाउँ–एक उत्पादन’ कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ। साथै, “बरु म गर्छु कृषि, कहीँ जान्न देश बिर्सी” भन्ने नारालाई आत्मसात् गर्दै स्वदेशमै कृषि उत्पादन बढाउन बाझो जमिनको उपयोग, चल्लाबन्दी, फलफूल तथा मसला बाली उत्पादनलाई प्रोत्साहन गरिने नीति लिइएको छ।
    कार्यक्रममा बाझो जमिनको यथार्थ विवरण (एकिन) गरी कृषि पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। कृषकलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै उत्कृष्ट कृषकलाई सम्मान गर्ने योजना पनि समावेश गरिएको छ।
    धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने र आवश्यक स्थानमा पाहुनाघर (गेस्ट हाउस) निर्माण तथा सञ्चालनलाई समेत प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख छ।
    स्वास्थ्य क्षेत्रतर्फ “स्वस्थ नागरिक, समृद्ध सत्यवती” भन्ने नारालाई आत्मसात् गर्दै ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। यसअन्तर्गत ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर तथा विभिन्न सेवा–सुविधामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
    त्यसैगरी, ‘गर्भवती तथा सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रमलाई पनि विगत वर्षझैँ निरन्तरता दिइने नीति कार्यक्रममा उल्लेख गरिएको छ।
    खानेपानी क्षेत्रलाई प्राथमिकतामा राख्दै “खानेपानी सेवा पालिकाको अभिभारा” अवधारणाअनुसार मिटर सहितको ‘एक घर–एक धारा’ कार्यक्रमलाई निरन्तर अगाडि बढाइने भएको छ।
    वातावरण संरक्षणका लागि सडकका दायाँ–बायाँ वृक्षारोपण गरी सडकलाई हरियाली बनाउने योजना समेत नीति तथा कार्यक्रममा समेटिएको छ।
    गाउँपालिकाका कर्मचारीलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन तथा पुरस्कार प्रदान गर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ।
    गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ। आगामी आर्थिक वर्षमा कृषि, स्वास्थ्य, खानेपानी, पर्यटन, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

  • सत्यवती गाउँपालिकाको १९औँ गाउँसभा सुरु, अध्यक्ष पाण्डेद्वारा वार्षिक उपलब्धि सार्वजनिक

    सत्यवती गाउँपालिकाको १९औँ गाउँसभा सुरु, अध्यक्ष पाण्डेद्वारा वार्षिक उपलब्धि सार्वजनिक

    सत्यवती गाउँपालिकाको १९औँ गाउँसभा सुरु, अध्यक्ष पाण्डेद्वारा वार्षिक उपलब्धि सार्वजनिक

    बेरुजु घटाउनेदेखि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र उद्यम विकासका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको दाबि

    चुरामणि तिमिल्सिना  असार  १०

    । गुल्मीको सत्यवती गाउँपालिका को १९औँ गाउँसभाको पहिलो बैठक सुरु भएको छ। गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष टिकाराम पाण्डे ले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत वर्ष सम्पन्न भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ।
    अध्यक्ष पाण्डेका अनुसार गाउँपालिकाले बेरुजु न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। कृषि क्षेत्रको विकासका लागि कृषक तालिम सञ्चालन, फलफूलका बिरुवा वितरण, नमूना कृषि फर्म स्थापना तथा दुग्ध उत्पादन वृद्धि गरेका किसानहरूलाई गाई वितरण र सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिएको छ।
    त्यस्तै उद्यमी विकास कार्यक्रममार्फत स्थानीय स्तरमा स्वरोजगार प्रवर्द्धन गरिएको, शिक्षक बैंक स्थापना गरिएको तथा विभिन्न शीर्षकअन्तर्गत छात्रवृत्ति वितरण गरिएको जानकारी दिइएको छ। नागरिक आरोग्य केन्द्र सञ्चालनसँगै विभिन्न स्वास्थ्य शिविरमार्फत नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो।
    गाउँपालिकाले आर्थिक सहायता कार्यक्रम, लोकसेवा तयारी कक्षा सञ्चालन तथा बालश्रममुक्त वडा घोषणा गर्ने तयारी समेत पूरा गरेको जनाएको छ। यसका साथै सडक व्यवस्थापन, खानेपानी सुधार, भौतिक पूर्वाधार निर्माण, मन्दिर तथा बगैँचा निर्माण लगायतका विकास निर्माणका कार्यहरू सम्पन्न भएको बताइएको छ।
    बैठकमा गाउँसभाअन्तर्गतका विभिन्न समितिका संयोजकहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभासद्हरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको सम्बन्धित पदाधिकारीहरूले जवाफ समेत दिनुभएको थियो।
    गाउँसभामा आगामी आर्थिक वर्षका योजना, कार्यक्रम तथा बजेटबारे थप छलफल जारी रहेको गाउँपालिकाले जनाएको छ।

  • गुल्मीको सत्यवती गाउँपालिकामा कपडा बैंक सञ्चालन, ४९१ जनालाई न्यानो कपडा वितरण

    गुल्मीको सत्यवती गाउँपालिकामा कपडा बैंक सञ्चालन, ४९१ जनालाई न्यानो कपडा वितरण

    गुल्मीको सत्यवती गाउँपालिकामा कपडा बैंक सञ्चालन, ४९१ जनालाई न्यानो कपडा वितरण

    चुरामणि तिमिल्सिना   रिडी असार  ८

    गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा कपडा बैंक सञ्चालनमा ल्याइएको छ। साथै आवश्यकतामा रहेका ४९१ जना नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ।
    गाउँपालिका अध्यक्ष टिकराम पाण्डेयको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निरमाया तरामी, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पौडेल, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, कपडा बैंकका संस्थापक कमल जी.सी. तथा सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष निरमाया तरामीले स्वागत मन्तव्य व्यक्त गर्दै कपडा बैंकको अवधारणाले विपन्न तथा आवश्यकतामा रहेका परिवारहरूलाई प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो। उहाँले सत्यवती गाउँपालिकामा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम अत्यन्तै उपयोगी रहेको उल्लेख गर्नुभयो।कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टिकराम पाण्डेयले विदेश भ्रमणका क्रममा कपडा बैंकको सेवाको प्रयोग गरेको अनुभव सुनाउँदै यसको अवधारणा अत्यन्तै प्रभावकारी र उदाहरणीय रहेको बताउनुभयो। उहाँले घरमा प्रयोगमा नआएका तर प्रयोगयोग्य कपडाहरू दान गरी अभियानलाई थप प्रभावकारी बनाउन स्थानीयवासीहरूलाई आग्रह गर्नुभयो।

    कपडा बैंकमार्फत संकलित कपडाहरू आवश्यकतामा रहेका नागरिकसम्म निःशुल्क उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस अभियानले पुनः प्रयोगको संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै सामाजिक सहकार्य र मानवीय सेवाको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
    कार्यक्रममा ४९१ जना आवश्यकतामा रहेका नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो।

  • कमल शर्मा फाउन्डेसनद्वारा सरस्वती माविलाई ८ लाख सहयोग, २३५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    कमल शर्मा फाउन्डेसनद्वारा सरस्वती माविलाई ८ लाख सहयोग, २३५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    कमल शर्मा फाउन्डेसनद्वारा सरस्वती माविलाई ८ लाख सहयोग, २३५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    चुरामणि तिमिल्सिना  रिडी जेष्ठ  ७

    गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–६, जोहाङस्थित सरस्वती माध्यमिक विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक वातावरण सुधारका लागि कमल शर्मा फाउन्डेसनले रु. ८ लाख आर्थिक सहयोग प्रदान गरेको छ।
    विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच फाउन्डेसनकी सञ्चालक सरिता शर्मा आचार्यले विद्यालयलाई रु. ८ लाखको चेक हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा बोल्दै आचार्यले आफूले यसै विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गरेको स्मरण गर्दै पछिल्ला पुस्ताका विद्यार्थीहरूले अझ व्यवस्थित र सुविधासम्पन्न भवनमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो।
    उहाँले समाजमा जन्म लिएपछि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै शिक्षा, स्वास्थ्य, धार्मिक तथा अन्य सामाजिक क्षेत्रमा सहयोग गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो। यस्ता रचनात्मक कार्यमा जोडिन पाउँदा आफूलाई गर्व लागेको समेत उहाँले बताउनुभयो।
    आचार्यले आफ्ना स्वर्गीय श्रीमान्ले जीवनभर सामाजिक सेवामा पुर्‍याउनुभएको योगदानलाई निरन्तरता ,उहाँकै सपना पुरा गर्नका लागि फाउन्डेसनमार्फत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिनुभयो। विद्यालयमा आवश्यक पूर्वाधार तथा अन्य संरचनाको अभाव रहेमा आगामी दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
    विद्यालयका प्रधानाध्यापक छविलालभण्डारी का अनुसार केही वर्षअघि सरिता शर्मा आचार्यको परिवारले स्वर्गीय बुबा हेमलाल आचार्यको स्मृतिमा विद्यालयमा रु. १ लाखको अक्षयकोष स्थापना गरेको थियो।
    यसै अवसरमा 1 Step Foundation को सहयोगमा विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका २३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो। फाउन्डेसनले शिक्षा लगायत विभिन्न सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो।
    समारोहका प्रमुख अतिथि तथा सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले विदेशमा रहेका नेपाली दिदीबहिनीहरूले शिक्षा क्षेत्रको विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। पालिकाको सीमित स्रोतसाधनका बीच विद्यालयको भौतिक विकासमा यस्ता सहयोगले ठूलो टेवा पुग्ने उहाँको भनाइ थियो। कार्यक्रम शिक्षा प्रेमि , अभिभावक विशिष्ट ब्याक्तित्व पुर्व बिद्यार्थी तथा स्थानीयको सहभागीता रहेको थियो।
    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविलाल भण्डारी ले सहजीकरण गर्नुभएको थियो भने मनिराम गौतमको स्वागत मन्तव्य रहेको समारोह विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष होमबहादुर गुरुङको अध्यक्षता तथा शिक्षक श्रीधर गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।
    कार्यक्रमकै अवसरमा विद्यालयको विकास तथा शैक्षिक उन्नयनमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई विद्यालयले सम्मान समेत गरेको थियो।