घरेलु तथा साना उद्याेग कार्यालय गुल्मीद्वारा उद्यमशिलता विकास तालिम सुरु
गुल्मी, फागुन १२ – घरेलु तथा साना उद्याेग कार्यालय गुल्मीकाे आयाेजनामा रूरूक्षेत्र गाउँपालिका वडा नम्बर १, भट्कुवामा ४१ जना महिलाहरूका लागि सात दिने उद्यमशिलता विकास तालिम सुरु भएकाे छ। तालिम उद्घाटन समारोहमा कार्यालय प्रमुख राजीव अर्याल, वडा न १ का वडा अध्यक्ष नवराज वि.क., स्थानीय जनप्रतिनिधि तथा समुदायका अगुवा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष राजिव अर्यालले महिलाहरूलाई उद्यमशिलतामा प्रोत्साहन गर्दै स्वरोजगारको अवसर सिर्जना गर्न यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउनु भएको थियो। उहाँले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सीप विकास तथा उद्यम प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाउनु भयो।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष नवराज वि.क.ले स्थानीय स्तरमै रोजगार सृजना गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरू फलदायी हुने उल्लेख गर्दै गाउँपालिकाले पनि उद्यमशिलता प्रवर्द्धनका कार्यक्रमहरूलाई प्राथमिकता दिने बताउनु भयो।
तालिममा स्थानीय स्तरमा पाइने स्रोतसाधनको उपयोग गरी व्यवसाय सञ्चालन गर्ने तरिका, वित्तीय व्यवस्थापन, बजार प्रवर्द्धन, उत्पादनको गुणस्तर सुधार जस्ता विषयमा प्रशिक्षण केन्द्रीत रहने छ ।
उद्घाटन कार्यक्रममा सहभागी अतिथिहरूले तालिममा सहभागी महिलाहरूलाई उत्साहित बनाउँदै सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाव समेत दिनु भएको छ ।
सात दिनसम्म सञ्चालन हुने यो तालिमबाट महिलाहरूलाई स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास गरिएको छ।तालिमकाे प्रशिक्षण उद्यमशिलता विकास सहजकर्ता त्रिविक्रम ज्ञवाली तथा विभिन्न विज्ञबाट हुने समाचारमा उल्लेख गरिएको छ ।
