गुल्मीको चन्द्रकोटमा इतिहासकै पहिलो धजा महोत्सव, १ लाख धजा अर्पण गर्ने तयारी

 

चुरामणि तिमिल्सिना रिडी भदौ २८

गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटमा बडा दशैंको अवसर पारेर सम्बत इतिहासमै पहिलोपटक धजा महोत्सव आयोजना हुने भएको छ। धार्मिक तथा पौराणिक दृष्टिले महत्त्वपूर्ण महालक्ष्मी देवी देउराली मन्दिर परिसरमा १ लाख धजा अर्पण गर्ने विशेष कार्यक्रमको तयारी तीव्र पारिएको छ।

‘एक धजा आस्था , एक लाख धजा एकता’ भन्ने मूल नाराका साथ आयोजना हुन गै इरहेको महोत्सवलाई सफल बनाउन सामाजिक सञ्जालमार्फत सहयोग र बधाई सन्देश सङ्कलनको क्रम जारी छ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार न्यौपानेका अनुसार, यस अभियानले समाजमा शान्ति–सद्भाव फैलाउने उद्देश्य लिएको छ। प्रतिपदादेखि दशैंको टिकासम्म भक्तजनले धजा अर्पण गर्नसक्ने व्यवस्था गरिएको समितिका सचिव यज्ञमूर्ति भण्डारीले जानकारी दिनुभयो।धजा महोत्सवसँगै श्रीमद् देवीभागवत महापुराण पारायण, कथा–प्रवचन, यज्ञ, भजन–कीर्तन लगायतका धार्मिक कार्यक्रमहरू पनि आयोजना हुने छन्। हालसम्म झण्डै ६० हजारभन्दा बढी धजा सङ्कलन भइसकेको समितिले जनाएको छ।

इतिहासमै पहिलोपटक आयोजना हुन लागेको यो विशेष कार्यक्रमप्रति स्थानीयवासी उत्साहित छन्। महोत्सवलाई सफल बनाउन देश–विदेशमा रहेका सम्पूर्ण भक्तजनलाई आयोजकले सहयोग र सहभागिताका लागि अपिल गरेको छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1084