Category: समाचार

  • रैनादेवि छहरामा तीन दिने अचार  बनाउने  तालिम सकियो

    रैनादेवि छहरामा तीन दिने अचार बनाउने तालिम सकियो

    रैनादेवी छहरा गाउँपालिका महिला सिप विकास कार्यक्रमअन्तर्गत तीन दिने अचार तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोगमा, रैनादेवी छहरा गाउँपालिकाको समन्वय र मितिनी नेपालद्वारा आयोजित उक्त तालिममा ६० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।

     

    तालिमको गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले तालिमको औपचारिक समापन गर्दै यस्ता सीपमूलक कार्यक्रमहरू महिलाको आत्मनिर्भरता र आर्थिक सशक्तिकरणका लागि महत्वपूर्ण हुने बताउनुभयो । स्थानीय स्रोत र सीपको उपयोग गर्दै अचार उत्पादन जस्ता गृह उद्योगको माध्यमबाट महिलाले आर्थिक उन्नति गर्न सक्ने हुदा तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गरि उधम बन्न आग्रह गर्नुभयो । साथै गाउपालिकाले उधमीहरूलाई गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो ।

     

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, सूचना अधिकृत नारायण मल्ल, कृषि शाखा प्रमुख सिर्जना थापा, वडा प्रतिनिधिहरू तथा मितिनी नेपालका प्रतिनिधिहरू सानीमाया हिस्की, दुर्गा राना, रविता राना, निरु आले लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

     

    तालिमको सञ्चालन मितिनी नेपालकी कोषाध्यक्ष शान्ति झेडी थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष रञ्जना अर्यालले राख्नुभएको थियो। कार्यक्रम मितिनी नेपालकी अध्यक्ष सुनिता राणाको अध्यक्षतामा सम्पन्न भएको हो।

     

    तालिममा सहभागी महिलाहरूले विभिन्न प्रकारका अचार बनाउने सीप सिक्नु भएको थियो ।। उहाहरूले सिकेको ज्ञान र सीपलाई प्रयोगमा ल्याई घरायसी तथा व्यावसायिक रूपमा उपयोग गर्ने योजना बनाएको बताउनुभएको थियो । कार्यक्रमले महिलाहरूमा स्वरोजगार र उद्यमशीलता विकासमा सकारात्मक प्रेरणा दिएको सहभागीहरूको प्रतिक्रिया थियो।

  • कोटीहोम समापन, ४० लाख ५० हजार भन्दा बढी  भक्तजन सहभागी

    कोटीहोम समापन, ४० लाख ५० हजार भन्दा बढी भक्तजन सहभागी

    पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।
    कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।
    कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए ।
    संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने प्रण गरे । समापन कार्यक्रममा कोटीहोम सम्पन्न गर्न सघाउने सबैप्रति आभार व्यक्त गरे ।
    समापनमा कोटीहोमका सहसंयोजक युवक लामिछानेले गणतन्त्रभित्र हिन्दू राज्य घोषणा हुनुपर्नेमा जोड दिए । उनले मामाघर अनाथ आश्रम बनाउनका लागि पाँच लाख, कोटीहोमका लागि एक लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
    कोटीहोममा आयोजित रक्तदानमा नौ सय छ युनिट रगत संकलन भएको छ । साथै कोटीहोममा हालसम्मकै ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियोगिता तथा वक्तृत्वकला भएको थियो ।
    जेठ २६ गते पूर्णाहूति भएको हवनमा चार सय ब्राम्हणद्वारा एक करोड ५० लाख हवन भएको थियो ।
    कोटीहोममा पाँच सय २५ जनाको आयोजित ब्रतवन्ध, एक सय २० जनाको तुलादान, एक सय ३५ जनाको चौरासी पूजा, एक सय ४६ जनाको नवग्रह शान्ति, १४ जनाको काल सर्प योग पूजा, पाँच जनाको अर्क विवाह, अष्ट महादान चार, पितृको अर्चना ३३, लघु रुद्री पाँच, अति रुद्री १८, विवाह एक, गुन्यू चोली पाँच, लाखवत्ती सेवा २२ अन्य पूजा ४५ जनाले गरेको प्रचारप्रसार संयोजक लोकराज ढकालले जानकारी दिए ।
    कोटीहोमको हवन पूर्णाहूतिमा २१ करोड दीप प्रज्ज्वलन गरिएको थियो । कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार आठ नरिवल अर्पण गरिएको थियो । अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गरेका थिए ।
    हवन कुण्डमा वैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश, ७ बजेर १९ मिनेटमा अग्निमा समीधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी शुरु भएको थियो ।
    कुण्डमा तीन, तीन जना ब्राम्हणले हरेक दिन भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । कोटीहोममा एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राम्हणले पाठ गरेका थिए ।
    प्रचारप्रसार संयोजक ढकालका अनुसार कोटीहोममा भागवत मञ्जरी राधिका दासी, अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, अनुराधा पाण्डे, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरेका थिए ।
    कोटीहोम पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा वैशाख १७ देखि जेठ ३१ सम्म सञ्चालन भएको थियो । यसअघि कोटीहोम जेठ २६ गते समापन हुने भनिए पनि भक्तजनको चापका कारण समयावधि थप भई ३१ गतेसम्म सञ्चालन भएको थियो ।
    कोटीहोम समापनसँगै भागवत मञ्जरी राधिका दासीको भव्य बिदाई गरिएको छ । दासीले जेठ १७ देखि समापनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन् । दासीको बिदाईमा कोटीहोममा सहभागी सबै भावविह्वल भएका थिए ।

  • कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण  

    कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण  

    कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ ।

    गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार अव केही जल सहितको कलश रहेको हुनाले सचिवालयमा सम्पर्क गरेर भक्तजनले लैजान सक्नेछन् ।

    धेरैजसो भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने कतिपय भक्तजनले हवन समापन पछि पैसा तिरेर जल सहितको कलश लिएर गएका हुन् ।  एउटा कलशको १ हजार ३ सय र दुई वटा लैजाँदा २ हजार ५ सय रुपैयाँ लाग्ने छ । कोटिहोममा ११ हजार शोभा कलश यात्रा गरिएको थियो ।

    यज्ञको पूर्णाहुतिसँगै आजबाट भष्म र तिलक वितरण गर्ने भनिएता पनि लामो समयको होमनका कारण तातो भएर वितरण गर्न सकिएको थिएन । अव ३१ गते नै इट्टा, भष्म र तिलक सहित प्रसाद वितरण गरिने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ ।

    कोटिहोममा आज भागवत मञ्जरी राधिका दासीले सहभागिता भक्तजनलाई प्रसाद वितरण गरेकी थिइन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले गण्डकी कोटिहोममा यही जेठ ३१ गते सम्म प्रवचनात्म कार्यक्रमहरू भइरहेको हुँदा विश्वविख्यात कथा वाचक वाचिकाहरुको मुखारविन्दबाट अमृतरूपी कथा श्रवणपान गर्न नछुटाउन सबैलाई आग्रह गरे ।

    गत सोमबार चर्चित धर्मगुरु कालिदास बाबा (काली बाबा) ले यज्ञको पूर्णाहुति गरेसँगै कोटिहोमको विधिवत् यज्ञ पूर्णाहुतिको साथसाथै फूलपाती विसर्जन र भगवान् मुक्तिनाथको पूजा अर्चना गरी अनुष्ठान पक्ष समापन गरिएको महायज्ञका निर्देशक शङ्कर खरालले जानकारी दिए।

    उनले फूलपाती विसर्जनमा यज्ञका आचार्य मण्डल, कर्ताहरू र घोरपझोङ गाउँ पालिका मुस्ताङ प्रमुख मोहन सिंह लालचन र मुक्तिनाथ गाउँ पालिकाका प्रमुख  प्रशाकिय अधिकृत युवराज अधिकारी, कागवेनी र मुक्तिनाथ धार्मिक समिति  लगायत सबै सबैमा आभार धन्यवाद व्यक्त गरे ।

    यसै गरी आज नै आचार्य गुरुहरूलाई बिदाइ पछि यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीले बौद्धिक मन्त्र जप सहित हवनको प्रसाद स्वरूप महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज माला प्रदान गरे । त्यस क्रममा यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीले हाम्रो जीवनकालमा प्राय असम्भव हुन यो कोटिहोमको जति नै तारिफ गरे नि कम हुने बताए ।

    ‘४ सय व्राह्मणलाई एकै ठाउँमा एउटै आचरणमा राख्नु काम चानेचुने थिएन’ उनले भने,‘ यज्ञ यत्र तत्र सर्वत्र हुन्छ, एउटा सङ्कल्पकर्ताले गरेको हामी प्रतिको सच्चा श्रद्धाले हामीलाई भाव विह्वल बनाएको छ ।’ कोटिहोममा आचार्य ब्राह्मण, सहयोग गर्ने सङ्घ संस्था, भजन समूह वाद्यवादन समूहलाई सम्मान सहित बिदाइ गरिएको थियो ।

    महायज्ञ सम्म पनि मानव सेवा फाउन्डेसनलाई सहयोग गरी मानवीय सेवा जोडिन सकिने भएकोले पनि छुटेका भक्तजनलाई सचिवालयमा आएर सम्पर्क गर्न मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । कोटिहोममा भक्तजनले आर्थिक सँग जग्गा दान पनि गरेका छन् ।

    भागवत मञ्जरी राधिका दासीले कोटिहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१  गतेसम्म सञ्चालन हुनेछ ।

  • जुनियर युवा रेडक्रस गोष्ठि निन्युखर्क मावी हाडहाडेमा सम्पन्न

    जुनियर युवा रेडक्रस गोष्ठि निन्युखर्क मावी हाडहाडेमा सम्पन्न

    निन्यु खर्क माध्यिक विधालय धुर्कोट गाउँपालीका ३ हाडहाडे गुल्मीमा जुनियर युवा रेडक्रस गोष्ठि सम्पन्न भएको छ , निन्यु खर्क माध्यिमिक बिद्यालय धुर्कोट गाउपालीका ३ हाडहाडेको सभाहल मा गरिएको कार्यक्रममा नेपाल जुनियर युवा रेडक्रस धुर्कोट उपशाखाका सदस्य दामोदर घिमिरेका अध्यक्ष्ता ,धर्कोट गाउँपालीका अध्यक्ष भुपाल पोखरेलको प्रमुख आथित्यता ,रहेको थियो यस्तै धुर्कोट गाउपालीका वडा न्र ३ का अध्यक्ष पदम बहादुर बिष्ट नेपाल रेडक्रस जिल्ला कार्यसमिती सरस्वति भण्डारी,कार्यपालीका सदस्य, वडा सदस्उहरु धुर्कोट गाउपालीका का सम्पुर्ण बिद्यालयका प्र तथा प्रतिनिधि बिधार्थी लगाएतको उपस्थिती रहेको थियो निन्यु खर्क माध्यमिक बिध्यालयका प्राध्यापक कृष्ण बिष्टको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन  शिक्षक असिम जिसीले गर्नू भएको थियो

  • कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

    कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

    कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति  गरेका हुन् ।

    अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट दिल्ली हुँदै काठमाण्डौं सम्मको लामो यात्रा गरेर यज्ञको पूर्णाहुति भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।

    ‘यज्ञको पूर्णाहुति कसबाट गर्ने भन्ने भएको थियो । समय छोटो थियो तर यति लामो यात्र गरेर यज्ञ पूर्णाहुति गर्न आउनुभयो यहाँ प्रति आभारी छौ’ उनले भने, ‘काली बाबाको कोटिहोम उपस्थिति यज्ञ प्रवित्र वनेको छ ।’

    यज्ञको पूर्णाहुति गर्न आएका काली बाबाले महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई यज्ञ संम्राटको उपमा दिए । ‘यति ठूलो कोटिहोम न हिजो भयो न भोलि हुन्छ त्यो हिम्मत साथ बालयोगेश्वर गर्नुभयो’ उनले भने ‘यज्ञ संम्राट यज्ञ महापुरुषको रूपमा स्थापित हजुरलाई म कोटि कोटि नमन गर्दछु ।

    यज्ञको पूर्णाहुति गरिएसँगै होमन लगायतका पाठ परायणका सम्पूर्ण कार्य आज देखि नै समापन भएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकाललाई जानकारी दिए ।  उनका अनुसार कोटीहोममा सहभागी भएका चार सय बढी ब्राम्हणलाई पनि सम्मानका साथ आज नै बिदाइ गरिएको छ ।  साथै व्रतबन्ध, चौरासी पूजासहित अन्य सम्पूर्ण कर्म पनि आज नै समापन भएको छ ।

    गते महिना वैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेशे, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी  सुरु भएको हवन कुण्डको आज पूर्णाहुति गरिएको हो ।

    हवन कुण्डमा ३÷३ जना ब्रामणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । कोटी होममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्रामणले पाठ गरेका थियो । महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गरिएको थियो ।

    यज्ञको पूर्णाहुतिसँगै भोलि देखि तिलक र भस्म वितरण गरिने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । उनका अनुसार यज्ञमा राखिएका जल सहितका कलश पनि बुकिङ गरेकाले भोलि देखि नै घरमा लैजान पाउनेछन् ।

    यसै गरी मानव सेवा फाउन्डेसनलाई सोमबार पोखरावासीले जग्गा दान गरेका छन् । पोखरामा मानव सेवा फाउन्डेसनको भवन निर्माण गर्ने उद्देश्य सहित पोखरा–५ प्रस्याड् निवासी गंगा केसीको परिवारले २ रोपनी जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । त्यस स्थानमा आश्रम बनाएमा अझै जग्गा थप गर्ने केसीले जानकारी दिइन् । कोटिहोममा अहिले सम्म ३० लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् ।
    कोटिहोममा नेपाल वैद्धिक महर्षी फाउन्डेसनका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्य मन्त्री दीपक प्रसाद वास्कोटा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले, मोटिभेटर विश्वराज गौतमले कोटिहोमले एकताको सन्देश दिएको बताएका थिए ।

    भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए ।

    पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१  गतेसम्म सञ्चालन हुनेछ ।

  • सत्यवतीमा स्थापना गरियो आत्मलक्ष्मी मानवकल्याण प्रतिष्ठान

    सत्यवतीमा स्थापना गरियो आत्मलक्ष्मी मानवकल्याण प्रतिष्ठान

    चुरामणि तिमिल्सिना  जेष्ठ२६रिडी

    गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नम्बर ६ जोहाङ्ग गुल्मीमा आत्मक्ष्मी मानव कल्याण प्रतिष्ठान को शनिबार एक औपचारिक समारोहका बीच आफ्नै निवासमा प्रतिष्ठानको उद्घाटन गरिएको हो। बि .स २०७८ साल जेष्ठ १३ गते महामारी कोभिड १९ को कारणले मृत्यु हुनु भएका सत्यवती ६ जोहाङ्ग निवासी स्व. आत्माराम भण्डारीको सम्झनामा प्रतिष्ठान स्थापना गरिएको उहाँकी धर्मपत्नी , प्रतिष्ठानकी अध्यक्ष तथा कार्यक्रमकी अध्यक्ष लक्ष्मी शर्मा भण्डारीले जानकारी दिनुभयो। स्व. भण्डारी सत्यवती बहुमुखी क्याम्पस सत्यवती ५ हँसरा गुल्मीका क्याम्पस प्रमुख तथा सत्यवती मावि का सहायक प्रधानाध्यापक समेत रहँदै आफ्नो कार्यसम्पादन गर्दै आउनुभएको थियो।

    उहाँ समाजको एक अगुवा व्यक्तित्वको रुपमा तथा शिक्षा क्षेत्रको नक्षत्रको रुपमा समेत रहँदै आउनुभएको थियो। औपचारिक रूपमा उद्घाटन गरिएको कार्यक्रमका प्रमुख अतिथि सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे रहनुभएको थियो। यस्तै पालिका उपाध्यक्ष निरमाया तरामु पूर्व पालिका अध्यक्ष पारिश्वर ढकाल को विशिष्ट आतिथ्यता रहेको थियो। यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष पिताम्बर ज्ञवाली , वडा नम्बर ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली , ६ कार्यवाहक वडा अध्यक्ष छविलाल भट्टराई वडा नं ५ का वडा सदस्य ऋषिराम भण्डारी विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, बौद्धिक वर्ग ,समाजसेवी लगायतको आतिथ्यता रहेको थियो।

    कार्यक्रममा प्रमुख अतिथि पालिकाका अध्यक्ष पाण्डेले स्व भण्डारीको स्मरण गर्दै समाजमा अमर गराउन समाजमा नयाँ कार्यको सुरुवात गर्नुभएकोमा धन्यवाद दिँदै स्व. आत्माराम भण्डारीले समाज र शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सत्यवती गाउँपालिका भित्रका मात्र नभई नेपालभरि यसले सदस्यता लिन सक्ने योजना बनाई अगाडि भन्न आग्रह समेत गर्नुभयो। उहाँले प्रतिष्ठानको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो र आफू पनि यस प्रतिष्ठानको आजीवन सदस्य भन्ने घोषणा गर्नुभयो।
    यस्तै विशिष्ट अतिथि उपाध्यक्ष निर्माया तरामु र पूर्व अध्यक्ष पारिश्वर ढकालले प्रतिष्ठान यस स्थानीय तहमा पहिलो भएकाले सबैले साथ दिई अगाडि बढाउन आग्रह गर्दै स्व. भण्डारीले शिक्षा क्षेत्रमा परिवर्तन गर्न क्याम्पस सञ्चालन गर्न दिनुभएको योगदानको चर्चा समाजले कहिले पनि नभुल्ने बताउँदै यसलाई माथि उकास्नका निम्ति सबैले तह र तप्काबाट सदस्यता विस्तार गर्न लाग्नुपर्ने भनाइ व्यक्त गर्नुभयो। यस्तै कार्यक्रममा वक्ताहरूले स्व.आत्माराम भण्डारीले शिक्षामा मात्र नभई स्वास्थ्य खानेपानी भौतिक पूर्वाधार जनचेतनामूलक कार्यक्रम विभिन्न जानकारीमूलक विषयवस्तुका बारेमा समेत आवश्यकता अनुसार सहजीकरण पनि गर्दै आएको र यो क्षेत्रलाई अगाडि बढाउनका निम्ति योगदान गरेकोमा सदैव सम्झने र स्मृतिमा कार्यक्रम समेत आवश्यक भएकोले कार्यक्रमलाई निरन्तरता दिनका लागि समेत प्रतिष्ठान र उहाँको परिवारलाई आग्रह गर्नुभयो। प्रतिष्ठानलाई चलायमान गराउनका निम्ति ९ सदस्य कार्यसमिति समेत चयन गरिएको छ।

    जसको अध्यक्षमा स्व. आत्माराम भण्डारीकी श्रीमती लक्ष्मी शर्मा भण्डारी उपाध्यक्षमा हरिप्रसाद भण्डारी सचिवमा विकास ढकाल कोषाध्यक्षमा लक्ष्मण ढकाल सहसचिव रामप्रसाद भण्डारी हराउनुभएको छ। यस्तै यादव भण्डारी कृष्णप्रसाद भण्डारी छविलाल भण्डारी सदस्य रहनुभएको छ यस्तै यस संस्थालाई जीवन्त राख्न साँचिका निम्ति तीन सदस्य समिति गठन समेत गरिएको छ। जसमा विष्णुप्रसाद भण्डारी देवीप्रसाद भण्डारी र बाबुराम ज्ञवाली रहनुभएको छ। यस्तै प्रतिष्ठानलाई संरक्षण गराउनका निम्ति संरक्षण समिति समेत तय गरिएको छ जसमा यज्ञमूर्ति भण्डारी गुरुप्रसाद भण्डारी टिकाराम पाण्डे नेत्रपाठक र बलराम शर्मा गैरे रहनु भएको छ ।। यस्तै प्रतिष्ठानमा पाँच सदस्य सल्लाहकार समिति समेत चयन गरिएको छ जसमा देवीप्रसाद भण्डारी, विष्णुप्रसाद भण्डारी ,सदस्य पारिश्वर ढकाल ,सदस्य ओमप्रकाश भण्डारी, विष्णुप्रसाद भण्डारी रहनुभएको छ।

    शर्मा भण्डारीले कार्यक्रममा आफ्ना भनाई व्यक्त गर्दै आफू यो संसारमा रहँदासम्म कि प्रतिष्ठानलाई जीवन्त राख्नका निम्ति आफूले आर्जन गरेको रकम यी प्रतिष्ठानमा राख्ने आफूले सक्दो सहयोग हरेक विद्यालयको अक्षय कोष स्थापनामा प्रदान गर्ने योजना पनि अगाडि सारेको बताउनुभयो अहिले पनि सत्यवती माध्यमिक विद्यालय मा मात्र नभई सत्यवती गाउँपालिका भित्रका मा वि तहका सबै विद्यालयमा स्थापना गरेको बताउँदै केही आधारभूत तहमा पनि प्रदान गरेको बताउनुभयो उहाँले आफूले पढेको विद्यालय चन्द्रकोटका दुई विद्यालयमा समेत अक्षयकोष स्थापना गर्नुभएको छ।

    उहाँ थ्प्दै भनुहुन्छ कि आत्माले शान्ति पाओस् भन्ने आशाका साथ तारकेश्वर धाम रुद्रेवेणीमा भण्डारा सञ्चालन गरेरिरहेकी छु। श्रीमानले पढाउने विद्यालयमा विद्यार्थी छात्रवृत्तिका लागि दुई लाख र उहाँकै सम्झनामा कार्यक्रम सञ्चालन गर्नका निम्ति रु ५ लाख अक्षय कोष समेत विद्यालयमा खडा गरेको गरेकोउहाँको भनाइ रहेको छ ।कार्यक्रमको सहजीकरण सचिव बिकास ढकालले गर्नु भएको थियो ।

  • पाल्पाको अर्गलीमा सचेतना  जगाउदै  सरसफाइ कार्यक्रम  सम्पन्न

    पाल्पाको अर्गलीमा सचेतना जगाउदै सरसफाइ कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना  रिडी जेष्ठ  २४

    पाल्पाको अर्गलीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। विश्व वातावरण दिवस २०८२ को पावन अवसरमा कुमारी बैंक लिमिटेड शाखा कार्यालय तानसेन पाल्पा, रिडी शाखा गुल्मी, र अर्गली शाखाले संयुक्त रुपमा पाल्पाको अर्गलीमा सरसफाई कार्यक्रम आयोजना गरेको हो। तीनवटा शाखा मिलेर आयोजना गरिएको कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पाल्पाका वडाध्यक्ष शोभाकार भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो।

    सरसफाई कार्यक्रममा सामाजिक व्यक्तित्व तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईको विशिष्ट आतिथ्यता रहेको थियो। एक महिने सडक तथा सार्वजनिक क्षेत्र सरसफाई जागरण कार्यक्रम अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको कुमारी बैंक लिमिटेड पाल्पा शाखाका प्रबन्धक रमेश लामिछानेले बताउनुभयो।

    प्रबन्धक लामिछाने कार्यक्रम माथि प्रकाश पार्दै आफ्नो गाउँ टोल छरछिमेक बस्ती बजार टोल गल्दी धार्मिक पर्यटन क्षेत्र पार्टी पौव सार्वजनिक स्थलहरू मा नियमित सरसफाई हुनुपर्ने भएकोले सबैको साथ र सहयोग लाई मिलाई बैंकले अगुवाई गरेको कार्यक्रमले सबैलाई प्रत्यक्ष फाइदा पुग्ने हुँदा स्थानीय टोलटोलमा बैंकले कार्यक्रम आयोजना गरेको बताउँदै नगरपालिका वडा नम्बर १ देखि वडा नम्बर १४ सम्मका सबै वडाहरूमा यो कार्यक्रम आयोजना गरिने बताउनुभयो।सरसफाइ कार्यक्रममा निश्चित स्थानमा मात्र फोहोर व्यवस्थापन गर्न समेत टोलीले आग्रह गरेको हो।

    सरसफाई कार्यक्रममा रिडी शाखाका प्रबन्धक भिष्म ज्ञवाली यस्तै अर्गली शाखाकी दिपा श्रेष्ठ शाखाका कर्मचारीहरु प्रहरी चौकी अर्गली पाल्पाको टिम स्थानीय व्यापारीहरु बौद्धिक वर्ग स्थानीय बासिन्दाहरु लगायतको उपस्थितिमा कार्यक्रम अगाडि बढेको थियो। पाल्पाको अर्गली बजार क्षेत्रलाई सुन्दर र सफा राख्नका निम्ति यहाँको बजार व्यवस्थापन समिति वडा समिति ,प्रहरी चौकी आमा समूह ,संघ संस्था ,वित्तीय कारोबार गर्ने संस्थाहरू ले यसको चासो दिनुपर्नेमा निरन्तरता पाओस् भन्ने शुभकामना परशुराम भट्टराईले व्यक्त गर्नुभयो। नगरलाई सफाइ राख्न नगरपालिकाले चालेको कदम लाई पनि सहयोग पुर्याउन प्लास्टिक अन्य फोहोर मैला समाप्त पार्ने अभियानमा निरन्तर दिनु पर्नेमा सहभागीले धाराणा व्यक्त गरेका थिए।

  • राधिका दासीले कोटीहोममा सहयोग गर्ने, आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

    राधिका दासीले कोटीहोममा सहयोग गर्ने, आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञकी प्रमुख कथा वाचिका एवं भागवत मञ्जरी राधिका दासीले दुई लाख ५१ हजार एक सय ५१ रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन् । उनले उक्त रकम शनिबार हस्तान्तरण गर्ने प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पुर्‍याइएको हो ।

    दासीको कथा श्रवण गर्न कोटीहोममा भक्तजन ओइरिएका छन् । कोटीहोममा हालसम्म २३ लाख ५० हजार भक्तजन सहभागी भएको आयोजकको दावी छ । शनिबार २१ करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेकाले तीन लाख ५० हजार बढी भक्तजन सहभागी हुने आयोजकको अपेक्षा छ ।

    शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे दीप प्रज्ज्वलन गरिने मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले थापाले जानकारी दिए । आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरिएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ ।

    शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेल्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए ।

    शनिबारका लागि विभिन्न जिल्लाबाट भक्तजन बोकेर तीन सय पाँच वटा गाडी पोखरा भित्रिसकेको उनको भनाइ छ । अन्य दिनको तुलनामा शनिबार ऐतिहासिक हुने उनको दावी छ ।

    हालसम्म करिब सात करोड रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।

  • आज घरका मठमा तुलसीको बीउ राखिँदै

    आज घरका मठमा तुलसीको बीउ राखिँदै

    काठमाण्डौ – वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल अर्थात बीउ राख्दै छन् । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।

    यस दिन रोपेको बीउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ ।

    यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारसमेतमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानसमेतले प्रमाणित गरेको छ । यस अवसरमा देशभरका नारायणस्थान एवम् विष्णु मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।

  • कोटिहोममा चित्रकार र कविको जमघट 

    कोटिहोममा चित्रकार र कविको जमघट 

    कोटिहोममा चित्रकार र कविको जमघट

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज देशभरबाट चित्रकार र कविको जमघट भएको छ ।

    कोटिहोमको दर्शन सँगै यहाँको अवस्थाको चित्रण र कविता माध्यबाट सन्देश दिन देशभरबाट चित्रकार कवि आएका महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    कोटिहोमम आएका चित्रकार र कविहरूले आफ्नो कलाको माध्यमबाट कोटिहोमको वर्णन गरेका थिए । कोटिहोममा आएका चित्रकारहरूले कोटिहोममा देखिएका दृश्य, धार्मिक पुरातात्त्विक सम्पदा, देवी देवताहरूको चित्र कलात्मक ढङ्गले कोरेका थिए । चित्रकलाले कोटिहोममा आएका भक्तजनलाई आकर्षित गरेको थियो ।

    देशभरबाट आएका चित्रकारहरूको संयोजन गरेका श्याम फूयालले कोटहोममा कोरिएका चित्रहरू मानव सेवा फाउन्डेसनलाई प्रदान गर्ने जानकारी दिए । यसै गरी कोटिहोममा सहभागी कविहरूले श्रुतीमधुर स्वरमा सनातन हिन्दु धर्म संस्कृतिका बारेमा उजागर गरेका थिए ।

    कोटिहोममा आज नेपालकी कान्छी वाचीका देवी अनुराधा पाण्डेयको उपस्थिति रहेको छ । कोटिहोमको औपचारिक सुरुवात हुनु भन्दा पहिले प्रारम्भमा आएर प्रवचन गरेकी अनुराधा पाण्डेय आज कोटिहोम आएकी हुन् । भारतबाट अनुरुद्राचार्यका महाराज आफू आउन नभ्याएपछि आफ्ना छोराहरू अधिराज तिवारी शिव अध्याता तिवारी ओम कोटिहोममा आएका थिए ।

    कोटिहोममा गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री कुमार खड्काले हाम्रो धर्म संस्कृतिको रक्षा गर्नका यस्ता खालका कोटिहोम उपयोगी हुने बताए । कोटिहोम दर्शन गर्न आएकी मौलापुर नगरपालिका  रौतहटकी मेयर रिना साइले भक्तजनको उत्साहजनक सहभागिताले कोटिहोम सफल भएको वताईन् ।

    त्यसै गरी गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज घिमिरेले पुण्य कार्यमा सबैले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा चर्चित लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, शिव हमाल र घनश्याम रिजालको भजन प्रस्तुतिमा अतिथि तथा भक्तजन छमछम नाचेका थिए ।

    कोटिहोममा मेघनाथ खनाल सपरिवार तनहुँ– ८ बाट १५ हजार १ सय ५, हातेमालो दिदीबहिनी क्लब पोखरा–१७ बाट २५ हजार ५ सय २५, एकता आमा समूह बागलुङ–३ बाट ५१ हजार १ सय ५५,  कृष्ण कुमारी सिंह भण्डारी पोखरा–१९ बाट २५ हजार ५ सय, कासीमाया पोख्रेल स्याङ्जा विरुव–४ बाट तुलादान चौरासी पुजा मार्फत ९३ हजार, शिव शंकर पौडेल स्याङ्जाबाट ५१ हजार, भिमकुमारी राना मगर पोखरा– १७  बाट ५१ हजार, सिता केसी पोखरा–१७ बाट २५ हजार ५ सय, महिला मिलन समूह तनहुँ–२ बाट २५ हजार १ सय २, धनबहादुर दिलमाया गिरी पोखरा– ८ बाट २५ हजार ५ सय २५, खगिसरा पौडेल तनहुँ बाट ६० हजार, समाज सुधार आमा समूह स्याङ्जा पुतली बजार–१४ बाट २५ हजार १ सय, आदर्श ज्येष्ठ नागरिक समिति पोखरा–२२ बाट २५ हजार ५ सय ५५, युना थापा भुजेल स्याङ्जा पुतली बजारबाट १५ हजार १ सय ५५ सहयोग प्रदान गरेका छन् ।

    कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै गएपछि पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले उद्घोष गरेका छन् ।

    पोखरामा महानगर पालिकाका मेयर, उपमेयर, प्रवक्ता प्रशासकीय अधिकृत, सम्पूर्ण वडाका वडा अध्यक्षको साथ र सहयोगमा जेठ ३१ सम्म सञ्चालन हुने उनले जानकारी दिए । कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहे पनि कोटिहोमको समय थपसँगै बालयोगेश्वरको अनुरोधमा जेठ ३१ गते सम्म रहने छिन् ।

    कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी भेली क्षेत्री समुदायको पोसाकमा देखिने भएकी छन् । भागवत मञ्जरी राधिका दासी गत सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरेसँगै भोलि क्षेत्री समुदायको पोसाकमा आएर कथा वाचन गर्ने कार्यक्रम रहेको छ । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले विभिन्न समुदायको पहिरनमा रहेर कथा वाचन गर्ने गरेकी छन् ।

    महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले बुधवार पोखरा जारी कोटिहोमबाट अन्य प्रदेशमा पनि कोटिहोम सञ्चालन गर्ने घोषणा गरेका छन् । कोटिहोममा यति वेला विभिन्न ठाउँ बाट विभिन्न जात जातिका भक्तजन आ–आफ्नो जातीको पहिरनमा आउने गरेका छन् । यसले विभिन्न जात जातिको भेष भूषा संस्कृतिको प्रचार प्रसार कोटिहोममा भइरहेको छ ।

    कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मंगल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

    साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१  गतेसम्म सञ्चालन हुनेछ ।