पढाइसँगै रोजगारी : बुटवल उपमहानगरपालिकाद्वारा ‘पढाइ सँग रोजगार’ कार्यक्रम शुभारम्

पढाइसँगै रोजगारी : बुटवल उपमहानगरपालिकाद्वारा ‘पढाइ सँग रोजगार’ कार्यक्रम शुभारम्

चुरामणि तिमिल्सिना  रिडी  जेष्ठ  २७
बुटवल उपमहानगरपालिकाले विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक अनुभव र रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले ‘पढाइ सँग रोजगार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। आजदेखि औपचारिक रूपमा सुरु गरिएको यस कार्यक्रमअन्तर्गत क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई राजस्व व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्दै सीमित अवधिको रोजगारी उपलब्ध गराइनेछ।
उपमहानगरपालिकाका अनुसार विभिन्न क्याम्पसको सिफारिसका आधारमा प्रारम्भिक चरणमा १०० जना विद्यार्थी छनोट गरिएको छ। कार्यक्रममार्फत विद्यार्थीहरूले स्थानीय सरकारको राजस्व प्रणाली, कर प्रशासन तथा सेवाप्रवाहसम्बन्धी व्यवहारिक अनुभव हासिल गर्ने अवसर पाउनेछन्।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई बुटवल उपमहानगरपालिकाका १९ वटै वडामा परिचालन गरिनेछ। यसबाट विद्यार्थीहरूलाई अध्ययनसँगै सार्वजनिक प्रशासनको अनुभव प्राप्त हुने, आत्मविश्वास वृद्धि हुने तथा रोजगारीसम्बन्धी सीप विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

कार्यक्रम शुभारम्भ समारोहमा खेलराज पाण्डे सहित जनप्रतिनिधि, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले युवाहरूलाई सीप, अनुभव र अवसरसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले स्थानीय सरकार र शैक्षिक संस्थाबीचको सहकार्यले विद्यार्थीको क्षमता अभिवृद्धि तथा भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।बुटवल उपमहानगरपालिकाले विद्यार्थीमैत्री र रोजगारमुखी कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। स्थानीय तहबाट विद्यार्थीलाई अध्ययनसँगै अनुभव र आम्दानीको अवसर प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमलाई नवीन तथा उदाहरणीय पहलका रूपमा हेरिएको छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1113