जन्म दिनमा फजुल खर्च होइन, समाजसेवा : युवा व्यवसायी गणेश भट्टराईद्वारा विद्यालय र स्वास्थ्य संस्थालाई सहयोग
चुरामणि तिमिल्सिना रिडी २८
जन्मदिन मनाउने परम्परा पछिल्लो समय विभिन्न शैलीमा विकसित हुँदै गएको छ। अधिकांश युवापुस्ताले केक काट्ने, भोजभतेर गर्ने, होटल तथा रेष्टुरेन्टमा साथीभाइसँग रमाइलो गरेर जन्मदिन मनाउने चलन बढ्दो छ। तर समाजलाई सकारात्मक सन्देश दिने र उदाहरणीय कार्यमार्फत जन्मदिन मनाउने अभ्यास भने कमै देखिन्छ।
यही परिप्रेक्ष्यमा गुल्मीको सत्यवती गाउँपालिका–४, लिम्घाका धार्मिक, आध्यात्मिक तथा सफल युवा व्यवसायी गणेश भट्टराईले आफ्नो जन्मदिनलाई समाजसेवासँग जोड्दै फरक शैलीमा मनाउनुभएको छ। फजुल खर्च कटौती गरी रचनात्मक तथा सामाजिक कार्यमा रकम खर्च गरेर उहाँले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुभएको हो।
भट्टराईले लिम्घास्थित विभिन्न शैक्षिक तथा सामाजिक संस्थाहरूलाई सहयोग प्रदान गर्नुभएको छ। यसक्रममा उहाँले लिम्घा स्वास्थ्य चौकीलाई एक थान भित्ते घडी प्रदान गर्नुका साथै अति विपन्न सुत्केरी महिलाहरूको यातायात खर्च व्यवस्थापनका लागि रु. २,००० सहयोग गर्नुभएको छ।
त्यसैगरी, नवदुर्गा आधारभूत विद्यालयका ६ जना विद्यार्थीलाई विद्यालयमै पुगेर शैक्षिक सामग्री वितरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक पिताम्बर ज्ञवालीले जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता रचनात्मक कार्यले विद्यालय परिवारलाई प्रेरणा मिलेको छ भने अन्य व्यक्तिहरूले पनि यसबाट सिको गर्नुपर्ने आवश्यकता रहेको छ।
यस्तै, सरस्वती माध्यमिक विद्यालय, लिम्घाका ८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यालयको विद्यार्थी कल्याणकारी कोषमा रु. आर्थिक सहयोग प्रदान गरिएको छ। विद्यालयका प्रधानाध्यापक मणिप्रसाद ज्ञवालीले यस्तो सहयोगले विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने र अभिभावकमा समेत सकारात्मक सोचको विकास हुने बताउनुभयो। उहाँले जन्मदिन जस्ता अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्नु अनुकरणीय कार्य भएको उल्लेख गर्दै भट्टराईलाई शुभकामना व्यक्त गर्नुभयो। यस्तै लिम्घा निवासी बिरामी लाई उपचारका लागि पनि आर्थिक सहयोग गर्नु भएको छ ।
त्यसैगरी, एकसिङ्ग माध्यमिक विद्यालयका ६ जना विद्यार्थीलाई समेत शैक्षिक सामग्री वितरण गर्नुका साथै विपन्न विद्यार्थी कल्याण कोषमा आर्थिक सहयोग प्रदान गरिएको छ। विद्यालयमा अध्ययनमा अब्बल तर आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको सहयोगका लागि आफूले यस्तो अभियान सञ्चालन गरेको भट्टराईले बताउनुभयो।
“रकम धेरै नभए पनि जन्मदिनको अवसरमा विद्यालय पुगेर विद्यार्थी भाइबहिनीहरूसँग खुसी साट्न पाउँदा अत्यन्तै सन्तुष्टि मिलेको छ,” भट्टराईले भन्नुभयो, “आगामी दिनमा पनि यस्ता रचनात्मक र समाज उपयोगी कार्यमार्फत सकारात्मक सन्देश फैलाउने प्रयास निरन्तर रहनेछ।”
भट्टराईको यस कार्यले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई समाज परिवर्तन र मानवीय सेवासँग जोड्न सकिने सन्देश दिएको स्थानीयवासीहरूले बताएका छन्। समाजमा बढ्दो फजुल खर्च र देखासिकी संस्कृतिका बीच उहाँको यो अभियान धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। 



