Blog

  • रुरुक्षेत्र गाउँपालिका गुल्मीले तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न ।

    रुरुक्षेत्र गाउँपालिका गुल्मीले तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न ।

    रुरुक्षेत्र गाउँपालिका गुल्मीले तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न गरेको छ ।

     

    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले गाउँपालिकाको बित्तिय प्रगति तथा योजना कार्यान्वयनको अवस्थाको जानकारी सहितको प्रतिबेदन सार्वजनिक गर्नु भएको थियो ।

    गाउँपालिकाको हाल सम्मको बित्तिय प्रगति ८० प्रतिशत भएको र केही योजनाको भुक्तानी प्रक्रियामा रहेकोले बित्तिय प्रगति बढ्ने बिस्वास ब्यक्त गर्नु भयो ।

    पछिल्लो समय सामाजिक संजालमा पालिकाका पदाधिकारी लक्षित तथ्यहिन बिषय सार्वजनिक गरि समग्र रुरुक्षेत्र गाउँपालिकाको प्रतिष्ठामा आँच पुर्याउने कार्य भएकोमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।

    पालिकामा माध्यमिक बिद्यालयमा स्मार्ट बोर्ड जडानको बिषयमा जानकारी गराउदै सामान खरिदको लागि सम्बन्धित बिद्यालयलाई नै कार्यपालिकाको निर्णय बमोजिम अख्तियारी दिईएको र विद्यालयले खरिद प्रकृया संचालन गरेको अवस्थामा ब्यवसायिक प्रतिस्पर्धा कारण बोलपत्रको समय नसकिदै व्यापारीले स्मार्ट बोर्ड जडान गरिदिएको जानकारी कार्यालयलाई प्राप्त भए पश्चात उक्त सामग्री तत्काल फिर्ता गर्न विद्यालयलाई निर्देशन दिएको र यसमा कुनै पनि भुक्तानीको प्रक्रिया अगाडी नबढेको उहाले बताउनु भयो ।

    गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कार्यक्रमको सुभारम्भ गर्दै, पछिल्लो समयमा पूर्वाग्रपूण ढंगले समाजिक संजालमा आएका अनाधिकृत बिषयको भ्रममा नपर्न आग्रह गर्दै तथ्थ सहित पालिकाका पदाधिकारीको अनियमितताको बिषय कोही कसैले ल्याए आफै पनि दण्डकोभगी बन्न पछि नपर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाले अनियमितता भएको भए तथ्य दिई सहयोग गर्न समेत आग्रह गर्नु भयो ।

    यस्तै श्रृङ्गेश्वर धामको समिति गठनका बिषयमा वडा नं. ४ का अध्यक्ष मोतीप्रसाद श्रेष्ठले, धामको समिति गठनका क्रममा भएका घटनाक्रम बताउदै वडा नं. ४ का जनप्रतिनिधिहरुको रोहबरमा समिति गठन गरिएको बताउनु भयो । उहाले आफ्ना तर्कहरु आंसिकमात्र सार्वजनिक भएको गुनासो गर्दै धर्मिक्षेत्रको बिषय सर्वपक्षि बनाउन गरिएको प्रयासलाई राजनैतिकरुप दिने प्रयास भएको बताउनु भयो ।

    कार्यक्रममा सहभागी मध्ये २८ जना बभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुले स्मार्ट बोर्ड जडान, श्रृङ्गेश्वर धामको समिति गठन, धामको कुटी हटाईएको बिषय,मदन भण्डारी राजमार्ग निर्माणका कारण गाउँपालिकाको बिभिन्न स्थानमा भएका क्षति, खानेपानी, मोटरबाटो लगायतका १ सय ५० बढी जिज्ञासा राखेका थिए ।

    उठेका जिज्ञासा तथा प्रश्नको बिषयगत समितिका पदाधिकारी तथा शाखा प्रमुखहरुले जवाफ दिनु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण पत्रकार जनार्दन घिमिरे र टोपलाल अर्यालले गर्नु भएको थियो ।

     

  • रुरुक्षेत्र रिडीमा लायन्स क्लब अफ पाल्पाको आयोजनामा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

    रुरुक्षेत्र रिडीमा लायन्स क्लब अफ पाल्पाको आयोजनामा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

     

    असार २० चुरामणि तिमिल्सिना रिडी

    रुरुक्षेत्रधाम भगवान को पवित्र परिसरमा लायन्स क्लब अफ पाल्पाको आयोजनामा खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत विद्यार्थी, बटुक तथा वृद्धवृद्धाहरूलाई चामल, चिनी, तील, बिस्कुट तथा फलफुल वितरण गरिएको हो।

    कार्यक्रमको अध्यक्षता लायन्स अरुणा पाण्डे भट्टराईले गर्नुभएको थियो भने सामाजिक अभियन्ता एवं लायन्स मिना पन्थी प्रमुख अतिथि रहनुभएको थियो। यस्तै विशिष्ट अतिथिका रूपमा लायन्स मधुदयाल सैजु तथा तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागर महर्जनको उपस्थिति रहेको थियो।

    वडा अध्यक्ष महर्जनले रुरुक्षेत्रलाई पवित्र धार्मिक स्थलको रूपमा चित्रण गर्दै यस्ता सेवामूलक तथा रचनात्मक कार्यहरूले पुण्य कमाउने अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले वृद्धवृद्धाको सेवाबाट मनमा आनन्द प्राप्त हुने र यस्ता कार्यले समाजमा सकारात्मक ऊर्जा प्रवाह हुने धारणा व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमको निरन्तरताको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    प्रमुख अतिथि मिना पन्थीले रुरुक्षेत्रको धार्मिक, सांस्कृतिक तथा पौराणिक महत्त्वका बारेमा चर्चा गर्दै क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गहन अध्ययनसहित आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले रचनात्मक कार्यक्रमहरू समाजमा सकारात्मक परिवर्तन ल्याउने माध्यम भएको उल्लेख गर्नुभयो।

    कार्यक्रममा परशुराम भट्टराई , बिष्णु रेग्मी लगायतले आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै सामाजिक सेवाका यस्ता कार्यक्रमले समाजमा सहयोग, सद्भाव र मानवता फैलाउने काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

  • जेष्ठ नागरिकको स्याहारमा तालिम प्रशिक्षार्थी, गाउँपालिका गदगद

    जेष्ठ नागरिकको स्याहारमा तालिम प्रशिक्षार्थी, गाउँपालिका गदगद

    असार  १९  चुरामणि तिमिल्सिना   रिडी

    गुल्मीको सत्यवती गाउँपालिकामा महिलाहरूको सीप तथा क्षमता विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोगमा तथा सिटिभिटी जिवराज आश्रित बहुप्राविधिक शिक्षालयको आयोजनामा ‘जुनियर beautician तालिम’ सञ्चालन भइरहेको छ। तालिममा गाउँपालिका भित्रका २५ जना महिलाहरूको सहभागिता रहेको छ।

    तालिममा शीतल के.सी. र बबिता जिसीले प्रशिक्षण दिइरहनुभएको छ। बुधबार प्रशिक्षकहरूसहित प्रशिक्षार्थीहरूको टोली गाउँपालिकाकी उपाध्यक्ष निरमाया तरामुको नेतृत्वमा र धामस्थित वृद्धाश्रममा पुग्यो। टोलीले वृद्ध आमाबुबासँग केही समय संवाद गर्ने प्रयास गर्‍यो।

    गाउँपालिकाकी उपाध्यक्ष तरामुले आश्रमवासीहरूलाई तालिम र सेवामूलक कार्यक्रमका विषयमा जानकारी गराउनु भयो। सुरुमा उहाँको कुरा पत्याउन केही ढिलो भए पनि अन्ततः वातावरण सहज बन्यो र टोलीले कार्यक्रम सञ्चालन गर्न सक्यो।

    कार्यक्रम अन्तर्गत वृद्ध आमाबुबाहरूको हात–खुट्टाका नङ काट्ने, सरसफाई गर्ने, मसाज गर्ने तथा फलफूल वितरणजस्ता सेवा प्रदान गरियो।

    मसाज कार्यक्रममा सहभागी हुनु भएका जेष्ठ नागरिक बासुदेव पाण्डेले यस्तो प्रकारको सेवा पहिलो पटक पाएको बताउँदै यस कार्यक्रमले आफूसहित सम्पूर्ण वृद्धवासीहरूलाई अत्यन्तै खुसी बनाएको उल्लेख गर्नुभयो। उहाँले कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्ने सम्पूर्ण टोलीलाई धन्यवाद र आशीर्वाद दिनुभयो।

    त्यसैगरी अर्की आश्रमवासी मानकला भण्डारीले अहिलेसम्म यसरी कोही व्यक्तिले मसाज नगरेको अनुभव सुनाउँदै यसपालिको सेवा नयाँ र आत्मीय महसुस भएको बताउनुभयो।

    कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष निरमाया तरामुले भन्नुभयो, “यस प्रकारका सेवामूलक कार्यक्रमले जेष्ठ नागरिकहरूमा खुसी, सन्तोष र आत्मीयता दिन्छ। नौला अनुभव र सद्भाव आदानप्रदान हुने भएकाले यस्तो कार्यक्रमले गाउँपालिकालाई गौरव प्रदान गर्छ। आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ।”

    तालिममा सहभागी महिलाहरूले पनि यस्तो सेवामूलक काम पहिलो पटक समूहमा गरेको बताउँदै भविष्यमा पनि पालिकाले यस्ता कार्यक्रम निरन्तर अगाडि बढाउनुपर्ने माग गरेका छन्।

  • सरकारी जागिमा रहदारहदै स्याङ्जाका खनालको चीनबाट पिएचडी

    सरकारी जागिमा रहदारहदै स्याङ्जाका खनालको चीनबाट पिएचडी

    काठमाडौ,१९ असार । सरकारी सेवामा रहेर देशका विभिन्न स्थानमा प्रमुख प्रशासकीय अधिकृतको भुमिकामा रहनु भएका स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ९ चितडाँडाका गणेश प्रसाद खनालले अर्थशास्त्र विषय अन्तर्गत उद्घमशिलता विकासमा स्थानिय तहको भुमिका शिर्षकमा चीनको पेकिङ विश्वविद्धालय वाट पिएचडी गर्नुभएको छ ।

    तत्कालिन जिल्ला विकास समितिको योजना अधिकृत देखी नयाँ संघिय संरचना सँगै विभिन्न स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृतको रूपमा कार्य गर्नु भएको उहाँले स्थानिय तहमा रहदा विभिन्न पालिका तथा ग्रामिण क्षेत्रको राम्रो ज्ञान हासिल गर्नुभएका खनालले आफ्नो शोधको क्षेत्र पनि गण्डकी प्रदेशको ११ वटै जिल्ला र ११ वटै जिल्लाका स्थानिय तहलाई लिइ आफै फिल्ड सर्वेमा गइ सम्पन्न गर्नु भएको थियो ।

  • गुल्मीका कमल सुनार: आफ्नै माटोमा सुनजस्तै उज्यालो भविष्य निर्माण गर्ने प्रेरक अनुहार

    गुल्मीका कमल सुनार: आफ्नै माटोमा सुनजस्तै उज्यालो भविष्य निर्माण गर्ने प्रेरक अनुहार

    असार  १८ चुरामणि तिमिल्सिना  रिडी

    नेपालमा केही रोजगारी छैन र केही गर्न सकिँदैन भन्नेहरूका लागि गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका–७, रुपाकोटका कमल सुनार प्रेरणादायी उदाहरण बनेका छन्।

    हजुरबुबा पूर्णबहादुर सुनार सुनचाँदीको गहना बनाउने पेशामा संलग्न हुनुहुन्थ्यो। सानै उमेरदेखि टकटक गर्ने ध्वनि र त्यसबाट निस्कने टल्किने वस्तुले प्रभावित भएका कमलमा यही पेशाप्रति गहिरो मोह पलाएको थियो। बुवाले भने यो पेसालाई निरन्तरता दिनुभएन। तर कमलले भने बाल्यकालदेखि मनमा बसेको रहरलाई कर्ममा बदल्ने संकल्प गरे।

    सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका कमल सुनार आज सफल व्यवसायी हुन्। मजुवा, शान्तिपुर, अस्लेवा, रुपाकोट हुँदै हाल रुपन्देहीको मणिग्राममा सुनचाँदी पसल सञ्चालन गरिरहेका छन्। अहिले उनले आफ्नै व्यवसायबाट छ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। श्रीमती सम्झना सुनार समेत दिनभरि पसलमा साथ दिँदै छिन्।

    कमल आफैं पनि दक्ष कारीगर (कालीगढ) हुन्। प्रशिक्षित जनशक्तिका साथ व्यवसायलाई विस्तार गरिरहेका उनले आफूजस्तै अन्यलाई पनि दक्ष बनाउँदै आइरहेका छन्।

    व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय कमल रामकोट आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।

    उनी स्थानीय तह निर्वाचन २०७३ चन्द्रकोट गाउँपालिका शान्तिपुर गुल्मीका संस्थापक कार्यपालिका सदस्य समेत हुन्। यस्तै समाजसेवा युवा क्लब रुपाकोटका अध्यक्ष समेत हुन्। समाजलाई केही न केही गर्नुपर्छ। समाजलाई अगाडि बढाउनुपर्छ। चाहे धार्मिक क्षेत्र होस् चाहे शिक्षा क्षेत्र होस् चाहे सांस्कृतिक क्षेत्र होस् जे जसरी भएपनि समाजलाई अगाडि बढाउनुपर्छ भन्ने उद्देश्य मनमा राखेका कमल उद्देश्य अनुसार नै समाजमा परिचित भएको देख्न र हेर्न सकिन्छ। कमलले

    विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामग्री जे सकिन्छ त्यही आफ्नै खर्चमा उपलब्ध गराउने, आर्थिक अभावमा परेकालाई सहयोग पुर्‍याउने, धार्मिक तथा सामाजिक संस्थाहरूमा सक्रिय सहभागिता जनाउने काम उनले गर्दै आएका छन्।

    पाँच दाजुभाइमध्ये तीन जना यो पेशामा संलग्न छन्। व्यवसायबाट सन्तोषजनक आम्दानी भइरहेकाले घरभाडा तिरेर पसल सञ्चालन गर्दै आएको भए पनि दम्पत्ति सन्तुष्ट छन्। कमल भन्छन्, “धेरैले नेपालमा केही हुँदैन, बचत गर्न सकिन्न भन्छन्। तर मलाई लाग्छ, आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने सोच भयो भने नेपालमै धेरै सम्भव छ।”

    छोराले भने विदेश जाने योजना बनाएको भए पनि आफू रहुन्जेल यो पेसालाई कहिल्यै नछाड्ने दृढ अठोट कमलको छ। हरेक शाखामा १५ दिन वा एक सातामा पुगेर सेवा, गुणस्तर र स्थिति अनुगमन गर्दै बुटवल फर्किने गरेका कमल अहिले आफूजस्तै अन्य युवाहरूलाई पनि यहीँ केही गर्न प्रेरणा दिइरहेका छन्। आफ्नो पसलबाट राम्रो गुणस्तर र आकर्षक ग्राहकले रोजे अनुसारको सामग्री दिँदा ग्राहकहरू सन्तुष्टि भएर आफ्नो पसलमा आएर हेरेर सामान खरिद गरेको धर्मपत्नी सम्झना बताउँछिन्।

    अन्य पसलमा प्रायगरी मेला र उत्सवमा भिडभाड हुने गर्दछ भने यो पसल मा अर्थात हाम्रो पसलमा सदाबार खरिद बिक्री हुने गरेको कमल बताउँछन् अहिले पसलबाट आम्दानी हुन थालेपछि आफ्नो परिवारका लागि सानै भएपनि मणिग्राम चोकमा एक निवास बनाउने योजनाका साथ लागिरहेका छन् न त न त हाम्रो पसलको कुनै विज्ञापन नै गर्नुपर्छ। न त आउनुहोस् आउनुहोस् भनेर ग्राहकलाई भन्नुपर्छ।हाम्रा पुराना ग्राहक भएको कारणले हाम्रो पसल का विभिन्न शाखामा सदावर व्यापार भइरहन्छ। यसैको कारणले गर्दा हाम्रो परिवारको जिन्दगी चलिरहेको छ। सिद्धबाबा सुनचादी पसलको नामाकरणबाट अगाडि बढेका कमल सधैभरि यही पेशालाई अगाल्ने अगाल्ने बताउँछन्। कमल सुन चाँदी व्यवसाय सङ्घ तम्घास गुल्मीका उपाध्यक्ष समेत रहेका छन्।

  • जनबोध माविमा एसईई परीक्षामा सफलता प्राप्त विद्यार्थी सम्मानित

    जनबोध माविमा एसईई परीक्षामा सफलता प्राप्त विद्यार्थी सम्मानित

    असार १७ रिडी
    चुरामणी तिमिल्सिना
    रुरुक्षेत्र गाउँपालिका–४ र ५ मा अवस्थित जनबोध माध्यमिक विद्यालयले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ।

    साधारण तर्फ र   प्राबिधिक  धार तर्फ  गरि  ५२ जना  सहभागी  भएका थिए  जस्मा प्राबिधिक   तर्फ २५ जना बिद्यार्थी  मध्य २२   जना उत्तीर्ण हुन सफल भएका छन्। त्यस्तै, साधरण  तर्फ  सहभागी २७ जना मध्ये २० जना विद्यार्थीले उत्कृष्ट जीपीएसहित सफलता हासिल गरेका छन्।

    साधारण धारतर्फका निरञ्जन श्रेष्ठले ३.९६ जीपीए ल्याई विद्यालयलाई अग्रस्थानमा पुर्‍याएका छन्। विद्यालयका प्रधानाध्यापक बामदेव ज्ञवालीले स्वागत मन्तव्य दिंदै परीक्षा परिणामप्रति खुसी व्यक्त गर्नुभयो। उहाँले विद्यार्थी, शिक्षक र अभिभावकको निरन्तर प्रयासले विद्यालयले यो उपलब्धि हासिल गर्न सफल भएको उल्लेख गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बिमल ज्ञवाली, अभिभावकहरू तथा शिक्षाप्रेमीहरूको उपस्थिति थियो। अध्यक्ष ज्ञवालीले साधारण तथा प्राविधिक दुवै धारामा विद्यालयले अपेक्षाअनुसारको नतिजा हासिल गरेको भन्दै सन्तुष्टि व्यक्त गर्नुभयो। अभिभावकको निरन्तर अनुगमन, विद्यालय व्यवस्थापन समितिको चासो, शिक्षकको मेहनत र विद्यार्थीको अनुशासनले विद्यालयमा सकारात्मक ऊर्जा थपिएको उहाँको भनाइ थियो।

    उक्त अवसरमा विद्यार्थीहरूलाई खादा, टीका र आशीर्वचन प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक देवीराम कुँवरले गर्नुभएको थियो।

  • सीता पराजुलीको गोठमा आगलागी: ७ पशु जले, पूर्व अध्यक्ष बस्यालबाट राहत सहयोग

    सीता पराजुलीको गोठमा आगलागी: ७ पशु जले, पूर्व अध्यक्ष बस्यालबाट राहत सहयोग

    रिडी असार   १७चुरामणि तिमिल्सिना

    पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–९ पराजुली टोल, देउराली डाँडामा रहेको सीता पराजुलीको गोठमा सोमबार बिजुली सर्ट भई भीषण आगलागी भएको छ। घटनामा परेर एक भैंसी र छ वटा बाख्रा जलेर मरेका छन्।

    ग्रामीण जीवनमा पशुपालन आम्दानीको मुख्य स्रोत मात्र नभई परिवारको जीवनयापनको आधारसमेत हुने हुँदा पराजुली परिवारको क्षति निकै ठूलो भएको स्थानीयहरूले बताएका छन्।

    यस पीडादायी घटनापछि निवर्तमान बगनासकाली गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य कृष्ण प्रसाद बस्याल र वडा नं. ९ का सभापति चिन्तामणि बस्याल पीडितको घरमै पुगेर सान्त्वना दिनुका साथै नगद रु. १५,००० सहयोग गरेका छन्।

    “विपत्तिमा परेका आफ्ना गाउँलेको साथ दिनु हाम्रो कर्तव्य हो,” सभापति बस्यालले बताए। पूर्व अध्यक्ष बस्यालले मानवता र करुणाको समयमा एकताको महत्व झनै बढ्ने बताएका थिए।

    स्थानीयवासीले समेत यस दुःखद घडीमा पराजुली परिवारलाई साथ दिइरहेका छन्। यस्ता विपत्तिहरूले समुदायलाई अझ संगठित र सहानुभूतिशील बनाउने विश्वास व्यक्त गरिएको छ।

  • गाउँसभाको अवसरमा उत्कृष्ट कर्मचारी तथा खेलाडीलाई सम्मान

    गाउँसभाको अवसरमा उत्कृष्ट कर्मचारी तथा खेलाडीलाई सम्मान

     

    पाल्पा, १६ असार ।
    पाल्पाको बगनासकाली गाउँपालिकाबाट कर्मचारी तथा खेलाडी सम्मानित भएका छन् । गाउँपालिकाभित्रका वडासहित विभिन्न शाखामा रहेर लगनशील, कर्तव्यनिष्ठ एवम् इमान्दार भई कार्यालयको कार्यसम्पादन गर्ने उत्कृष्ट कर्मचारीहरूलाई सोमबार सम्मान गरिएको हो ।

    गाउँपालिकाले १८ औं गाउँसभाको अवसर पारेर ८ जना कर्मचारी र एक खेलाडीसहित नौ जनालाई गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल लगायतले सम्मानपत्र, खादा, टोपी र नगदसहित सम्मान गर्नुभएको हो ।

    सम्मानित कर्मचारीमा शिक्षा शाखामा कार्यरत    नारायण तिमिल्सिना, वडा नं. ८ का स्वास्थ्य चौकी प्रमुख सि.अ.हे.व. गोमबहादुर क्षेत्री, स्वास्थ्य शाखामा सि.अनमी पदमा कार्यरत संगिता थापा, पञ्जिकरण तथा सामाजिक सुरक्षा सेवा इकाईमा कार्यरत एम.आई.एस.फिल्ड सहायक प्रेमबहादुर बगाले, वडा नं. ५ मा वडा सहायक पदमा कार्यरत मदनलाल न्यौपाने रहनुभएको छ ।

    यस्तैगरी वडा नं. ३ मा ना.प्र.स. पदमा कार्यरत पशुसेवा प्राविधिक कमलादेवी खनाल, गाउँपालिका कृषि शाखामा ना.प्र.स.पदमा कार्यरत कृषि प्राविधिक खिमराज कोइराला र वडा नं. २ का वडा सहयोगी सिंह बहादुर कुमाललाई सम्मान गरिएको हो ।

  • दुर्गा भवन माविमा प्रशासनिक कार्यशैलीमा नवीन अभ्यास : दुई सहायकलाई विभागीय जिम्मेवारी

    दुर्गा भवन माविमा प्रशासनिक कार्यशैलीमा नवीन अभ्यास : दुई सहायकलाई विभागीय जिम्मेवारी

     

    रिडी  असार १६ । चुरामणि तिमिल्सिना
    कालीगण्डकी गाउँपालिका–५, छापचौरस्थित श्री दुर्गा भवन माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई भव्य समारोहका बीच सम्मान गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा पञ्चेबाजा सहित विद्यालयका विद्यार्थीहरू, अभिभावक, शिक्षक तथा समुदायका प्रतिनिधिहरूको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो।

    सम्मान कार्यक्रममा विद्यालयले सफल विद्यार्थीहरूलाई फूलमाला, अबिर प्रदान गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना दिएको थियो। विद्यालयको यस्तो सम्मान कार्यक्रम यस वर्षदेखि मात्र सुरु गरिएको हो।

    कार्यक्रमकै अवसरमा विद्यालयले विभागीय जिम्मेवारीसहित शिक्षक रामप्रसाद गौतम र शिक्षक तेजेन्द्र क्षेत्रीलाई सहायक प्रधानाध्यापकको रूपमा नियुक्त गरेको छ। विभागीय ढाँचामा दुईजना सहायक प्रधानाध्यापक नियुक्त गर्ने अभ्यास गुल्मी जिल्लामा पहिलोपटक भएको दाबी गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अनुसार, यस नविन अभ्यासले विद्यालयको शैक्षिक प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

    त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य एवं वयोवृद्ध समाजसेवी यमलाल पौडेललाई समेत विद्यालयले सम्मान गरेको थियो। लामो समयदेखि विद्यालय र समुदायमा गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश ढकालले सम्मान कार्यक्रममा बोल्दै भने, “यस्ता सम्मान कार्यक्रमले विद्यार्थीको मनोबल उच्च बनाउने मात्र होइन, साना कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई पनि थप मेहनत गर्ने प्रेरणा दिन्छ। यसैले अबदेखि यस्तो कार्यक्रमलाई नियमित रुपमा निरन्तरता दिइनेछ।”

    विद्यालयको यो कदमले शैक्षिक गुणस्तर अभिवृद्धिका साथै विद्यार्थी, अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

  • एसईईमा उत्कृष्ट नतिजा: सत्यवती माविका विद्यार्थीको सम्मान पञ्चेबाजासहित

    एसईईमा उत्कृष्ट नतिजा: सत्यवती माविका विद्यार्थीको सम्मान पञ्चेबाजासहित

    पाल्पा चुरामणि तिमिल्सिना , असार१५

    सत्यवती गाउँपालिका–५ हँसारामा रहेको सत्यवती माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेका विद्यार्थीलाई भव्य समारोहका बीच सम्मान गरेको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न उक्त सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे प्रमुख अतिथि रहनु भएको थियो।

    अध्यक्ष पाण्डेले समारोहलाई सम्बोधन गर्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीहरूको समर्पण, पालिकाबाट प्रदान गरिएको तालिमको प्रभाव र निरन्तर प्रयासकै कारण विद्यालयले यस्तो उत्कृष्ट परिणाम हासिल गर्न सफल भएको बताउनुभयो। साथै, आगामी दिनहरूमा पनि विद्यालयले यस्तै प्रेरणादायी नतिजा ल्याउनेमा आशावादी रहेको अभिव्यक्ति दिनुभयो।

    कार्यक्रममा उपाध्यक्ष निरमाया तरामु, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, शिक्षा शाखा प्रमुख, विभिन्न शाखा प्रमुखहरू, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, अभिभावकज्यूहरूको उपस्थिति थियो।

    समारोहमा विद्यालयले जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल अर्जुन भण्डारी र सिर्जित भण्डारीलाई विशेष रूपमा सम्मान गर्दै भविष्यको सफलताको शुभकामना व्यक्त गर्‍यो। यी दुवै विद्यार्थीले ४.०० जीपीए ल्याएर जिल्ला र विद्यालयको गौरव बढाएका हुन्। उनीहरू सामान्य परिवारमा जन्मिए पनि कठिन परिश्रम र गुरुजनको मार्गदर्शन अनुसार अगाडि बढेकाले यो उपलब्धि हासिल गर्न सफल भएको अभिभावकहरूले बताएका छन्।

    समारोहमा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई खादा, टीका र प्रमाणपत्र प्रदान गरिएको थियो। विद्यालयले बाजागाजासहितको र्याली आयोजना गरी गाउँ बजार परिक्रमा गराउँदै विद्यार्थीको सफलतालाई उत्सवको रूपमा मनाएको हो।

    विद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार:

    ४.०० जीपीए: २ जना

    ३.६० – ४.००: १३ जना

    ३.२० – ३.६०: १५ जना

    २.८० – ३.२०: २६ जना

    २.४० – २.८०: ७ जना रहेका छन्।

    कार्यक्रमको स्वागत मन्तव्य केशवराज आचार्यले प्रस्तुत गर्नुभएको थियो।  कार्यक्रममा   बिद्यालयका तर्फबाट  प्रधानाध्यापक    कृष्ण  प्रसाद  भण्डारीले शुभकामना   प्रदान गर्नु भएको   थियो। भने सञ्चालन प्रकाश भट्टराईले गर्नुभएको थियो।