रिडी चुरामणी तिमिल्सिना असारमा २८
सत्यवती गाउँपालिकामा शनिबार एक भव्य समारोहका बीच शिक्षक, विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिएको हो। गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले शिक्षा क्षेत्रका योगदानकर्तालाई उजागर गर्नुका साथै प्रेरणाको श्रोत बन्ने कार्य गर्यो।
कार्यक्रम विशाल मात्र नभई प्रेरणादायी पनि रह्यो। कार्यक्रममा पालिकाका अध्यक्ष टिकाराम पाण्डे, उपाध्यक्ष निरमाया तरामु, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, विभिन्न वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो। पत्रकारलाई विशेष आमन्त्रणसहित समाचार संकलन तथा प्रसारणका लागि निम्त्याइएको थियो।
शिक्षा सम्बन्धी गीतमार्फत वातावरण निर्माण गर्दै कार्यक्रमको सुरुवात गरियो। त्यसपछि शिक्षा शाखाका विष्णुप्रसाद ज्ञवालीको संचालनमा औपचारिक कार्यक्रम प्रारम्भ भयो। उनले कार्यक्रमको उद्देश्य, पृष्ठभूमि र अपेक्षित परिणामबारे उल्लेखनीय विश्लेषण प्रस्तुत गरे।
कार्यक्रममा पालिकाभित्रको शैक्षिक उन्नतिलाई मध्यनजर राखी विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक, विद्यार्थी तथा विद्यालयलाई नगद, कदरपत्र र प्रमाणपत्रद्वारा सम्मान गरियो।
विशेष गरी शिक्षक दम्पतीहरूको सामूहिक सम्मान कार्यक्रमको आकर्षणको केन्द्र बन्यो।
गौरीशंकर आधारभूत विद्यालयका प्रकाश ढकाल (गणित) र
हेमन्त आधारभूत विद्यालयकी इन्दिरा ढकाल (अंग्रेजी)
दुवैले आफ्नो विषयमा १०० प्रतिशत सफलता ल्याउन सफल भएका थिए। इन्दिरा गत वर्ष पनि सम्मानित भएकी थिइन् भने प्रकाश पहिलोपटक सम्मानित भए।
त्यस्तै जुनिया माध्यमिक विद्यालयका सिक्षक श्रीमान–श्रीमती ओमप्रकाश विक र विष्णु विक पनि सम्मानित भए। ओमप्रकाशले शिक्षा विषयमा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन थिए भने विष्णुले अर्थशास्त्र विषयमा १०० प्रतिशत नतिजा ल्याउन सफल भएकी थिइन्। यस्तो दुर्लभ सम्मान दम्पतीहरूले पाउँदा उनीहरू गदगद थिए भने कार्यक्रमस्थल तालिकै गुञ्जायमान बन्यो।
कार्यक्रममा एसईई परीक्षामा जिल्लामै उत्कृष्ट नतिजा ल्याउने सृजित भण्डारी र अर्जुन भण्डारी पनि सम्मानित भए। पालिकाले रु. २०,००० सहित कदरपत्र प्रदान गरी विद्यार्थीको मनोबल उच्च बनायो।
सत्यवती गाउँपालिकाले आयोजना गरेको यो सम्मान कार्यक्रम निसन्देह प्रेरणादायी मात्र होइन, समर्पित शिक्षक र मेहेनती विद्यार्थीहरूको मनोबल अभिवृद्धिका लागि पनि महत्वपूर्ण कदम सावित भयो।



