गुल्मीको सत्यवती गाउँपालिकामा कपडा बैंक सञ्चालन, ४९१ जनालाई न्यानो कपडा वितरण
चुरामणि तिमिल्सिना रिडी असार ८
गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा कपडा बैंक सञ्चालनमा ल्याइएको छ। साथै आवश्यकतामा रहेका ४९१ जना नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ। 
गाउँपालिका अध्यक्ष टिकराम पाण्डेयको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निरमाया तरामी, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पौडेल, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, कपडा बैंकका संस्थापक कमल जी.सी. तथा सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष निरमाया तरामीले स्वागत मन्तव्य व्यक्त गर्दै कपडा बैंकको अवधारणाले विपन्न तथा आवश्यकतामा रहेका परिवारहरूलाई प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो। उहाँले सत्यवती गाउँपालिकामा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम अत्यन्तै उपयोगी रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टिकराम पाण्डेयले विदेश भ्रमणका क्रममा कपडा बैंकको सेवाको प्रयोग गरेको अनुभव सुनाउँदै यसको अवधारणा अत्यन्तै प्रभावकारी र उदाहरणीय रहेको बताउनुभयो। उहाँले घरमा प्रयोगमा नआएका तर प्रयोगयोग्य कपडाहरू दान गरी अभियानलाई थप प्रभावकारी बनाउन स्थानीयवासीहरूलाई आग्रह गर्नुभयो।
कपडा बैंकमार्फत संकलित कपडाहरू आवश्यकतामा रहेका नागरिकसम्म निःशुल्क उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस अभियानले पुनः प्रयोगको संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै सामाजिक सहकार्य र मानवीय सेवाको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
कार्यक्रममा ४९१ जना आवश्यकतामा रहेका नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो।


