लुहुङस्थित लुम्बिनी मावि मा शैक्षिक अन्तरक्रिया र सार्वजनिक सुनुवाइ सम्पन्न

चुरामणि  तिमिल्सिना रिडी  भदौ १३

तानसेन नगरपालिका–१२, लुहुङस्थित लुम्बिनी माध्यमिक विद्यालयले शैक्षिक अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा प्रधानाध्यापक दीपक गौतमले शैक्षिक तथा भौतिक पक्षका उपलब्धि र सुधार गर्नुपर्ने विषयहरूबारे जानकारी गराउनुभयो। त्यस्तै, लेखापाल युवराज पौडेलले विद्यालयको आर्थिक कारोबारको विवरण प्रस्तुत गर्नुभयो।विद्यालयको शैक्षिक गुणस्तर उकास्न विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, जनप्रतिनिधि, पूर्व पदाधिकारी, सम्पूर्ण शिक्षक–कर्मचारी र कक्षा ९ देखि १२ सम्मका विद्यार्थी प्रतिनिधिहरूले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।कार्यक्रमले आगामी शैक्षिक सत्रलाई प्रभावकारी बनाउन प्रधानाध्यापक र शिक्षकबीच करार सम्झौता गर्ने, अतिरिक्त कक्षा सञ्चालन गर्ने, गृहकार्यमा अभिभावकको सक्रिय सहयोग सुनिश्चित गर्ने, होमवर्क डायरी कार्यान्वयन गर्ने, विद्यार्थीको उपस्थिति बढाउने, अभिभावक र सरोकारवालाले अनुगमन गर्ने तथा भौतिक सुधारका लागि योजना माग गर्ने निर्णय गरेको छ।सहायक प्रधानाध्यापक बलराम पाण्डेको स्वागत, प्रधानाध्यापक गौतमको सहजीकरण, लेखापाल पौडेलको सञ्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

 

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1102