सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गर्यो :एमाले उपाध्यक्ष नेम्वाङ

बुटवल ।
नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् ।

उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणाजस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको बताए ।

प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिक दबाब र एमालेको माग थेग्न नसकेर सरकारले छापामार शैलीमा निर्वाचनको घोषणा गरे पनि एमाले खुसी भएको स्पष्ट पारे ।

उनले मंसिर ४ गते निर्वाचनमा सम्पूर्ण बहिखाता बोकेर निर्वाचनमा जाने बताए ।‘एमाले सम्पूर्ण बहिखाता बोकेर जनतामा जान्छ,’उनले भने,‘निष्पक्ष, भयरहित निर्वाचन गराउने विषयमा एमालेको सरकारलाई सहयोग रहने छ ।’

उपाध्यक्ष नेम्वाङले एमालेको आधिकारिक धारणा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी नै रहेको बताए ।

अहिलेको गठबन्धन सरकार दूषित रहेको टिप्पणी गर्दै उनले संसारभर चलेको संसदीय मूल्यमान्यताविपरीत नेपालमा सत्तापक्षले प्रमुख प्रतिपक्षका विरुद्ध घेराबन्दी गरिरहेको बताए ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 957

Leave a Reply

Your email address will not be published. Required fields are marked *