Category: समाचार

  • जनबोध माविमा एसईई परीक्षामा सफलता प्राप्त विद्यार्थी सम्मानित

    जनबोध माविमा एसईई परीक्षामा सफलता प्राप्त विद्यार्थी सम्मानित

    असार १७ रिडी
    चुरामणी तिमिल्सिना
    रुरुक्षेत्र गाउँपालिका–४ र ५ मा अवस्थित जनबोध माध्यमिक विद्यालयले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ।

    साधारण तर्फ र   प्राबिधिक  धार तर्फ  गरि  ५२ जना  सहभागी  भएका थिए  जस्मा प्राबिधिक   तर्फ २५ जना बिद्यार्थी  मध्य २२   जना उत्तीर्ण हुन सफल भएका छन्। त्यस्तै, साधरण  तर्फ  सहभागी २७ जना मध्ये २० जना विद्यार्थीले उत्कृष्ट जीपीएसहित सफलता हासिल गरेका छन्।

    साधारण धारतर्फका निरञ्जन श्रेष्ठले ३.९६ जीपीए ल्याई विद्यालयलाई अग्रस्थानमा पुर्‍याएका छन्। विद्यालयका प्रधानाध्यापक बामदेव ज्ञवालीले स्वागत मन्तव्य दिंदै परीक्षा परिणामप्रति खुसी व्यक्त गर्नुभयो। उहाँले विद्यार्थी, शिक्षक र अभिभावकको निरन्तर प्रयासले विद्यालयले यो उपलब्धि हासिल गर्न सफल भएको उल्लेख गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बिमल ज्ञवाली, अभिभावकहरू तथा शिक्षाप्रेमीहरूको उपस्थिति थियो। अध्यक्ष ज्ञवालीले साधारण तथा प्राविधिक दुवै धारामा विद्यालयले अपेक्षाअनुसारको नतिजा हासिल गरेको भन्दै सन्तुष्टि व्यक्त गर्नुभयो। अभिभावकको निरन्तर अनुगमन, विद्यालय व्यवस्थापन समितिको चासो, शिक्षकको मेहनत र विद्यार्थीको अनुशासनले विद्यालयमा सकारात्मक ऊर्जा थपिएको उहाँको भनाइ थियो।

    उक्त अवसरमा विद्यार्थीहरूलाई खादा, टीका र आशीर्वचन प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक देवीराम कुँवरले गर्नुभएको थियो।

  • सीता पराजुलीको गोठमा आगलागी: ७ पशु जले, पूर्व अध्यक्ष बस्यालबाट राहत सहयोग

    सीता पराजुलीको गोठमा आगलागी: ७ पशु जले, पूर्व अध्यक्ष बस्यालबाट राहत सहयोग

    रिडी असार   १७चुरामणि तिमिल्सिना

    पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–९ पराजुली टोल, देउराली डाँडामा रहेको सीता पराजुलीको गोठमा सोमबार बिजुली सर्ट भई भीषण आगलागी भएको छ। घटनामा परेर एक भैंसी र छ वटा बाख्रा जलेर मरेका छन्।

    ग्रामीण जीवनमा पशुपालन आम्दानीको मुख्य स्रोत मात्र नभई परिवारको जीवनयापनको आधारसमेत हुने हुँदा पराजुली परिवारको क्षति निकै ठूलो भएको स्थानीयहरूले बताएका छन्।

    यस पीडादायी घटनापछि निवर्तमान बगनासकाली गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य कृष्ण प्रसाद बस्याल र वडा नं. ९ का सभापति चिन्तामणि बस्याल पीडितको घरमै पुगेर सान्त्वना दिनुका साथै नगद रु. १५,००० सहयोग गरेका छन्।

    “विपत्तिमा परेका आफ्ना गाउँलेको साथ दिनु हाम्रो कर्तव्य हो,” सभापति बस्यालले बताए। पूर्व अध्यक्ष बस्यालले मानवता र करुणाको समयमा एकताको महत्व झनै बढ्ने बताएका थिए।

    स्थानीयवासीले समेत यस दुःखद घडीमा पराजुली परिवारलाई साथ दिइरहेका छन्। यस्ता विपत्तिहरूले समुदायलाई अझ संगठित र सहानुभूतिशील बनाउने विश्वास व्यक्त गरिएको छ।

  • गाउँसभाको अवसरमा उत्कृष्ट कर्मचारी तथा खेलाडीलाई सम्मान

    गाउँसभाको अवसरमा उत्कृष्ट कर्मचारी तथा खेलाडीलाई सम्मान

     

    पाल्पा, १६ असार ।
    पाल्पाको बगनासकाली गाउँपालिकाबाट कर्मचारी तथा खेलाडी सम्मानित भएका छन् । गाउँपालिकाभित्रका वडासहित विभिन्न शाखामा रहेर लगनशील, कर्तव्यनिष्ठ एवम् इमान्दार भई कार्यालयको कार्यसम्पादन गर्ने उत्कृष्ट कर्मचारीहरूलाई सोमबार सम्मान गरिएको हो ।

    गाउँपालिकाले १८ औं गाउँसभाको अवसर पारेर ८ जना कर्मचारी र एक खेलाडीसहित नौ जनालाई गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल लगायतले सम्मानपत्र, खादा, टोपी र नगदसहित सम्मान गर्नुभएको हो ।

    सम्मानित कर्मचारीमा शिक्षा शाखामा कार्यरत    नारायण तिमिल्सिना, वडा नं. ८ का स्वास्थ्य चौकी प्रमुख सि.अ.हे.व. गोमबहादुर क्षेत्री, स्वास्थ्य शाखामा सि.अनमी पदमा कार्यरत संगिता थापा, पञ्जिकरण तथा सामाजिक सुरक्षा सेवा इकाईमा कार्यरत एम.आई.एस.फिल्ड सहायक प्रेमबहादुर बगाले, वडा नं. ५ मा वडा सहायक पदमा कार्यरत मदनलाल न्यौपाने रहनुभएको छ ।

    यस्तैगरी वडा नं. ३ मा ना.प्र.स. पदमा कार्यरत पशुसेवा प्राविधिक कमलादेवी खनाल, गाउँपालिका कृषि शाखामा ना.प्र.स.पदमा कार्यरत कृषि प्राविधिक खिमराज कोइराला र वडा नं. २ का वडा सहयोगी सिंह बहादुर कुमाललाई सम्मान गरिएको हो ।

  • दुर्गा भवन माविमा प्रशासनिक कार्यशैलीमा नवीन अभ्यास : दुई सहायकलाई विभागीय जिम्मेवारी

    दुर्गा भवन माविमा प्रशासनिक कार्यशैलीमा नवीन अभ्यास : दुई सहायकलाई विभागीय जिम्मेवारी

     

    रिडी  असार १६ । चुरामणि तिमिल्सिना
    कालीगण्डकी गाउँपालिका–५, छापचौरस्थित श्री दुर्गा भवन माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई भव्य समारोहका बीच सम्मान गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा पञ्चेबाजा सहित विद्यालयका विद्यार्थीहरू, अभिभावक, शिक्षक तथा समुदायका प्रतिनिधिहरूको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो।

    सम्मान कार्यक्रममा विद्यालयले सफल विद्यार्थीहरूलाई फूलमाला, अबिर प्रदान गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना दिएको थियो। विद्यालयको यस्तो सम्मान कार्यक्रम यस वर्षदेखि मात्र सुरु गरिएको हो।

    कार्यक्रमकै अवसरमा विद्यालयले विभागीय जिम्मेवारीसहित शिक्षक रामप्रसाद गौतम र शिक्षक तेजेन्द्र क्षेत्रीलाई सहायक प्रधानाध्यापकको रूपमा नियुक्त गरेको छ। विभागीय ढाँचामा दुईजना सहायक प्रधानाध्यापक नियुक्त गर्ने अभ्यास गुल्मी जिल्लामा पहिलोपटक भएको दाबी गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अनुसार, यस नविन अभ्यासले विद्यालयको शैक्षिक प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

    त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य एवं वयोवृद्ध समाजसेवी यमलाल पौडेललाई समेत विद्यालयले सम्मान गरेको थियो। लामो समयदेखि विद्यालय र समुदायमा गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश ढकालले सम्मान कार्यक्रममा बोल्दै भने, “यस्ता सम्मान कार्यक्रमले विद्यार्थीको मनोबल उच्च बनाउने मात्र होइन, साना कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई पनि थप मेहनत गर्ने प्रेरणा दिन्छ। यसैले अबदेखि यस्तो कार्यक्रमलाई नियमित रुपमा निरन्तरता दिइनेछ।”

    विद्यालयको यो कदमले शैक्षिक गुणस्तर अभिवृद्धिका साथै विद्यार्थी, अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

  • एसईईमा उत्कृष्ट नतिजा: सत्यवती माविका विद्यार्थीको सम्मान पञ्चेबाजासहित

    एसईईमा उत्कृष्ट नतिजा: सत्यवती माविका विद्यार्थीको सम्मान पञ्चेबाजासहित

    पाल्पा चुरामणि तिमिल्सिना , असार१५

    सत्यवती गाउँपालिका–५ हँसारामा रहेको सत्यवती माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेका विद्यार्थीलाई भव्य समारोहका बीच सम्मान गरेको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न उक्त सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे प्रमुख अतिथि रहनु भएको थियो।

    अध्यक्ष पाण्डेले समारोहलाई सम्बोधन गर्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीहरूको समर्पण, पालिकाबाट प्रदान गरिएको तालिमको प्रभाव र निरन्तर प्रयासकै कारण विद्यालयले यस्तो उत्कृष्ट परिणाम हासिल गर्न सफल भएको बताउनुभयो। साथै, आगामी दिनहरूमा पनि विद्यालयले यस्तै प्रेरणादायी नतिजा ल्याउनेमा आशावादी रहेको अभिव्यक्ति दिनुभयो।

    कार्यक्रममा उपाध्यक्ष निरमाया तरामु, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, शिक्षा शाखा प्रमुख, विभिन्न शाखा प्रमुखहरू, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, अभिभावकज्यूहरूको उपस्थिति थियो।

    समारोहमा विद्यालयले जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल अर्जुन भण्डारी र सिर्जित भण्डारीलाई विशेष रूपमा सम्मान गर्दै भविष्यको सफलताको शुभकामना व्यक्त गर्‍यो। यी दुवै विद्यार्थीले ४.०० जीपीए ल्याएर जिल्ला र विद्यालयको गौरव बढाएका हुन्। उनीहरू सामान्य परिवारमा जन्मिए पनि कठिन परिश्रम र गुरुजनको मार्गदर्शन अनुसार अगाडि बढेकाले यो उपलब्धि हासिल गर्न सफल भएको अभिभावकहरूले बताएका छन्।

    समारोहमा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई खादा, टीका र प्रमाणपत्र प्रदान गरिएको थियो। विद्यालयले बाजागाजासहितको र्याली आयोजना गरी गाउँ बजार परिक्रमा गराउँदै विद्यार्थीको सफलतालाई उत्सवको रूपमा मनाएको हो।

    विद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार:

    ४.०० जीपीए: २ जना

    ३.६० – ४.००: १३ जना

    ३.२० – ३.६०: १५ जना

    २.८० – ३.२०: २६ जना

    २.४० – २.८०: ७ जना रहेका छन्।

    कार्यक्रमको स्वागत मन्तव्य केशवराज आचार्यले प्रस्तुत गर्नुभएको थियो।  कार्यक्रममा   बिद्यालयका तर्फबाट  प्रधानाध्यापक    कृष्ण  प्रसाद  भण्डारीले शुभकामना   प्रदान गर्नु भएको   थियो। भने सञ्चालन प्रकाश भट्टराईले गर्नुभएको थियो।

  • ज्येष्ठ पण्डित तोयनाथ न्यौपानेको ८८ वर्षको उमेरमा निधन, पाल्पा क्षेत्रले गुमायो एक धार्मिक र शैक्षिक धरोहर

    ज्येष्ठ पण्डित तोयनाथ न्यौपानेको ८८ वर्षको उमेरमा निधन, पाल्पा क्षेत्रले गुमायो एक धार्मिक र शैक्षिक धरोहर

    पाल्पा, असार १४ चुरामणी तिमिल्सिना

    विक्रम संवत् १९९४ साल फागुन ९ गते पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. १४, रविदास पण्डित टोलमा जन्मनुभएका ज्योतिष पण्डित तोयनाथ न्यौपानेको असार ११ गते शनिवार, मध्यान्ह १२ बजे आफ्नै निवासमा ८८ वर्षको उमेरमा दुःखद निधन भएको छ। उहाँको निधनको खबरले पाल्पा र आसपासका क्षेत्र शोकमा डुबेका छन्।

    स्व. पण्डित न्यौपानेको प्रारम्भिक शिक्षा घर–छिमेकमै अनौपचारिक रूपमा आरम्भ भएको हो। प्रारम्भिक अवस्थाबाटै वेद, चण्डी, गीता, कर्मकाण्ड र ज्योतिषशास्त्रजस्ता विषयहरूमा गहिरो रुचि देखाउँदै आएका उहाँले भारतको बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट शास्त्री तहसम्मको अध्ययन सम्पन्न गर्नुभएको थियो।

    संस्कृत साहित्य, व्याकरण र पुराणको गहन अध्ययन गर्नु भएका उहाँले श्रीमद्भागवत, देवीभागवत लगायतका पुराणहरूको पाठ तथा प्रवचन देशभर विभिन्न स्थानमा पुगी गर्नुहुन्थ्यो। आचार्य व्यासका रूपमा कथा वाचन गर्नुका साथै उहाँको पठनपाठनशैलीले हजारौं भक्तजनलाई प्रभावित तुल्याएको थियो।

    शिक्षण क्षेत्रका आदर्श व्यक्तित्वका रूपमा पाल्पा, गुल्मी, स्याङ्जा र अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयहरूमा संस्कृत विषय अध्यापन गराउँदै आउनुभएका पण्डित न्यौपाने माध्यमिक तहका शिक्षक पदबाट सेवा निवृत्त हुनुभएको थियो। सेवानिवृत्तिपछि पनि उहाँ निरन्तर रूपमा कर्मकाण्ड, धार्मिक निर्णय तथा पाठ्यपुस्तकका गहिरा विश्लेषणमा समर्पित रहनुहुन्थ्यो।

    धार्मिक शास्त्रमा अद्वितीय दखल राख्नु भएका उहाँ ‘निर्णय सिन्धु’ को जीवित स्वरूपका रूपमा चिनिनुहुन्थ्यो। पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीका थुप्रै कर्मकाण्डी चेलाहरूले आज पनि उहाँलाई मार्गदर्शक रूपमा सम्झिरहन्छन्। ब्रतबन्ध, विवाह, श्राद्ध लगायतका धार्मिक कार्यमा उहाँको सल्लाह र निर्देशनको अत्यधिक माग हुने गर्दथ्यो।

    ज्योतिष क्षेत्रमा पनि उहाँको गहिरो अधिकार थियो। दैनिक रूपमा चिना हेर्ने, ग्रहगोचरको टिप्पणी गर्ने, रोगनिदानसम्बन्धी सुझाव दिने, पुस्तक प्रमाणसहित शास्त्रीय तर्क प्रस्तुत गर्ने काममा उहाँ अद्वितीय हुनुहुन्थ्यो। उहाँका भनाइ र प्रमाणलाई यस क्षेत्रका कुनै पनि पण्डित वा ज्योतिषीले खण्डन गर्न सक्दैनथे।

    उहाँका श्रीमती, दुई छोरा र चार छोरी रहेका छन्। पारिवारिक जिम्मेवारीमा समेत समर्पित रहँदै धार्मिक र शैक्षिक क्षेत्रलाई जीवनभर योगदान पुर्याउनु भएका पण्डित न्यौपानेको निधनले पाल्पा क्षेत्रले एक अमूल्य व्यक्तित्व गुमाएको अनुभूति गरेको छ।

    धार्मिक र शैक्षिक उन्नयनमा जीवन समर्पित गर्नुभएका स्व. तोयनाथ न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण क्षेत्रवासीले उहाँलाई सदैव स्मरण गर्नेछन्।

  • कालीगण्डकी गाउँपालिकामा दुर्गा भवन मावि सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउने विद्यालय

    कालीगण्डकी गाउँपालिकामा दुर्गा भवन मावि सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउने विद्यालय

     

    असार १४
    चुरामणि तिमिल्सिना

    गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका अन्तर्गत रहेको दुर्गा भवन माध्यमिक विद्यालयल छापचौर  यस वर्ष विगतका वर्षहरूको तुलनामा उत्कृष्ट नतिजा हासिल गर्दै पालिकाभित्रकै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने विद्यालय बन्न सफल भएको छ।

    विद्यालयबाट एसईई परीक्षा दिएका ४५ जना विद्यार्थीमध्ये २९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यससँगै दुर्गा भवन मावि कालीगण्डकी गाउँपालिकामै सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय बनेको हो।

    विगतमा निराशाजनक नतिजा भोग्दै आएको विद्यालयले यस पटक उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेश ढकालले खुशी व्यक्त गर्नुभयो।

    “मैले अध्यक्ष पद सम्हालेपछि विद्यालयको शैक्षिक गुणस्तरमा व्यापक सुधार ल्याउन प्रयास गरें,” अध्यक्ष ढकालले भन्नुभयो, “विज्ञान प्रयोगशालाको विकास, शैक्षिक सामग्रीको व्यवस्थापन र विद्यार्थीकै बौद्धिक क्षमताको विकासमा ध्यान दिएकाले नतिजामा पनि सुधार देखिएको हो।”

    उहाँले थप्दै विद्यालयको समग्र प्रगतिको श्रेय शिक्षक, अभिभावक, व्यवस्थापन समिति र स्थानीय समुदायको निरन्तर सहयोगलाई दिनुभयो। विद्यालयको यस प्रगतिमा सबैको योगदान रहेको उल्लेख गर्दै उहाँले सबैप्रति आभार व्यक्त गर्नुभएको छ।“विद्यालयका प्रधानाध्यापक विजय ढकालले विद्यार्थीहरूको अथक प्रयास र शिक्षकहरूको निरन्तर योगदानले विद्यालयको शिर उच्च भएको बताउनुभयो। आगामी दिनमा विद्यालयको नतिजा अझ सुधार गर्दै, विद्यार्थीहरूलाई बौद्धिक कार्यक्रमहरूमा समेत सक्रिय बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।”

  • सत्यवतीका जुम्लिया दिदीबहिनी SEE २०८१ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण

    सत्यवतीका जुम्लिया दिदीबहिनी SEE २०८१ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण

    असार १४ रिडी
    चुरामणी तिमिल्सिना

    सत्यवती गाउँपालिका–५ हसरा निवासी लेखनाथ भण्डारी र बिष्णा देवी भण्डारीका जुम्लिया छोरीहरू निशा भण्डारी र ईशा भण्डारीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजासहित सफलता हासिल गरेका छन्।

    निशाले ३.५३ जीपीए र ईशाले ३.७ जीपीए प्राप्त गर्दै दुवै जना उत्तीर्ण भएका हुन्। उनीहरू सत्यवती बहुमुखी क्यापस हसरा केन्द्रबाट परीक्षा दिएका थिए।
    यस सफलतापछि उनीहरूले आगामी दिनमा विज्ञान विषय लिएर अध्ययन गर्ने योजना बनाएको अनलाइन खबरसँग प्रतिक्रिया दिँदै बताएका छन्।
    “हामीले घरबाटै इमान्दारिता र अनुशासनको पाठ सिक्दै आएका हौं। विद्यालयको सहायताले हामी अझ धेरै उत्साहित भएका थियौं,” – ईशा भन्छिन्।

    नतिजापछि उनीहरूले विद्यालय, आदरणीय गुरुवर्ग, अभिभावक, दाजुभाइ तथा दिदीबहिनीप्रति आभार प्रकट गरेका छन्।
    “हामीले आज बुवा–आमाको इज्जत अगाडि बढाएका छौं भन्ने महसुस गरेका छौं,” – निशा भन्छिन्।
    विद्यालयले सञ्चालन गरेका अतिरिक्त कक्षाहरू पनि यस सफलताको महत्त्वपूर्ण आधार भएको उनीहरूले बताएका छन्।

    उता, बुवा लेखनाथ भण्डारी र आमा बिष्णा देवी भण्डारीले आफ्ना सात सन्तानमध्ये ६ छोरीहरूले एसईई परीक्षा उत्तीर्ण गरिसकेको र अहिले सबै उच्च शिक्षा अध्ययनमा रहेका जानकारी दिएका छन्।
    एक छोरा क्याम्पस अध्ययनसँगै घरायसी कार्यमा सघाउँदै आइरहेका छन्।

    “मेरो सपना थियो, छोराछोरीले कम्तिमा एसईई पास गरून्। आज त्यो सपना पुरा भएको छ,” – पिता लेखनाथ भन्छन्, “विद्यालयले देखाएको सद्भाव, मायाले आज यो सम्भव भएको हो।”

    जुम्लिया छोरीहरूका सफलताले भण्डारी परिवारमा मात्र होइन, समग्र समुदायमा पनि खुसी छाएको छ।

  • रामकोट आधारभूत विद्यालयमा श्रुति लेखन प्रतियोगिता सम्पन्न

    रामकोट आधारभूत विद्यालयमा श्रुति लेखन प्रतियोगिता सम्पन्न

    असार १३
    चुरामणी तिमिल्सिना

    रामकोट आधारभूत विद्यालय, चन्द्रकोट गाउँपालिका–७, दमुकामा शुक्रबार विशेष कार्यक्रम अन्तर्गत श्रुति लेखन प्रतियोगिता सम्पन्न भएको छ। कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ९१ जना विद्यार्थीहरूले उक्त प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाएका थिए।

    बिरलै आयोजना हुने श्रुति लेखन प्रतियोगिताबाट विद्यार्थीहरूको भाषा सीप, ध्यान केन्द्रित गर्ने क्षमता र लेखन शुद्धता अभिवृद्धिमा टेवा पुग्ने विद्यालय पक्षको विश्वास रहेको छ। यसअघि पनि विद्यालयले हाजिरीजवाफ, लोक नृत्य, चित्रकला, वक्तृत्वकला, दुना-टपरी बनाउने जस्ता विभिन्न सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल सुनारले विद्यार्थीकै समग्र विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भन्दै विद्यालयका शिक्षक-शिक्षिकालाई धन्यवाद ज्ञापन गर्नुभयो

     

    विद्यालयका प्रधानाध्यापक बसन्ती अर्याल न्यौपानेले प्रतियोगिताबाट विद्यार्थीको बौद्धिक क्षमताको विकास हुनुका साथै अभिभावकमाझ सचेतना फैलिने विश्वास व्यक्त गर्नुभयो।

    प्रतियोगितामा शुद्ध लेखन गर्ने सबै विद्यार्थीलाई हौसलाका लागि स्टेसनरी सामग्री वितरण गरिएको थियो। विद्यालयमा प्रत्येक शुक्रबार फरक–फरक सिर्जनात्मक कार्यक्रम सञ्चालन हुँदै आएको छ। कहिले योग अभ्यास, कहिले खाजा बनाउने तालिमजस्ता कार्यक्रममार्फत विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने प्रयास भइरहेको विद्यालयले जनाएको छ।

    हाल विद्यालयमा ९१ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा खाजा कार्यक्रम सञ्चालनमा आएपछि विद्यार्थी तथा अभिभावक दुवैमा खुसी छाएको छ।

  • सत्यवती गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

    सत्यवती गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

    सत्यवती गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

    असार १०
    चुरामणि तिमिल्सिना रिडी

    सत्यवती गाउँपालिका, गुल्मीको १७औं गाउँसभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ। गाउँपालिका सभाहलमा आयोजित सभामा गाउँपालिका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा बैठक बसेको हो। गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पाण्डेले समग्र गाउँपालिकाको समृद्धिको मार्गचित्र सार्वजनिक गर्नुभएको छ।

    सभामा अध्यक्ष पाण्डेले कृषि, शिक्षा, स्वास्थ्य, यातायात र पर्यटन क्षेत्रमा विशेष जोड दिइने नीति सार्वजनिक गर्नुभएको छ। आउँदो वर्ष गाउँपालिकालाई ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने योजना रहेको जनाइएको छ। यस्तै, हरियालीसहितको सडक विकास कार्यक्रमअन्तर्गत सडकछेउ वृक्षारोपण गरिनेछ।

    पालिकाले दूधजन्य उद्योग स्थापना, १५ सैयाको अस्पताललाई समयमा नै सञ्चालन, अधुरा योजनाहरू सम्पन्न गर्ने तथा एकीकृत बस्ती विस्तार गर्ने योजना अघि सारेको छ। वडा नं. ८ भार्से, वडा नं. ३ ठुलो लुम्पेक र वडा नं. ४ स्थित एकसिङ गाउँलाई ऐतिहासिक–साँस्कृतिक गाउँको रूपमा विकास गरिने भएको छ।

    त्यसैगरी सत्यवती क्षेत्रका सम्पूर्ण धार्मिक, पौराणिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गरिने छ। ‘समृद्ध सत्यवती–मेरो एक दिनको लगानी’ अभियानमार्फत स्थापित कोषलाई सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारमा खर्च गरिने नीति सार्वजनिक गरिएको छ।

    सडक किनार र घरघरमा बहुमूल्य जडीबुटी (अगुरवुड, श्रीखण्ड, हलुवाबेद, दातेओखर, टिमुर आदि) रोप्ने अभियान चलाइने छ। नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन, प्लास्टिक भाडा निषेध, कोशेली घर, चिस्यान तथा प्रशोधन केन्द्र सञ्चालन, बाख्राश्रोत केन्द्र स्थापनालगायत कार्यक्रम अघि सारिनेछ।

    त्यसैगरी, सतुवा, बिखमारि, अगुरवुड, श्रीखण्ड, चिराइतोलगायत अन्य औषधीय बालीहरूको प्रवर्द्धन, बाँझो जमिनको तथ्याङ्क संकलन, टिमुर पकेट क्षेत्र घोषणा, सम्भावित क्षेत्रमा होमस्टे सञ्चालन, कालीगण्डकी नदीको साघुरे क्षेत्रमा ड्याम निर्माण गरी साघुरेदेखि ठूला बगरसम्म ताल निर्माण गर्ने र एक लाख शालिग्रामको शिवलिङ्ग निर्माण गरी स्नान क्षेत्र बनाउने नीति अघि सारिएको छ।

    ‘मेरो विद्यालय–मेरो दायित्व’ अभियान सबै विद्यालयमा लागू गरिनेछ। एसईई परीक्षामा ४.० जीपीए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ।

    पुर्खौली पेशालाई आधुनिक उद्योगमा रूपान्तरण गरी आय आर्जनसँग जोडिनेछ। अध्यक्ष स्वयंले मेडिकल अधिकृतसहित जेष्ठ नागरिकसँग भेटघाट गरी स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। गर्भवती तथा सुत्केरी महिलासँग अन्तरक्रिया गरी ग्रामीण क्षेत्रमा मृत्यु दर न्यूनीकरणका लागि अल्ट्रासाउन्ड सेवा लगायत व्यवस्था गरिनेछ।

    विपन्न नागरिक तथा परिवारलाई पहिचान गरी एकपटकका लागि निःशुल्क बीमा सुविधा दिने नीति पनि ल्याइएको छ। आयुर्वेद र वैकल्पिक उपचार प्रणालीको प्रवर्द्धन गरिने तथा “मेरो घरको फोहोर म आफैं व्यवस्थापन गर्छु” भन्ने नारासहित कुहिने–नकुहिने फोहोर छुट्याएर संकलन गरिने व्यवस्था मिलाइनेछ।

    बालविवाह अन्त्यका लागि दौतरी शिक्षा र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ। वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको ज्ञान, सीपको सदुपयोग गरी स्वरोजगार तथा उद्यमशीलता विकासमा जोड दिइनेछ। भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गरिनेछ।

    न्यायिक समितिमा आउने उजुरीहरूको प्रभावकारी निरूपण गरिने पनि नीति कार्यक्रममा समावेश गरिएको छ।

    गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामुज्यूले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रू. ५७ करोड ६५ लाख ८५ हजारको बजेट प्रस्ताव पेश गर्नुभएको छ। कार्यक्रम को सहजीकरण प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले गर्नु भएको थियो।