Blog

  • तल्लो ग्वादी विद्यालयका सबै विद्यार्थीलाई ट्र्याकसुट सहयोग

    तल्लो ग्वादी विद्यालयका सबै विद्यार्थीलाई ट्र्याकसुट सहयोग

    चुरामणि तिमिल्सिना   रिडी

    श्रावण   २८

    रुरु क्षेत्र गाउँपालिका वडा नम्बर २ स्थित तल्लो ग्वादी आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको छ।

    यो सहयोग अधिकांश विद्यालयका पूर्व विद्यार्थी तथा केही अन्यत्र अध्ययन गरेका व्यक्तिहरूको पहलमा गरिएको हो। सामग्री हस्तान्तरण गर्दै सहयोगी कृष्ण बिकले विद्यालयका बालबालिकालाई आवश्यक सामग्री उपलब्ध गराउन पाउँदा खुशी लागेको बताउनुभयो।

    सहयोग वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव ज्ञवालीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा वडा अध्यक्ष घनश्याम अर्याल प्रमुख अतिथि रहनुभयो भने कार्यपालिका सदस्य हरि कला बराल, विद्यालयप्रेमी स्थानीय व्यक्तिहरू विशिष्ट अतिथि रहनुभयो।

    विद्यालयकी प्रधानाध्यापक सावित्रा पौडेलले यस्ता सहयोगले विद्यालयको खर्च कटौती हुनुका साथै अभिभावकलाई राहत पुगेको बताउनुभयो। साथै, सहयोगी कृष्ण बिक, मनिषा बराल, शंकर खनाल, रवि सुनार, प्रकाश ज्ञवाली, ईश्वरी ज्ञवाली, मदन बिक, लक्ष्मण बिक र विष्णु ज्ञवालीप्रति विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो।

    प्रमुख अतिथि वडा अध्यक्ष अर्यालले वैदेशिक रोजगारमा रहेका नेपाली तथा वडाबासीहरूबाट आधारभूत विद्यालय मात्र नभई अन्य विद्यालयहरूमा पनि सहयोग पुगीरहेको भन्दै आभार प्रकट गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञवालीले विदेशमा कमाएको रकमबाट बालबालिकाको लागि ट्र्याकसुट उपहार दिनु महान् उदाहरण भएको बताउनुभयो। कार्यक्रम व्यवस्थापन सुनिल सुनारले गर्नुभएको थियो।

  • रुरु क्षेत्र–१ ठाडाबाटमा राधाकृष्ण मन्दिर कृष्ण जन्माष्टमीका दिन उद्घाटन हुने

    रुरु क्षेत्र–१ ठाडाबाटमा राधाकृष्ण मन्दिर कृष्ण जन्माष्टमीका दिन उद्घाटन हुने

    चुरामणि तिमिल्सिना  रिडी  श्रावण २५

    क्षेत्र गाउँपालिका–१ ठाडाबाटमा निर्माण गरिएको राधाकृष्ण मन्दिर यही साउन ३१ गते, कृष्ण जन्माष्टमीको दिन, भव्य समारोहका बीच विधिवत् रूपमा उद्घाटन हुने भएको छ।

    स्थानीय बासिन्दा, देश–विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरू, र स्थानीय वडा सरकारको आर्थिक सहयोगमा मन्दिर निर्माण गरिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर क्षेत्रीले जानकारी दिनुभयो। मनकामना आधारभूत विद्यालयको खाली जग्गामा यो मन्दिर निर्माण गरिएको हो। विद्यार्थी संख्या अत्यन्त कम भएपछि विद्यालयलाई अन्यत्र स्थानान्तरण गरी उक्त परिसरमा मन्दिर निर्माण गरिएको हो।

    व्यवस्थापन समितिका सचिव गोविन्द ज्ञवालीका अनुसार साउन ३१ गते भगवान श्रीकृष्णलाई विधिसम्मत रूपमा मन्दिरमा प्रतिष्ठापना गरी बाजागाजा, भजन–कीर्तन र पाठ–पारायणसहित उद्घाटन गरिनेछ। हाल करिब ८० प्रतिशत तयारी पूरा भइसकेको र बाँकी काम धमाधम भइरहेको जानकारी दिनुभयो।

    कोषाध्यक्ष बिन्दु सुवेदीका अनुसार गाउँमा विभिन्न मन्दिर भए पनि राधाकृष्णको मन्दिर नहुँदा यस्ता धार्मिक पर्वमा टाढासम्म दर्शन गर्न जानुपर्ने बाध्यता हटाउन यो मन्दिर निर्माण गरिएको हो। स्थानीयको दाबीअनुसार यस आसपासमा राधाकृष्णको यो मात्र मन्दिर हो।

    व्यवस्थापन समितिले उद्घाटन समारोहकै दिन प्रमुख आर्थिक सहयोगी दाताहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत तय गरेको छ।

  • विदेशबाट पनि गाउँप्रतिको माया: पवन पौडेलद्वा

    विदेशबाट पनि गाउँप्रतिको माया: पवन पौडेलद्वा

     

    चुरामणि तिमिल्सिना  , साउन २५

    रिमुवा, गुल्मीका युवा पवन पौडेलले रुरुक्षेत्र गाउँपालिका–२ स्थित भरेक आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक प्रदान गर्नुका साथै विद्यालयको कल्याणकारी कोषमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

    शुक्रवार आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक संगीत मगरले उक्त सहयोगबारे जानकारी दिँदै पौडेल हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका भए पनि शिक्षा र सहयोगलाई उज्यालो भविष्यको आधार मान्दै निरन्तर योगदान गर्दै आएको बताए। विद्यालयका अनुसार यस्ता सहयोगी कार्यक्रमहरू समय–समयमा आयोजना हुँदै आएका छन्।

    कार्यक्रमका प्रमुख अतिथि रुरुक्षेत्र गाउँपालिका–२ का कार्यवाहक वडा अध्यक्ष थर्कबहादुर कुँवरले विदेशमा रहँदै आफ्नो गाउँठाउँप्रति मायालु व्यवहार देखाउँदै सहयोग पुर्याएकोमा पवन पौडेलप्रति विशेष धन्यवाद व्यक्त गरे।

    कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमला बरालको अध्यक्षतामा सम्पन्न भएको थियो। सहायक प्रधानाध्यापक तथा संयोजक संगीत मगरले धन्यवाद ज्ञापन गरे भने शिक्षक विष्णुप्रसाद बरालले सञ्चालन गरेका थिए।

  • बुटवलमा पनि मनाइयो विश्व आदिवासी जनजाति दिवस, अधिकारका लागि एकजुट हुनुपर्नेमा जाेड

    बुटवलमा पनि मनाइयो विश्व आदिवासी जनजाति दिवस, अधिकारका लागि एकजुट हुनुपर्नेमा जाेड

    बुटवल,२४ साउन ।
    विश्व आदिवासी दिवस शनिबार बुटवलमा पनि बिभन्न कार्यक्रमका साथ मनाइएको छ ।

    बुटवल उपमहानगरपालिकाकाे सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बुटवल उपमहानगर समन्वय समितिद्वारा आयोजित ३१ औं विश्व आदिवासी दिवस कार्यक्रममा आदिवासी जनजाति अगुवाहरूले प्राप्त उपलब्धिकाे र रक्षा थप अधिकारका लागि आदिवासी जनजातिहरू एकजुट हुनुपर्नेमा जाेड दिए ।

    कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले आदिवासी जनजातिका भाषा, कला,संस्कार र संस्कृतिकाे संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले सधै सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि त्यस्तो सहयोग जारी राख्ने प्रतिवद्वता ब्यक्त गरे ।

    बुटवल उपमहानगरपालिकामा आफुहरू आएपछि आदिवासी जनजातिको भाषा,कला,संस्कार र संस्कृतिकाे संरक्षण,विकास र बिस्तारका लागि विभिन्न योजनाहरू अगाडि बढाएको भन्दै नगर प्रमुख पाण्डेयले नेपालीसहित मगर,नेवार र थारू भाषामा नागरिक बडापत्र राखिएको जानकारी गराए ।

    आदिवासी जनजातिका हक अधिकार प्रति आफू सचेत रहेको बताउदै उनलेे विभिन्न जातीय समुदायकाे पहिचान, चाडपर्व,भाषा,कला,संस्कार र संस्कृतिको संरक्षणका लागि आफू सधै सक्दाे सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

    साे अवसरमा नेपाल मगर संघ केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज धनी आलेले बिगतमा भएका आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरू पनि गुम्नसक्ने तर्फ सचेत हुन जरुरी रहेकोमा जाेड दिइन् ।

    राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बुटवल उपमहानगर समन्वय समिति अध्यक्ष धनिसरा दर्लामीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय सदस्य मधु राना,नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति रूपन्देही अध्यक्ष चित्रलाल तुलाचन, नेवा पुच रूपन्देहीका अध्यक्ष काजीमान श्रेष्ठ,तमु ह्युल छाेज धी गुरूङ जिल्ला समितिका पुर्व अध्यक्ष बिमला गुरूङ,राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् रूपन्देही अध्यक्ष होमाया गुरूङ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला सदस्य लक्ष्मी श्रेष्ठ,तमु ह्युल छाेज धी गुरूङ परिषद बुटवल उपमहानगर समिति उपाध्यक्ष उमा गुरूङ,नेपाल मगर संघ बुटवल उपमहानगर समिति उपाध्यक्ष लुमबहादुर सारू,थकाली सेवा समाज बुटवलका अध्यक्ष नेपाल तारा गाैचन, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बुटवल उपमहानगर समिति सह-सचिव कुमारी बराल मगरलगायतले आफ्नो भाषा,कला,संस्कार र संस्कृतिको संरक्षणका साथै आदिवासी जनजातिका युवा विद्यार्थीहरूले अध्ययन अध्यापनमा पनि ध्यान दिनुपर्नेमा जाेड दिए ।

    आईएलओ १६९ मा हस्ताक्षर गरेर पनि नेपाल सरकारले उक्त धारा कार्यान्वयन नगरेको भन्दै उनिहरूले पृथ्वी सुब्बा गुरूङ मुख्यमन्त्री हुँदा उनलेे चाहेको भए गण्डकी प्रदेशको नाम तमुवान नामाकरण गर्न सकिने अवस्था भए पनि नगरिएको गुनासो गरे ।

    पछिल्लो समय जनजातिहरू आफ्नो समुदाय भन्दा राजनीतिक पार्टीमा बढी केन्द्रीत हुँदा आदिवासी जनजातिका मुद्दा ओझेलमा परेको भन्दै उनिहरूले आफ्नो जातीय पहिचान,भाषा,कला,संस्कार र संस्कृतिको संरक्षण तथा प्राप्त अधिकारकाे रक्षा र थप अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्ने आवश्यकता औल्याए ।

  • दिदीबहिनीको आत्मविश्वास अभिवृद्धिका लागि उद्घोषण तालिम

    दिदीबहिनीको आत्मविश्वास अभिवृद्धिका लागि उद्घोषण तालिम

    चुरामणि तिमिल्सिना  श्रावण   २३

    गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं १ भटकुवामा पाँच दिने स्टेज उद्घोषण तालिम सम्पन्न भएको छ। जनप्रिय आमा समूह १ को आयोजनामा गरिएको तालिममा ३० जनाको सहभागिता रहेको थियो।

    गाउँ–टोल, छरछिमेक, सार्वजनिक निकाय, औपचारिक तथा अनौपचारिक बैठकहरू सञ्चालन गर्दा आफ्नो परिचय दिनसमेत हिचकिचाउने दिदीबहिनीहरूलाई अगाडि बढाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। कार्यक्रमका प्रशिक्षक तथा वडा सदस्य सुशील कुमार श्रेष्ठका अनुसार उद्घोषण कलाका कार्यक्रमहरू अत्यन्त आवश्यक छन्। नेतृत्व विकास, क्षमता अभिवृद्धि र सहजीकरणका थप कार्यक्रमहरू समेत सञ्चालन गर्ने योजना रहेको बताउनु भयो। उहाँले भटकुवा बासिन्दालाई यस्ता तालिमहरूमा सक्रिय सहभागिताका लागि आह्वान समेत गर्नु भयो।

    समारोहका प्रमुख अतिथि तथा वडा अध्यक्ष नवराज बिकले रुरु क्षेत्र वडा नं १ मा यस्ता तालिमहरू वडाको पहलमा विभिन्न टोलमा सञ्चालन भैरहेको जानकारी दिनु भयो। वडा सदस्य सुशील कुमार श्रेष्ठले टोल–टोलमा पुगेर गरेको पहलको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि क्षमता विकास र नेतृत्व विकासका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुभयो।

    समापन सत्रमा कार्यपालिका सदस्य लक्ष्मी भट्टराई, परशुराम ज्ञवाली, गोविन्द भट्टराई, लक्ष्मण खनाल, युवराज ज्ञवाली, नरबहादुर हमाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा माया खनालले स्वागत मन्तव्य राख्नु भएको थियो भने माया थापा, इन्दिरा न्यौपाने, सरिता बिके, मिठो भट्टराई, संगीता थापा लगायतका सहभागीहरूले तालिमपछि आफूहरूमा आत्मविश्वास बढेको अनुभव बाँडनु भयो। धन्यवाद मन्तव्य सावित्रा थापाले दिनु भएको थियो। र सञ्चालन सुजना सुनारले गर्नु भएको थियो।

  • “टोकियोमा ‘गुल्मी सत्यवति समाज जापान’ गठन, धिरज भण्डारी अध्यक्षमा चयन”

    “टोकियोमा ‘गुल्मी सत्यवति समाज जापान’ गठन, धिरज भण्डारी अध्यक्षमा चयन”

     

    टोकियो, जापान – मिति २०८२ साउन २१ गते
    जापानको राजधानी टोकियोमा “गुल्मी सत्यवति समाज जापान” को औपचारिक गठन गरिएको छ। गुल्मी जिल्लाको सत्यवति गाउँपालिकाबाट जापान आएका नेपालीहरूलाई एकता, सहकार्य र सामाजिक सेवामा संगठित गर्न यो समाज स्थापना गरिएको हो।

    नवगठित समाजको अध्यक्षमा धिरज भण्डारी, उपाध्यक्षमा गोमा ढकाल र महासचिवमा प्रकाश ढकाल सर्वसम्मत चयन हुनु भएको छ।

    समाज गठन कार्यक्रममा सत्यवति गाउँपालिका अन्तर्गतका विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले समाजको आवश्यकता, उद्देश्य र भावी योजनाबारे गहिरो छलफल गरेका थिए। कार्यक्रममा उपस्थित केहि बिदेशि पाहुनाहरुले समेत समाज गठनको शुभकामना दिएका थिए ।

    समाजका पदाधिकारीहरूका अनुसार, विगतका वर्षहरूमा जापानमा लामो समयदेखि बसोबास गर्दा पनि जन्मथलोमा आउने विभिन्न प्राकृतिक विपत्ति र सामाजिक समस्यामा प्रत्यक्ष सहयोग गर्न नसकेको महसुस भएकाले यो समाजको स्थापना गरिएको हो। अबदेखि समाजमार्फत जन्मथलोमा सेवा, सहयोग र सहकार्य गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइनेछ। समाजको गठन प्रकृयामा जापानमा लामो समय बसोबास गर्दै आउनु भएका अग्रज ब्यक्तित्तोहरु बाट समेत सुझाव संकलन गरिएको थियो ।

    त्यस्तै, समाजले सत्यवति गाउँपालिका र जापानस्थित सत्यवति बासीहरूबीच समन्वयको रूपमा कार्य गर्ने, साथै जापानमा रहेका सत्यवति बासीहरूलाई आपसी सद्भाव, सहयोग, सांस्कृतिक संरक्षण र सामाजिक पहिचानको प्रवर्द्धनमा योगदान दिने लक्ष्य राखेको छ।

    समाजका अध्यक्ष धिरज भण्डारीले निकट भविष्यमा समाजको संरचना विस्तार, र गाउँपालिकासँग प्रत्यक्ष साझेदारीमा विभिन्न विकास तथा सहयोग कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

  • पत्रकार सुरेश छन्त्याल – शब्द र सेवाको संगम

    पत्रकार सुरेश छन्त्याल – शब्द र सेवाको संगम

    पत्रकार सुरेश छन्त्याल – शब्द र सेवाको संगम

    सुरेश छन्त्याल, गलकोटको माटो र जनताको आवाजसँग गहिरो सम्बन्ध राख्ने एक साधारण तर समर्पित व्यक्ति। मेरो यात्रा कुनै पद वा सम्मानको खोजी होइन, सत्य, सूचना र समाजको सेवामा समर्पण हो।

    बाल्यकालमै मैले देखेको गाउँको यथार्थ—अभाव, मौन पीडा, अनि आवाजविहीन समुदायको संघर्ष—ले मलाई पत्रकारितातर्फ आकर्षित गर्यो। रेडियोको आवाजमा भविष्य देख्ने र आफ्नो समाजको कथा सबैले सुन्न सक्ने गरी सुनाउने सपना त्यतिबेलै पलाएको थियो।

    यस यात्रामा सहज बाटो कहिल्यै थिएन। पैदलै गाउँ–गाउँ पुगेर समाचार संकलन गर्नुपर्थ्यो, कहिले आर्थिक कठिनाइ, कहिले दबाब र चुनौतीको सामना गर्नुपर्थ्यो। तर सत्य बोल्ने, तथ्य प्रस्तुत गर्ने, र जनताको पक्षमा उभिने मेरो संकल्प कहिल्यै डगमगाएन।

    आजसम्म मैले घुम्टे खबर, रेडियो रेसुङ्गा, सामुदायिक रेडियो गलकोट एफएम, गलकोट साप्ताहिक, सारठी एफएम जस्ता संचार माध्यममा काम गर्दै जनताको मुद्दा, आवाज र संस्कृतिलाई मञ्चमा पुर्याएको छु। घुम्टे सांस्कृतिक संरक्षण मञ्चजस्ता संस्थासँग आवद्ध भई सांस्कृतिक धरोहर जोगाउने प्रयास पनि निरन्तर चलाइरहेको छु।

    विशेषगरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि म वकालत गर्छु, उनीहरूको कथा सुन्छु, र त्यो कथा संसारसम्म पुर्याउन प्रयास गर्छु।

    मेरो भविष्य दृष्टि स्पष्ट छ— पत्रकारिता र सामाजिक सेवाको संगममार्फत स्थानीय आवाजलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने। आधुनिक प्रविधिको प्रयोग गर्दै सामुदायिक रेडियोको प्रभावकारिता बढाउने, र प्रत्येक आवाजलाई सुन्ने र सम्बोधन गर्ने वातावरण निर्माण गर्ने।

    म विश्वास गर्छु— निष्पक्ष, तथ्यपूर्ण र संवेदनशील पत्रकारिताले मात्र समाजमा वास्तविक परिवर्तन ल्याउन सक्छ। र यही विश्वास मेरो यात्राको ऊर्जा हो।

    शब्द र सेवा दुवैमा समर्पण
    गलकोटको जनजीवन, संस्कृति र समस्याहरूको दस्तावेजीकरण गर्दै ती आवाजलाई मञ्चमा पुर्याउने व्यक्ति हुन् — पत्रकार सुरेश छन्त्याल। पत्रकारितालाई पेशा मात्र नभई सामाजिक उत्तरदायित्वका रूपमा आत्मसात् गरेका उनी, सूचनाको अधिकार र मानवअधिकारको वकालत गर्दै निरन्तर अग्रपंक्तिमा रहँदै आएका छन्।

    व्यक्तिगत प्रेरणा
    बाल्यकालमै गाउँको वास्तविकता, अभाव, र आवाजविहीन समुदायको पीडा देख्दा सुरेश छन्त्यालले बुझेका थिए — सूचना नै परिवर्तनको आधार हो। रेडियोबाट सुनेका समाचार र अनुभवले उनलाई पनि आफ्नो समाजको कथावाचक बन्न प्रेरित गर्यो। यही कारण उनले पत्रकारिता रोजे, जसले उनलाई जनताको पक्षमा बोल्ने शक्ति दियो।

    संघर्षको यात्रा
    सुरुवाती दिनहरू सजिला थिएनन्। सीमित स्रोतसाधन, ग्रामीण भौगोलिक चुनौती, र पत्रकारितामा आवश्यक उपकरणको अभावका बीच उनले गाउँ–गाउँ पैदल यात्रा गर्दै समाचार संकलन गरे। कहिले कार्यक्रम कभर गर्न टाढा–टाढासम्म पुग्दा आर्थिक समस्या झेल्नुपर्यो, कहिले संवेदनशील मुद्दामा लेख्दा दबाब सहनुपर्यो। तर सत्य बोल्ने र लेख्ने संकल्प कहिल्यै कमजोर भएन। उपलब्धि र योगदान रेडियो रेसुङ्गा, स्काई एफएम, रुरु एफएम, गलकोट एफएम, गलकोट साप्ताहिक लगायत थुप्रै सञ्चारमाध्यममा सक्रिय।

    घुम्टे सांस्कृतिक संरक्षण मञ्च जस्ता संस्थासँग आवद्ध भई संस्कृति संरक्षणमा योगदान।
    शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि सचेतना अभियान र वकालत।
    स्थानीय समाचार र तथ्यमा आधारित रिपोर्टिङमार्फत आम जनताको मुद्दा उठान।
    ऐतिहासिक, सामाजिक र आर्थिक अनुसन्धानमा चासो राखी सामग्री प्रकाशन, जस्तै मध्ययुगीन युरोप सम्बन्धी सामग्री।

    भविष्य दृष्टि
    सुरेश छन्त्यालको दृष्टि स्पष्ट छ — पत्रकारिता र सामाजिक सेवाको माध्यमबाट स्थानीय आवाजलाई राष्ट्रिय मञ्चसम्म पुर्याउने। उनी सूचना प्रवाहमा आधुनिक प्रविधिको प्रयोग बढाउने, सामुदायिक रेडियोको प्रभावकारिता विस्तार गर्ने, र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयनमा ठोस कार्यक्रम सञ्चालन गर्ने योजनामा छन्।

    उनको विश्वास छ — जब पत्रकारिता निष्पक्ष, तथ्यपूर्ण र संवेदनशील हुन्छ, तब मात्र समाजले वास्तविक परिवर्तन अनुभव गर्न सक्छ।

  • पाण्डबखानीको डाग्डीखोला–झिर्का सडक मर्मत

    पाण्डबखानीको डाग्डीखोला–झिर्का सडक मर्मत

    पाण्डबखानीको डाग्डीखोला–झिर्का सडक मर सुरेश छन्त्याल

    गलकोट नगरपालिका–१० पाण्डबखानीदेखि गलकोट नगरपालिका–७ झिर्कासम्मको मोटरबाटो मर्मत तथा सम्भार कार्य सम्पन्न भएको छ। गत असार १ र २५ गतेको अविरल वर्षाका कारण पहिरोले सडक विभिन्न स्थानमा अवरुद्ध भएको थियो।

    यसबाट पाण्डबखानीदेखि पोखरासम्म यात्रा गर्ने जनसमुदायलाई आवागमनमा निकै कठिनाइ परेको थियो। यसैबीच, ड्राइभर उत्तम काउचाको नेतृत्वमा डाग्डीखोला देखि झिर्कासम्मको अति बिग्रिएको सडकमा स्वेच्छिक रूपमा मर्मत तथा सुधार कार्य गरिएको हो।

    स्थानीय बासिन्दा र यात्रुहरूले पटक–पटक वडा कार्यालय तथा नगरपालिका प्रशासनलाई सडक सुधारका लागि ध्यानाकर्षण गराए पनि कुनै चासो नदेखाएको जनगुनासो व्यक्त गरेका छन्।

  • पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न

    पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न

    पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न
    सुरेश छन्त्याल

    गलकोट नगरपालिका–१० पाण्डबखानीमा आयोजित एक कार्यक्रममा स्व. हरि पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

    गत असार १० गते २४ वर्षीय पौडेलको असामयिक निधन भएको थियो। गाविस पञ्चायतका पूर्वअध्यक्ष महत्तत शर्माका नाति तथा डाम्बर शर्माका माइला छोरा पौडेल इन्जिनियरको रूपमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स क्षेत्रमा कार्यरत थिए।

    आज नवौँ दिनको पुण्यतिथिका अवसरमा गलकोट नगरपालिका–१० वडा कार्यालय, पाण्डबखानी माध्यमिक विद्यालय, नेपाली कांग्रेस वडा समिति, र घुम्टे प्रसारण मिडिया प्रालि संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी संस्थाहरूले श्रद्धाञ्जली पत्र परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए।

  • रुपन्देहीमा आयोजित एकदिने प्रशासनिक सेवा शिविरबाट ७१ जना लाभान्वित

    रुपन्देहीमा आयोजित एकदिने प्रशासनिक सेवा शिविरबाट ७१ जना लाभान्वित

     

    चुरामणि तिमिल्सिना श्रावण १७
    रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ५, बम्घाले आफ्ना वडावासीहरू रूपन्देहीमा बसोबास गरिरहेको अवस्थालाई ध्यानमा राख्दै शुक्रबार तिलोत्तमा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा एकदिने प्रशासनिक सेवा शिविर सम्पन्न गरेको छ।

    शिविरबाट कुल ७१ जना सेवाग्राही लाभान्वित भएका छन्। तीमध्ये दुईजनाले नाता प्रमाणित, एकजनाले नागरिकता सिफारिस,दुई जनाले जन्मदर्ता र एकजनाले मृत्युदर्ता सेवा प्राप्त गरेका छन्। यस्तै, ६६ जनाले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताका कागजात नवीकरण गरेका छन्।

    शिविर कार्यक्रमको उद्घाटन तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष परशुराम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षता रहेको थियो।उपाध्यक्ष रुद्रप्रसाद ज्ञवालीले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।

    प्रशासनिक सेवा प्रवाहका लागि रुरु क्षेत्र गा.पा. वडा नम्बर ५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीको नेतृत्वमा वडा सचिव गोविन्दप्रसाद पौडेल तथा तिलोत्तमा वडा नं. १ का वडासचिव हेमराज न्यौपाने लगायतको टोली खटिएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले वडाभन्दा बाहिर रहेका जनतालाई सेवा पु¥याउन यस्तो शिविर अत्यन्त उपयोगी भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भने, “जनताको सेवा घरदैलोमै पुर्‍याउनु स्थानीय सरकारको कर्तव्य हो। यस्तो कार्यक्रमले जनताको मन जित्न सक्छ।”

    विशिष्ट अतिथि रुरुक्षेत्र गाउँपालिका वडा न ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवालीले समाजको पहलमा सञ्चालन गरिएको शिविर सफल भएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो। “वृद्धवृद्धालाई यातायातको समस्या हुने भएकाले सेवा पुर्‍याउने यस्तो प्रयास गरिएकोले आगामी दिन्मा निरन्तरता प्रदान बताउनु भयो।उहाले

    शिविर सफल पार्न सहकार्य गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै भने, “यस्ता सेवामूलक कार्यक्रमले वडाबाहिर रहेका जनतालाई ठूलो राहत पुर्‍याएको छ। आगामी दिनमा बुटवल क्षेत्रका अन्य स्थानमा पनि यस्ता कार्यक्रम पुर्‍याउने योजना भएको बताउउ भयो यता कार्यक्रमकका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले यो अत्यन्त उपयुुक्त कार्यक्रम भएकोले वडा सरकारले निरन्तरता दिन आवस्यक भएको बताउनु भयो।

    कार्यक्रम सञ्चालन सम्पर्क समाजका कोषाध्यक्ष सरोज ज्ञवालीले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण तथा समन्वय भूमिका गुल्मी बम्घा रुपन्देही सम्पर्क समाज तिलोतमा ४ नयाँ मिल्ले गरेको हो।