सत्यवती गाउँपालिकाबाट ५७ करोडको बजेट पारित, पूर्वाधार र उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकता
चुरामणि तिमिल्सिना श्रावण १
सत्यवती गाउँपालिकाको १७औं गाउँसभा तथा अधिवेशनमार्फत आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ५७ करोड ६५ लाख ८५ हजार बराबरको बजेट सर्वसम्मत रुपमा पारित गरिएको छ।
सभामा पूर्वाधार निर्माण, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, रोजगारी सिर्जना, खानेपानी, सडक, स्वास्थ्य, कृषि र शिक्षा जस्ता क्षेत्रलाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गरिएको हो। बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक उपाध्यक्ष निर्माया तरामुले योजनाको विवरण प्रस्तुत गर्नुभएको थियो।
सभामा विगतमा बाँकी रहेका योजनाहरूलाई क्रमबद्ध रुपमा सम्पन्न गर्ने, विभिन्न सूचकाङ्कको मापदण्डमा आधारित वडा तथा पालिकाहरूको घोषणा गर्ने, उज्यालो सडक तथा हरियाली पालिका निर्माण गर्नेजस्ता नीति समेटिएको छ।

बेरुजु रकमको व्यवस्थापन, कर वृद्धिका प्रस्ताव, र ठूला योजना सम्पन्न गर्ने रणनीति समेत सभामा प्रस्तुत गरिएको थियो।
गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै, “यस वर्ष समेट्न नसकेका योजनाहरूलाई आगामी वर्ष प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ,” भन्दै छिटो टेन्डर आह्वान गरी दीर्घकालीन योजनालाई अघि बढाइने स्पष्ट गर्नुभयो।
सभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले गर्नुभएको थियो।



