चुरामणि तिमिल्सिना रिडी असोज ३०
रुरुक्षेत्र गाउँपालिकामा आयोजना गरिएको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ बुधबार गाउँपालिकाको घिउबेंसी खेलमैदानमा भव्य कार्यक्रमका साथ उद्घाटन गरिएको हो।
गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन सत्रका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य तथा पूर्व सांसद कमलराज श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका इकाई प्रमुख थानेस्वर गौतम , नेपाल सरकारका पूर्व सहसचिव थानेश्वर ज्ञवाली विशिष्ट अतिथि रहनुभएको थियो।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले खेलकुद मानव स्वास्थ्यका लागि अत्यन्त आवश्यक भएको उल्लेख गर्दै खेलले शरीरका हरेक अङ्गको कसरत गराउने र विश्वस्तरमा पहिचान दिलाउने माध्यम भएको बताउनुभयो। उहाँले गाउँपालिकाले समयमै प्रतियोगिता सञ्चालन गरेर विद्यार्थीलाई अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा नयाँ–नयाँ खेल रचनात्मक रूपमा आयोजना गर्न आग्रह गर्नुभयो।
त्यसैगरी, विशिष्ट अतिथि गौतमले रुरुक्षेत्र गाउँपालिकाले उपयुक्त समयमा प्रतियोगिता सञ्चालन गरेर विद्यार्थीको नियमित अध्ययनमा असर नपर्ने गरी तालिका निर्माण गरेको प्रशंसा गर्नुभयो। उहाँले अन्य स्थानीय तहहरूले पनि यस्तो उदाहरणबाट सिक्न सक्ने बताउनुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले स्वागत मन्तव्य राख्दै प्रतियोगिताको उद्देश्य र महत्वबारे जानकारी दिनुभयो।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले आफ्नो मन्तव्यमा पालिकाको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै पालिकाभित्र भइरहेको स्मार्ट बोर्डसम्बन्धी विवादका विषयमा जनतालाई भ्रममा नपर्न आग्रह गर्नुभयो। उहाँले छलफल र सहमतिको माध्यमबाट समस्या समाधान गर्न सकिने बताउँदै आगामी बजेटमा जनअपेक्षा अनुरूपका कार्यक्रमहरू समावेश गरिने जानकारी दिनुभयो।
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, पत्रकार, विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। बुधबार सम्पन्न खेलअन्तर्गत जनबोध माध्यमिक विद्यालय, रानीबासले उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ।
कार्यक्रमको सहजीकरण जनबोध माध्यमिक विद्यालयका प्रधानाध्यापक बामदेव ज्ञवाली र शिक्षा शाखाका तेजबहादुर कुमालले गर्नुभएको थियो।



