स्याङ्जाको द्वारभञ्ज्याङमा१३ वर्षीय बालक मृत फेला
प्रेस दैनिक
सुशील सुवेदी
२ भाद्र १२:१०
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५, द्वारभञ्ज्याङमा १३ वर्षीय एक बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेका छन् । मृतक बालक निशान थापा स्थानीय श्री सरस्वती आधारभूत विद्यालय मिनाङ्कोटमा कक्षा ८ मा अध्ययनरत थिए ।
विद्यालयमा परीक्षा सकेर घर फर्किएका निशान घरमै बहिनीको साथमा थिए । सो समयमा घरमा उनकी आमा भने छिमेकीको मेलामा गएकी थिइन् । दिउँसोको समयमा वर्षा भइरहेका बेला निशान घरको माथिल्लो तलातर्फ गएको बुझिएको छ । त्यसपछि उनी एक्कासी हराएपछि परिवार र छिमेकीहरूले खोजी गरेका थिए ।
केही समयको खोजीपछि घरकै आटीमा रहेको बाकसभित्र निशानको शव फेला परेको थियो। घटनाबारे जानकारी प्राप्त भएपछि गएरति करिब ९ बजे प्रहरी टोली घटनास्थलमा पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको छ ।
वालिङ–५ का वडाध्यक्ष छवि आलेका अनुसार घटनास्थललाई शिलबन्दी गर्दै प्रहरीको निगरानीमा राखिएको छ । हाल वडा प्रहरी कार्यालय वालिङले घटनाको सूक्ष्म अनुसन्धान जारी राखेको जनाएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्र निशानको मृत्युको कारण स्पष्ट हुने बताइएको छ ।



