चुरामणि तिमिल्सिना माघ ७ रिडी
सत्यवती गाउँपालिका, गुल्मीमा चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मंगलबारदेखि गाउँपालिकाको खेलमैदानमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष निरमाया तरामुको स्वागत मन्तव्य रहेको थियो।
स्वागत मन्तव्य राख्दै उपाध्यक्ष तरामुले खेल विद्यार्थीको गहना भएको उल्लेख गर्दै खेलकुदलाई प्रोत्साहन गर्नु पालिकाको दायित्व भएको बताउनुभयो। उहाँले यस्ता रचनात्मक क्रियाकलापमा गाउँपालिका सधैँ तयार रहने बताउँदै सहभागी सबै विद्यालय तथा विद्यार्थी भाइबहिनीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
१२ वटा माध्यमिक विद्यालय र २आधर भुत गरि १४ बिद्यालयबीच सञ्चालन भएको छ ।
उद्घाटन सत्रमा विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षा निकाय, अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षा शाखा प्रमुख लोकराज गिरीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै हरेक विद्यालयले विद्यार्थीहरूलाई अनुशासनको महत्त्वपूर्ण पाठ सिकाउनुका साथै खेलकुदलाई पनि नियमित समय छुट्याएर अघि बढाउन आग्रह गर्नुभयो।
कार्यक्रमका अध्यक्ष गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे रहनुभएको थियो। समापन मन्तव्य राख्दै अध्यक्ष पाण्डेले यस्ता रचनात्मक गतिविधि सञ्चालनका लागि बजेट पर्याप्त भए पनि केही सानातिना समस्या र झन्झटहरू रहेको बताउनुभयो। ती समस्याहरू समाधान गर्दै स्थानीय सरोकारवाला, विद्यालयका प्रधानाध्यापक तथा जनप्रतिनिधिहरू थप सक्रिय हुन सके खेलको स्तर वृद्धि हुने र नयाँ खेलहरू समेत समावेश गर्न सकिने बताउनुभयो। उहाँले प्रतियोगिता विवादरहित रूपमा सञ्चालन गर्न शिक्षक, गाउँपालिका कर्मचारी तथा खेल शिक्षकहरूलाई आग्रह गर्नुभयो।
आगामी दिनमा खेलकुदलाई थप उत्साह र उमङ्गपूर्ण बनाउन पालिकाले विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल गरी निर्णयमा पुग्ने पनि अध्यक्ष पाण्डेले जानकारी दिनुभयो।
उद्घाटन सत्रमा विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए भने सबै विद्यालयका विद्यार्थीहरू मार्चपास्टमा सहभागी भएका थिए।
प्रतियोगिता माघ ९ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको सञ्चालन रोजगार प्रमुख सुवास आचार्यले गर्नुभएको थियो।



