चुरामणि तिमिल्सिना रिडी श्रावण ७
रुरु क्षेत्र गाउँपालिका वडा नं ३ थानापतिका दिदीबहिनीहरू तीन दिने दुना–टपरी निर्माण तालिमपछि व्यावसायिक उत्पादनमा लाग्न थालेका छन्। रुरुक्षेत्र गाउँपालिका लघु उद्यम विकास शाखा को कार्यक्रम अन्तर्गत वडा नं ३ को आयोजना र रुरु क्षेत्र गाउँपालिकाको आर्थिक र प्राबिधिक सहयोगमा सम्पन्न तालिमले सहभागी महिलाहरूलाई आत्मनिर्भर बनाउँदै रोजगारीको बाटो खोलिदिएको छ।
तालिममा सहभागी भएकी प्रतीक्षा ठडराईका अनुसार, “तीन दिनको तालिमले हामीलाई दुना टपरी व्यवसाय सञ्चालन गर्न आत्मविश्वासी बनायो। अहिले त यति धेरै माग छ कि समयमा माग अनुसार पुर्याउन समेत हम्मेहम्मे परेको छ।”
तालिमपछि महिलाहरूले ‘थोर्गेली दुना टपरी समूह’ नाम राखी उत्पादन र बजार प्रवर्द्धनको थालनी गरेका छन्। मङ्गलबार एक विशेष भेलामार्फत समूहले दुना–टपरीको दरभाउ पनि निर्धारण गरेको छ। हाल यज्ञ, पूजापाठ, ब्रतबन्ध, मृत्यु संस्कारजस्ता धार्मिक कार्यहरूका लागि प्रयोग हुने दुना–टपरी बनाउने कार्यमा समूहका सदस्यहरू व्यस्त छन्।
प्रमाणपत्र ग्रहण गर्दै सहभागी जानकी ज्ञवालीले समूह बनाएर व्यवसायलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। “अब गाउँमै यो व्यवसाय विस्तार गर्छौं,” उहाँले बताउनुभयो।
समूहकी अर्की सदस्य शोभा क्षेत्रीका अनुसार, “पहिले बुटवलबाट ल्याउने दुना–टपरीमा गुणस्तर कम हुने, तोडफोड हुने र महँगो पर्ने समस्याले घाटा व्यहोर्नुपरेको थियो। अब आफ्नै गाउँबाटै उत्पादन भएपछि गुणस्तरयुक्त र सस्तो दुना–टपरी प्राप्त हुने भएको छ।”
तालिम सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्नुभएकी वडा नं ३ की वडा सदस्य विष्णु केसीले सहभागी दिदीबहिनीहरूले फुर्सदको समयमा वनपाखाबाट पात टिपेर दुना–टपरी बनाउने काम गरिरहेको जानकारी दिनुभयो। साथै, स्थानीय स्रोतको उपयोग गर्दै स्थानीय उत्पादनलाई प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो।
उद्योग स्थापना र सशक्तिकरणमार्फत महिलाहरूको आत्मनिर्भरता बढाउने उद्देश्यले सञ्चालन गरिएको तालिमले अब व्यावसायिक मोड लिएको छ। सामूहिक रूपमा उत्पादन गर्दै बजारमा पुग्ने यो अभियानले दिगो रोजगारीको सम्भावना पनि देखाएको छ।



