जनता माविमा एसईईमा शतप्रतिशत नतिजा, उत्कृष्ट विद्यार्थीहरू सम्मानित
चुरामणि तिमिल्सिना असार २१ गुल्मी, अस्लेवा — सत्यवती गाउँपालिका वडा नं. १ मा रहेको जनता माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा निकाल्न सफल विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेको अध्यक्षता र वडा नं. १ का वडाध्यक्ष अर्जुन कनौजेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कक्षा ३ र ५ मा गाउँपालिकाले सञ्चालन गरेको स्तर मापन परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत फूलमाला र उपहार प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पाण्डेले स्वागत मन्तव्य राख्दै शतप्रतिशत नतिजाको श्रेय विद्यालय परिवार, विद्यार्थी, अभिभावक र सम्पूर्ण सहयोगीहरूको समन्वयलाई दिनुभयो।
यस वर्ष एसईईमा ३.८९ जीपीए प्राप्त गर्न सफल समिर कुँवर र सचिन भण्डारीले आफ्नो भनाइ राख्दै गुरू, अभिभावक र विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि विद्यालयको गौरव बढाउने अठोट व्यक्त गरे।
प्रमुख अतिथि वडाध्यक्ष कनौजेको भनाइमा विद्यालयले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र अभिभावक, शिक्षक र विद्यार्थीबीचको समन्वयकै कारण यस सफलताको सम्भव भएको जनाउँदै शिक्षकहरूलाई अझ मेहनत गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा विज्ञान शिक्षक कृष्ण चौधरीले अध्ययनमा प्रोत्साहनस्वरूप ९ जना विद्यार्थीलाई रु १४,००० नगद पुरस्कार वितरण गर्नुभएको थियो। यस्तै, युवराज पाण्डेले घोषणा गर्नुभएको रकम पनि वितरण गरिएको थियो।
कार्यक्रममा अभिभावक दिपक पाण्डेले आगामी वर्ष विद्यालयबाट फोर जीपीए ल्याउने विद्यार्थीहरूको लागि बाजा गाजा सहितको र्यालीको सम्पूर्ण खर्च बेहोर्ने घोषणा गर्नुभयो।
समारोहमा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, शिक्षाप्रेमी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक कृष्णप्रसाद पाण्डेले गर्नुभएको थियो।



