सत्यवती गाउँपालिकामा बालविवाह, महिला हिंसा र दलित सचेतनामूलक कार्यक्रम सम्पन्न
चुराम्णि तिमिल्सिना असार २२
गुल्मीको सत्यवती गाउँपालिकामा एक दिने बालविवाह, घरेलु हिंसा, दलित तथा महिला हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कक्षा १ देखि क्याम्पस तहका विद्यार्थीहरूलाई आमन्त्रित गरी गाउँपालिकाको सभाहलमा विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमको उद्घाटन तथा समापन सत्रको अध्यक्षता गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे रहनुभएको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै गाउँघर तथा विपन्न वर्गमा अझै पनि महिला र घरेलु हिंसा जस्ता समस्या विद्यमान रहेको उल्लेख गर्दै विद्यार्थीमार्फत समाजमा चेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। साथै, यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले बालबालिकाको सशक्तिकरणका लागि थप कार्यक्रम सञ्चालन गरिने बताउँदै आत्महत्याका घटना बढिरहेकोले त्यसको न्यूनीकरणका लागि फरक धारका सचेतनामूलक कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सैनामैना नगरपालिका, रुपन्देहीकी महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीले बालअधिकार, महिला हिंसा, बालबालिकाका कर्तव्य र घरेलु हिंसाका विषयमा प्रयोगात्मक प्रशिक्षण दिनुभयो। यस्तै, प्रशिक्षक पत्रकार अमृत अनमोलले बालबालिका भोलिका कर्णधार भएको बताउँदै उनीहरूलाई यस अवस्थामा प्रभावकारी तालिम दिएमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा राख्नुभयो।
सत्यवती गाउँपालिका वडा नं. ६ का अध्यक्ष विष्णुप्रसाद भण्डारीले संविधानमा उल्लेखित ‘दलित’ शब्द हटाएर ‘गरिब’ भन्ने शब्द प्रयोग गर्न सुझाव दिनुभयो। उहाँको भनाइमा, ‘दलित’ शब्दले विशेष समुदायलाई मात्र प्रतिनिधित्व गरेकाले सबै वर्गको हितमा शब्द संशोधन आवश्यक रहेको तर्क गर्नुभयो।
कार्यक्रममा सहभागी चिदिपानी माध्यमिक विद्यालयकी विद्यार्थी रेणुका शाही र ज्वाङ रन्जित प्रसाद लालचन माध्यमिक विद्यालयकी विद्यार्थी मनिषा ढकालले यस्ता कार्यक्रम विद्यालय तहसम्म पुर्याइनु आवश्यक रहेको र बाल क्लबमार्फत सबै विद्यार्थीलाई फाइदा हुने बताउनुभयो।
कार्यक्रमकाअध्यक्ष तथा उपाध्यक्ष निर माया तरामुले आफ्नो धारणा राख्दै पालिकामा बाल क्लब स्थापना गरेर यस्ता रचनात्मक कार्यक्रम विद्यालयमै सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले महिला हिंसा, घरेलु हिंसा, बालविवाहजस्ता समस्या सचेतनामूलक कार्यक्रमबाट मात्रै न्यूनीकरण गर्न सकिने भन्दै आगामी दिनमा अझ व्यापक र प्रभावकारी कार्यक्रम अघि बढाइने बताउनुभयो।
कार्यक्रमको सहजीकरण रत्न भट्टले गर्नुभएको थियो।


















































नारायण तिमिल्सिना, वडा नं. ८ का स्वास्थ्य चौकी प्रमुख सि.अ.हे.व. गोमबहादुर क्षेत्री, स्वास्थ्य शाखामा सि.अनमी पदमा कार्यरत संगिता थापा, पञ्जिकरण तथा सामाजिक सुरक्षा सेवा इकाईमा कार्यरत एम.आई.एस.फिल्ड सहायक प्रेमबहादुर बगाले, वडा नं. ५ मा वडा सहायक पदमा कार्यरत मदनलाल न्यौपाने रहनुभएको छ ।