धुर्कोट गाउँपालिकाकोआयोजनामा व्यवसायिक कृषक अन्तरक्रिया सम्पन्न

बासुदेव पोख्रेल / गुल्मी , ८ जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाको आयोजनामा व्यवसायिक कृषक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम धुर्कोट गाउँपालिका–६, रजस्थलको सभाहलमा सम्पन्न भएको हो।

गाउँपालिका भित्रका व्यवसायिक कृषकहरूको सहभागिता रहेको उक्त गोष्ठीमा व्यवसायिक कृषि प्रणाली, नवप्रविधि र व्यवहारिक ज्ञानबारे विस्तृत रूपमा जानकारी दिइएको थियो ।

गोष्ठीको सहजीकरण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तम्घास गुल्मीका प्रमुख हुमकान्त पाण्डे र धुर्कोट गाउँपालिकाका पशु चिकित्सक सञ्जय प्रसाद भुसालले गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले गर्नुभएको थियो भने उपाध्यक्ष सीता गिरी, वडा अध्यक्षहरू, कर्मचारी तथा कृषकहरूको समेत उपस्थिति रहेको थियो।

गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले कृषिलाई व्यवसायिक बनाउँदै आत्मनिर्भर गाउँपालिका बनाउने लक्ष्यसहित यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताउनुभयो। उहाँले कृषकहरूमा सीप र चेतना वृद्धि गरी उत्पादन र आम्दानीमा सुधार ल्याउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो।

उपाध्यक्ष सीता गिरीले कृषकहरूको सक्रियता र जिज्ञासालाई प्रशंसा गर्दै कृषि अब परम्परागत मात्रै नभई प्रविधिमैत्री र व्यवहारिक हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

सहजीकरण गर्दै प्रशिक्षक हुमकान्त पाण्डेले कृषकहरूबाट उठेका जिज्ञासाहरू समाधान गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै साना सुधारले पनि व्यवसायिक कृषिमा ठूलो प्रभाव पार्न सक्ने बताउनुभयो ।कार्यक्रममा सहभागी कृषकहरूले गोष्ठीबाट महत्वपूर्ण ज्ञान प्राप्त भएको जनाउँदै यस्ता कार्यक्रमको निरन्तरता हुनुपर्ने मागसमेत गरेका छन् ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1082