जेष्ठ नागरिकको स्याहारमा तालिम प्रशिक्षार्थी, गाउँपालिका गदगद

असार  १९  चुरामणि तिमिल्सिना   रिडी

गुल्मीको सत्यवती गाउँपालिकामा महिलाहरूको सीप तथा क्षमता विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोगमा तथा सिटिभिटी जिवराज आश्रित बहुप्राविधिक शिक्षालयको आयोजनामा ‘जुनियर beautician तालिम’ सञ्चालन भइरहेको छ। तालिममा गाउँपालिका भित्रका २५ जना महिलाहरूको सहभागिता रहेको छ।

तालिममा शीतल के.सी. र बबिता जिसीले प्रशिक्षण दिइरहनुभएको छ। बुधबार प्रशिक्षकहरूसहित प्रशिक्षार्थीहरूको टोली गाउँपालिकाकी उपाध्यक्ष निरमाया तरामुको नेतृत्वमा र धामस्थित वृद्धाश्रममा पुग्यो। टोलीले वृद्ध आमाबुबासँग केही समय संवाद गर्ने प्रयास गर्‍यो।

गाउँपालिकाकी उपाध्यक्ष तरामुले आश्रमवासीहरूलाई तालिम र सेवामूलक कार्यक्रमका विषयमा जानकारी गराउनु भयो। सुरुमा उहाँको कुरा पत्याउन केही ढिलो भए पनि अन्ततः वातावरण सहज बन्यो र टोलीले कार्यक्रम सञ्चालन गर्न सक्यो।

कार्यक्रम अन्तर्गत वृद्ध आमाबुबाहरूको हात–खुट्टाका नङ काट्ने, सरसफाई गर्ने, मसाज गर्ने तथा फलफूल वितरणजस्ता सेवा प्रदान गरियो।

मसाज कार्यक्रममा सहभागी हुनु भएका जेष्ठ नागरिक बासुदेव पाण्डेले यस्तो प्रकारको सेवा पहिलो पटक पाएको बताउँदै यस कार्यक्रमले आफूसहित सम्पूर्ण वृद्धवासीहरूलाई अत्यन्तै खुसी बनाएको उल्लेख गर्नुभयो। उहाँले कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्ने सम्पूर्ण टोलीलाई धन्यवाद र आशीर्वाद दिनुभयो।

त्यसैगरी अर्की आश्रमवासी मानकला भण्डारीले अहिलेसम्म यसरी कोही व्यक्तिले मसाज नगरेको अनुभव सुनाउँदै यसपालिको सेवा नयाँ र आत्मीय महसुस भएको बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष निरमाया तरामुले भन्नुभयो, “यस प्रकारका सेवामूलक कार्यक्रमले जेष्ठ नागरिकहरूमा खुसी, सन्तोष र आत्मीयता दिन्छ। नौला अनुभव र सद्भाव आदानप्रदान हुने भएकाले यस्तो कार्यक्रमले गाउँपालिकालाई गौरव प्रदान गर्छ। आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ।”

तालिममा सहभागी महिलाहरूले पनि यस्तो सेवामूलक काम पहिलो पटक समूहमा गरेको बताउँदै भविष्यमा पनि पालिकाले यस्ता कार्यक्रम निरन्तर अगाडि बढाउनुपर्ने माग गरेका छन्।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *