असार १४ रिडी
चुरामणी तिमिल्सिना
सत्यवती गाउँपालिका–५ हसरा निवासी लेखनाथ भण्डारी र बिष्णा देवी भण्डारीका जुम्लिया छोरीहरू निशा भण्डारी र ईशा भण्डारीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजासहित सफलता हासिल गरेका छन्।
निशाले ३.५३ जीपीए र ईशाले ३.७ जीपीए प्राप्त गर्दै दुवै जना उत्तीर्ण भएका हुन्। उनीहरू सत्यवती बहुमुखी क्यापस हसरा केन्द्रबाट परीक्षा दिएका थिए।
यस सफलतापछि उनीहरूले आगामी दिनमा विज्ञान विषय लिएर अध्ययन गर्ने योजना बनाएको अनलाइन खबरसँग प्रतिक्रिया दिँदै बताएका छन्।
“हामीले घरबाटै इमान्दारिता र अनुशासनको पाठ सिक्दै आएका हौं। विद्यालयको सहायताले हामी अझ धेरै उत्साहित भएका थियौं,” – ईशा भन्छिन्।
नतिजापछि उनीहरूले विद्यालय, आदरणीय गुरुवर्ग, अभिभावक, दाजुभाइ तथा दिदीबहिनीप्रति आभार प्रकट गरेका छन्।
“हामीले आज बुवा–आमाको इज्जत अगाडि बढाएका छौं भन्ने महसुस गरेका छौं,” – निशा भन्छिन्।
विद्यालयले सञ्चालन गरेका अतिरिक्त कक्षाहरू पनि यस सफलताको महत्त्वपूर्ण आधार भएको उनीहरूले बताएका छन्।
उता, बुवा लेखनाथ भण्डारी र आमा बिष्णा देवी भण्डारीले आफ्ना सात सन्तानमध्ये ६ छोरीहरूले एसईई परीक्षा उत्तीर्ण गरिसकेको र अहिले सबै उच्च शिक्षा अध्ययनमा रहेका जानकारी दिएका छन्।
एक छोरा क्याम्पस अध्ययनसँगै घरायसी कार्यमा सघाउँदै आइरहेका छन्।
“मेरो सपना थियो, छोराछोरीले कम्तिमा एसईई पास गरून्। आज त्यो सपना पुरा भएको छ,” – पिता लेखनाथ भन्छन्, “विद्यालयले देखाएको सद्भाव, मायाले आज यो सम्भव भएको हो।”
जुम्लिया छोरीहरूका सफलताले भण्डारी परिवारमा मात्र होइन, समग्र समुदायमा पनि खुसी छाएको छ।



