सत्यवती गाउँपालिका अस्लेवामा उद्घोषण तालिम सुर
गुल्मी बैशाख २१
सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवामा ५ दिने उद्घोषण तथा सीप विकास तालिम सुरु भएको छ । महालक्ष्मी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तालिम आयोजना गरिएको हो ।
तालिमको समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका सत्यवती गाउँपालिका वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजेले वडा भित्रका महिला दिदीबहिनीहरूलाई सामाजिक रुपमा सकृय गराउँदै वडा भित्रका कार्यक्रमहरू सञ्चालन गर्न सक्ने र नेतृत्वको रुपमा स्थापित गर्नका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको थियो । अध्यक्ष कनौजेले तालिमको पूर्ण सदुपयोग गर्दै व्यवहारमा उतार्नु अनिवार्य रहेको बताउनुभयो ।
महालक्ष्मी सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष माया थापाले सिकाइ केन्द्रले सीप विकास र क्षमता विकासका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा महिला दिदीबहिनीहरूलाई सक्षम बनाई अगाडि बढाउनका लागि उद्घोषण तथा सीप विकास तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले वडा भित्रका सबै टोलबाट प्रतिनिधिमूलक रुपमा ३० जना सक्रिय महिलाहरूलाई सहभागि गराइएको बताउनुभयो
। उहाँले अहिलेको समयमा आवाज बुलन्द गर्नेहरुनै अगाडि बढ्दै विशिष्ट पहिचान राख्न सफल भएको उहाँको भनाई रहेको थियो ।
तालिममा न्यूज कुरा डट कम का प्रबन्ध निर्देशक नारायण भण्डारीले सहजीकरण गर्नुहुने छ । उद्घाटन कार्यक्रमको सञ्चालन सिकाइ केन्द्रकी सदस्य सचिव गोमा थापाले गर्नुभएको थियो । सिकाई केन्द्रले आइतबार देखिनै हारमुनियम तथा मादल वादन तालिम समेत सुरु गरेको छ तालिममा सङ्गीतकार जङ्गबहादुर कुमालले सहजीकरण गरिरहनुभएको छ ।