एसईईमा उत्कृष्ट नतिजा: सत्यवती माविका विद्यार्थीको सम्मान पञ्चेबाजासहित

पाल्पा चुरामणि तिमिल्सिना , असार१५

सत्यवती गाउँपालिका–५ हँसारामा रहेको सत्यवती माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेका विद्यार्थीलाई भव्य समारोहका बीच सम्मान गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न उक्त सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे प्रमुख अतिथि रहनु भएको थियो।

अध्यक्ष पाण्डेले समारोहलाई सम्बोधन गर्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीहरूको समर्पण, पालिकाबाट प्रदान गरिएको तालिमको प्रभाव र निरन्तर प्रयासकै कारण विद्यालयले यस्तो उत्कृष्ट परिणाम हासिल गर्न सफल भएको बताउनुभयो। साथै, आगामी दिनहरूमा पनि विद्यालयले यस्तै प्रेरणादायी नतिजा ल्याउनेमा आशावादी रहेको अभिव्यक्ति दिनुभयो।

कार्यक्रममा उपाध्यक्ष निरमाया तरामु, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, शिक्षा शाखा प्रमुख, विभिन्न शाखा प्रमुखहरू, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, अभिभावकज्यूहरूको उपस्थिति थियो।

समारोहमा विद्यालयले जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल अर्जुन भण्डारी र सिर्जित भण्डारीलाई विशेष रूपमा सम्मान गर्दै भविष्यको सफलताको शुभकामना व्यक्त गर्‍यो। यी दुवै विद्यार्थीले ४.०० जीपीए ल्याएर जिल्ला र विद्यालयको गौरव बढाएका हुन्। उनीहरू सामान्य परिवारमा जन्मिए पनि कठिन परिश्रम र गुरुजनको मार्गदर्शन अनुसार अगाडि बढेकाले यो उपलब्धि हासिल गर्न सफल भएको अभिभावकहरूले बताएका छन्।

समारोहमा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई खादा, टीका र प्रमाणपत्र प्रदान गरिएको थियो। विद्यालयले बाजागाजासहितको र्याली आयोजना गरी गाउँ बजार परिक्रमा गराउँदै विद्यार्थीको सफलतालाई उत्सवको रूपमा मनाएको हो।

विद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार:

४.०० जीपीए: २ जना

३.६० – ४.००: १३ जना

३.२० – ३.६०: १५ जना

२.८० – ३.२०: २६ जना

२.४० – २.८०: ७ जना रहेका छन्।

कार्यक्रमको स्वागत मन्तव्य केशवराज आचार्यले प्रस्तुत गर्नुभएको थियो।  कार्यक्रममा   बिद्यालयका तर्फबाट  प्रधानाध्यापक    कृष्ण  प्रसाद  भण्डारीले शुभकामना   प्रदान गर्नु भएको   थियो। भने सञ्चालन प्रकाश भट्टराईले गर्नुभएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1102