सत्यवती गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

—

सत्यवती गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

असार १०
चुरामणि तिमिल्सिना रिडी

सत्यवती गाउँपालिका, गुल्मीको १७औं गाउँसभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ। गाउँपालिका सभाहलमा आयोजित सभामा गाउँपालिका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा बैठक बसेको हो। गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पाण्डेले समग्र गाउँपालिकाको समृद्धिको मार्गचित्र सार्वजनिक गर्नुभएको छ।

सभामा अध्यक्ष पाण्डेले कृषि, शिक्षा, स्वास्थ्य, यातायात र पर्यटन क्षेत्रमा विशेष जोड दिइने नीति सार्वजनिक गर्नुभएको छ। आउँदो वर्ष गाउँपालिकालाई ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने योजना रहेको जनाइएको छ। यस्तै, हरियालीसहितको सडक विकास कार्यक्रमअन्तर्गत सडकछेउ वृक्षारोपण गरिनेछ।

पालिकाले दूधजन्य उद्योग स्थापना, १५ सैयाको अस्पताललाई समयमा नै सञ्चालन, अधुरा योजनाहरू सम्पन्न गर्ने तथा एकीकृत बस्ती विस्तार गर्ने योजना अघि सारेको छ। वडा नं. ८ भार्से, वडा नं. ३ ठुलो लुम्पेक र वडा नं. ४ स्थित एकसिङ गाउँलाई ऐतिहासिक–साँस्कृतिक गाउँको रूपमा विकास गरिने भएको छ।

त्यसैगरी सत्यवती क्षेत्रका सम्पूर्ण धार्मिक, पौराणिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गरिने छ। ‘समृद्ध सत्यवती–मेरो एक दिनको लगानी’ अभियानमार्फत स्थापित कोषलाई सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारमा खर्च गरिने नीति सार्वजनिक गरिएको छ।

सडक किनार र घरघरमा बहुमूल्य जडीबुटी (अगुरवुड, श्रीखण्ड, हलुवाबेद, दातेओखर, टिमुर आदि) रोप्ने अभियान चलाइने छ। नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन, प्लास्टिक भाडा निषेध, कोशेली घर, चिस्यान तथा प्रशोधन केन्द्र सञ्चालन, बाख्राश्रोत केन्द्र स्थापनालगायत कार्यक्रम अघि सारिनेछ।

त्यसैगरी, सतुवा, बिखमारि, अगुरवुड, श्रीखण्ड, चिराइतोलगायत अन्य औषधीय बालीहरूको प्रवर्द्धन, बाँझो जमिनको तथ्याङ्क संकलन, टिमुर पकेट क्षेत्र घोषणा, सम्भावित क्षेत्रमा होमस्टे सञ्चालन, कालीगण्डकी नदीको साघुरे क्षेत्रमा ड्याम निर्माण गरी साघुरेदेखि ठूला बगरसम्म ताल निर्माण गर्ने र एक लाख शालिग्रामको शिवलिङ्ग निर्माण गरी स्नान क्षेत्र बनाउने नीति अघि सारिएको छ।

‘मेरो विद्यालय–मेरो दायित्व’ अभियान सबै विद्यालयमा लागू गरिनेछ। एसईई परीक्षामा ४.० जीपीए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ।

पुर्खौली पेशालाई आधुनिक उद्योगमा रूपान्तरण गरी आय आर्जनसँग जोडिनेछ। अध्यक्ष स्वयंले मेडिकल अधिकृतसहित जेष्ठ नागरिकसँग भेटघाट गरी स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। गर्भवती तथा सुत्केरी महिलासँग अन्तरक्रिया गरी ग्रामीण क्षेत्रमा मृत्यु दर न्यूनीकरणका लागि अल्ट्रासाउन्ड सेवा लगायत व्यवस्था गरिनेछ।

विपन्न नागरिक तथा परिवारलाई पहिचान गरी एकपटकका लागि निःशुल्क बीमा सुविधा दिने नीति पनि ल्याइएको छ। आयुर्वेद र वैकल्पिक उपचार प्रणालीको प्रवर्द्धन गरिने तथा “मेरो घरको फोहोर म आफैं व्यवस्थापन गर्छु” भन्ने नारासहित कुहिने–नकुहिने फोहोर छुट्याएर संकलन गरिने व्यवस्था मिलाइनेछ।

बालविवाह अन्त्यका लागि दौतरी शिक्षा र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ। वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको ज्ञान, सीपको सदुपयोग गरी स्वरोजगार तथा उद्यमशीलता विकासमा जोड दिइनेछ। भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गरिनेछ।

न्यायिक समितिमा आउने उजुरीहरूको प्रभावकारी निरूपण गरिने पनि नीति कार्यक्रममा समावेश गरिएको छ।

गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामुज्यूले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रू. ५७ करोड ६५ लाख ८५ हजारको बजेट प्रस्ताव पेश गर्नुभएको छ। कार्यक्रम को सहजीकरण प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले गर्नु भएको थियो।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *