४० दिने हार्मोनियम प्रशिक्षण गुल्मीको सत्यवतीमा सुरु

प्रतिमा भट्टराई  रिडी   जेष्ठ  १३

गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत उल्लिखोलामा ४० दिने हार्मोनियम प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको छ। “धार्मिक स्थलहरूलाई संरक्षण गरौँ, पर्यटन आगमनमा वृद्धि गरौँ” भन्ने मूल नारासहित रुरु धार्मिक सेवा सञ्चार प्रा.लि. को आयोजनामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै धार्मिक व्यक्तित्व लक्ष्मण ढकाल ले गाउँघरमा लुकेर रहेका प्रतिभाहरूलाई संगीतका माध्यमबाट बाहिर ल्याउन सकिए मात्र व्यक्तित्व विकास सम्भव हुने बताउनुभयो। पछिल्लो समय गाउँघरमा हार्मोनियम, मादल तथा रमझुराप्रति बढ्दो आकर्षण देखिएको उल्लेख गर्दै आफूहरूलाई पनि यस्तो कार्यक्रममा सहभागी भएर सिक्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले अन्यलाई समेत कार्यक्रममा सहभागी हुन आग्रह गर्दै संगीत अभ्यासले बुढेसकालमा मनलाई आनन्द दिने, दुःख बिर्साउने तथा मानसिक सन्तुलन कायम राख्न सहयोग पुग्ने बताउनुभयो।प्रशिक्षण कार्यक्रममा स्थानीय पाका पुस्ताको उल्लेखनीय सहभागिता रहेको छ। सहभागीका तर्फबाट धारणा राख्दै रामु ढकाल ले लामो समयदेखि सिक्न चाहेको विषय आज व्यवहारमा प्राप्त हुँदा अत्यन्त खुसी लागेको बताउनुभयो। उहाँले आसपासका दिदीबहिनी, दाजुभाइ तथा युवायुवतीहरूलाई कार्यक्रममा सहभागी भएर प्रशिक्षण लिन हार्दिक अपिल समेत गर्नुभयो।कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख प्रशिक्षक राष्ट्रिय भजन गायक बिपिन तिवारी ले पछिल्लो समय भजन क्षेत्रमा बढ्दो आकर्षणका कारण आफूलाई समय व्यवस्थापन गर्न समेत कठिन भएको अनुभव सुनाउनुभयो। उहाँले प्रशिक्षणमार्फत गाउँघरमा लुकेर रहेका भजनका लयहरूलाई हार्मोनियममा बजाउन सक्ने क्षमता विकास गराउने, भजन–चुड्कालाई सही लयमा गाउन सिकाउने तथा यहाँ प्रशिक्षण लिने विद्यार्थीहरूलाई भविष्यमा अन्यत्र पनि प्रशिक्षकको भूमिकामा काम गर्न सक्ने बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, कार्यक्रम आयोजना गर्ने धार्मिक संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभयो।कार्यक्रममा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै चुरामणि तिमल्सिना ले रिडी तथा आसपासका क्षेत्रमा यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताउनुभयो। उहाँले आगामी दिनमा स्थानीय सरकार, वडा कार्यालय तथा विद्यालयहरूसँग सहकार्य गर्दै अन्य स्थानमा समेत कार्यक्रम विस्तार गरिने जानकारी दिनुभयो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1110