रुरुधाम रिडीमा मंसिर ९ गते एघारौँ भजन महोत्सव तथा दोहोरो शंख प्रतियोगिता हुने
पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरुधाम रिडीमा आगामी मंसिर ९ गते एघारौँ भजन महोत्सव तथा दोहोरो शंख प्रतियोगिता हुने भएको छ। रुरु धार्मिक सेवा सञ्चार प्रालिको आयोजनामा हुन लागेको सो कार्यक्रम विवाह पञ्चमीको अवसर पारेर आयोजना गर्न लागिएको हो।
प्रालिका अध्यक्ष चुरामणि तिमिल्सिनाका अनुसार पछिल्ला वर्षहरूमा लोप हुँदै गएका लोक भजनहरूको संरक्षण गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो। उनले भने, “सनातन हिन्दू धर्म, संस्कार र संस्कृतिका रूपमा रहेका लोक भजनहरूको संरक्षणका लागि हामी निरन्तर अग्रसर छौँ। महोत्सव र प्रतियोगितामार्फत् भजन प्रवर्द्धन गर्न विगत १० वर्षदेखि सक्रिय छौं।”

उनका अनुसार युवा पुस्ता विदेश पलायन र पुस्तान्तरण नहुँदा लोक भजनको परम्परा संकटमा परेकाले यस किसिमका कार्यक्रम अत्यावश्यक भएका हुन्। महोत्सवमा विगतका वर्षझैँ दोहोरो शंख प्रतियोगिता, कालीगण्डकी दीप प्रज्वलन, पत्रकार, उत्कृष्ट कृषक तथा दानदातालाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ। साथै विभिन्न पाठ, चौरासी पुजा, तुलादान, पारायण तथा विविध धार्मिक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्।
भजन प्रतियोगितामा प्रथम हुनेले रु १५,००० र प्रमाणपत्र, द्वितीयले रु १०,००० र प्रमाणपत्र, तृतीयले रु ७,००० र प्रमाणपत्र, सान्त्वना हुनेले रु ३,००० र प्रमाणपत्र पाउनेछन्। सहभागी सबैलाई रु १,५०० र प्रमाणपत्र दिइनेछ।

शंख बजाउने प्रतियोगितामा भने प्रथमले रु २,०००, द्वितीयले रु १,५००, तृतीयले रु १,००० र दुई सान्त्वना विजेताले रु ५०० का दरले पुरस्कार प्राप्त गर्नेछन्।
महोत्सवको प्रचारप्रसार मर्यादित र प्रभावकारी बनाउन पत्रचार र विभिन्न स्थानहरूमा पुगेर तयारी कार्य अघि बढाइएको रुरु अनलाइन सञ्चार प्रालिका प्रधान सम्पादक विष्णु प्रसाद पाण्डेले बताए। उनका अनुसार महोत्सवमा सहभागी भक्तजनका लागि भण्डाराको व्यवस्था समेत गरिएको छ।
कार्यक्रमका क्रममा सम्पूर्ण पितृहरूको सम्झना गर्दै पुराण पाठ पारायण, चौरासी पुजा, वेदपाठ, चण्डीपाठ, शिवपुजा र ग्रहशान्ति जस्ता धार्मिक क्रियाकलापहरू गरिनेछन्। साथै एक हजार रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दातालाई सम्मान गरिनेछ।
रुरुक्षेत्र धामको पवित्र स्थल रुरुधाम रिडीमा हुने यो कार्यक्रम धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण हुने आयोजक समितिका सहयोगी खेमराज ज्ञवालीले जानकारी दिए।



